२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

गाईघाटमा आगलागीबाट साढे ४ करोड बराबरको क्षति

ग्यारेजमा आगलागीमा परी ध्वस्त भएका मोटरसाइकल। तस्विरः महेश्वर

आइतबार राति सदरमुकाम गाईघाटमा भएको आगलागीबाट साढे ४ करोड बराबर क्षति भएको छ। त्रियुगा नगरपालिका ११ गाईघाट टेम्पो चोकस्थित महालक्ष्मी मोटरसाइकल रिपेरिङ सेन्टरमा सवा ७ः०० बजे भएको आगलागीमा परी ग्यारेजसहित ९ वटा पसल ध्वस्त हुँदा सो बराबरको क्षति भएको हो।

विद्युत् सर्ट भएर ग्यारेजबाट उब्जेको आगो नजिकका पसलहरुमा पनि लाग्दा २ करोड ४५ लाख ८० हजार बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार भाडामा सञ्चालित त्रियुगा नमुना मावि गाईघाटको पुरानो भवनका कोठाका ग्यारेज र पसलमा आगोले यस्तो क्षति गरेको हो।

गाईघाट–जलजले–कदमाहा सडकसँग जोडिएको विद्यालय भवनका कोठामा सञ्चालित मोटरसाइकल ग्यारेजको आगो संक्रमण हुँदै सँगै जोडिएका पसलहरूमा सल्कन पुग्दा सो क्षति हुन पुगेको प्रहरी भनाइ छ। ग्यारेजसँगै जोडिएका साइकल पसल, माछा पसल र किराना पसलहरू ध्वस्त हुन पुगेका छन्।

आगलागीबाट ग्यारेजमा मर्मत गर्न राखिएका दर्जनौँ मोटरसाइकल, कुलिङ मेसिन, लेथ, साइकल, माछा, डिफ्रीजलगायत यन्त्र उपकरणहरु सबै ध्वस्त हुन पुगेको छ। राजु ठाकुरले ग्यारेज बन्द गरेर घर हिडेपछि आगलागी भएर सो क्षति हुन पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताएका छन्। 

आगोले थप क्षति हुन नदिन सोही लाइनमा रहेको शाही होटेलसँग जोडिएका ३÷४ वटा पसलहरू भने एक्स्काभेटर लगाएर त्यत्तिखेरै भत्काइएको थियो। आगो त्रियुगा नगरपालिका र चौधण्डीगढी नगरपालिकाबाट ल्याइएका दमकलको सहारामा नेपाल प्रहरी, सशस्त्र र स्थानीय बासी परिचालन गरी डेढ घण्टा लगाएर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।  

प्रकाशित: २५ मंसिर २०८० १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App