४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

नक्कली भ्याटबिल बनाउँदै नदीजन्य पदार्थ ओसारपसार, ५६ गाडी नियन्त्रणमा

नक्कली भ्याटबिल बनाएर नदीजन्य पदार्थ ओसारपसार गरेको आरोपमा कास्की प्रहरीले पोखरामा नियन्त्रणमा लिएको सवारी। तस्बिरः नागरिक

नक्कली भ्याटबिल बनाउँदै विभिन्न खोलानालाबाट नदीजन्य पदार्थ उत्खनन गरि चोरी निकासी गरेको आरोपमा कास्की प्रहरीले ५६ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। प्रहरीले पोखरा भित्रिने विभिन्न नाकाबाट सहर भित्रिँदै गरेका ती सवारीलाई नदीजन्य पदार्थ सहित नियन्त्रणमा लिएको हो। 

कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्यबहादुर रानाका अनुसार डाँडाकोनाक, बगर, रामबजार लगायतका ठाउँबाट ती सवारीलाई नदीजन्य सामाग्री सहित नियन्त्रणमा लिइएको हो। विभिन्न खोलानालाबाट नदीजन्य पदार्थ उत्खनन गरि ती सवारी पोखरा भित्रिँदै गर्दा नियन्त्रणमा लिएको उनले बताए।

रानाका अनुसार ती सवारीमा नदीजन्य पदार्थ ओसारपसार गर्ने क्रममा नक्कली भ्याट बिल समेत बनाइएको थियो। ‘विभिन्न स्थानबाट नदिजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिल समेत बनाई चोरी निकासी भइरहेको भन्ने स्थानीय जनगुनासो पछि प्रहरीले निगरानी बढाएको थियो,’ रानाले भने, ‘नदिजन्य पदार्थ ओसार–पसार गर्ने क्रममा कागजात पनि नक्कली बनाइएको रहेछ।’ भ्याट बिल नभएका, कागजपत्र नभएका, फर्जी बिल बनाएका विभिन्न ५६ वटा सवारी साधन नियन्त्रणमा लिएको रानाले बताए। ट्रक, टिप्पर, ट्याक्टर लगायतका साधनमा नदीजन्य पदार्थ रहेको पनि उनले बताए।  

पोखरा महानगरपालिका भित्र प्रवेश गरेकोले प्रहरीले ती साधन महानगरलाई बुझाएको पनि उनले बताए। ‘आवश्यक कारबाहीको लागी पोखरा महानगरपालिकामा पठाइएको छ,’ रानाले भने, ‘नगरपालिकाले नै कारबाहीको प्रक्रिया अघि बढाउँछ।’

पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले भ्याट बिल बिना नै जथाभाबी नदीजन्य पदार्थ निकासी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर महानगरमा बुझाएको बताए। उनका अनुसार एउटा भ्याट बिल बनाएर बारम्बार नदीजन्य बस्तु ओसारपसार गरिएको पनि पाइएको छ। त्यस्तै नक्कली भ्याट बिल बनाएर पनि नदीजन्य पदार्थ ओसारपसार गरेको उनले बताए। ‘नक्कली बिल पनि बनाइएको देखिएको छ। त्यसबाहेक एउटै बिलका आधारमा बारम्बार निकासी गरेको पनि देखिएको छ,’ उनले भने।

भ्याट बिल नक्कली हो वा सक्कली भन्ने छानबिन गर्नका लागि आन्तरिक राजश्व कार्यालयलाई अनुरोध गरेको पनि सूचना अधिकारी तिवारीले बताए। ‘सक्कली बिल पाएमा छाड्छौँ। नत्र कारबाही हुन्छ। सक्कली नै भएपनि एउटै बिलबाट बारम्बार ढुवानी गर्न पाइँदैन,’ उनले भने। तिवारीका अनुसार अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेर ओसारपसार गरेमा प्रति टिप्परले १५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ।

पोखरा महानगरपालिका आफैले नदीका केही घाट ठेक्का लगाएको भएपनि ती सवारीले आफ्नै तरिकाले ओसारपसार गरेको पनि उनले बताए। ‘विभिन्न व्यक्तिका गाडी हुन्। विभिन्न घाटमा पुगेर सामाग्री उत्खनन गरेर ओसारपसार गरेको पाइएको छ,’ उनले भने, ‘नदीजन्य पदार्थ ओसारपसार गरेको थाहा पाएपछि प्रहरीले पोखरा उपत्यकाभित्र कडाई गर्ने क्रममा नियन्त्रणमा लिएको हो।’ 

प्रकाशित: २६ मंसिर २०८० १०:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App