७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

माइपोखरी महायज्ञमा ३६ लाख आम्दानी, २८ लाख खर्च

माइपोखरीमा त्रिधार्मिक महायज्ञ

धार्मिक सहिष्णुता र सद्भावका लागि माइपोखरीमा सञ्चालित त्रिधार्मिक महायज्ञमा ३६ लाख रूपैयाँ संकलन भएको छ। विभिन्न दाताले महायज्ञका लागि सहयोग गरेका हुन्।

संकलितमध्ये २८ लाख रूपैयाँ महायज्ञमा खर्च भएको विवरण सार्वजनिक गरिएको छ। आयोजक समितिले महायज्ञमा ३६ लाख ३३ हजार रूपैयाँ आम्दानी र २८ लाख ७७ हजार रूपैयाँ खर्च भएको जनाएको हो। आयोजकका अनुसार महायज्ञका लागि खोलिएको बैंक खातामा आठ लाख ३७ हजार रूपैयाँ संकलन भएको छ।

आरती र भेटीबाट ६ लाख ६५ हजार, इलाम नगरपालिकाबाट एक लाख ११ हजार, रोङ गाउँपालिकाबाट ४० हजार (प्राप्त हुन बाँकी) तथा विभिन्न दाताबाट ७८ हजार रूपैयाँ प्राप्त हुन बाँकी रहेको आयोजक समिति कोषाध्यक्ष निर्मला निरौलाले बताइन्।

महायज्ञको खर्चतर्फ खाद्य तथा पूजा सामग्रीमा ६ लाख २९ हजार, गुरु भेटी तथा दानदक्षिणामा आठ लाख ३२ हजार, व्यवस्थापकीय खर्च सात लाख २८ हजार, प्रचारप्रसारमा चार लाख १६ हजार तथा यातायातमा एक लाख ७७ हजार रूपैयाँ उल्लेख छ।

मंसिर १ देखि ८ सम्म माइपोखरीमा त्रिधार्मिक महायज्ञ आयोजना गरिएको थियो। रामसार क्षेत्र माइपोखरीमा हिन्दु, बौद्ध र किरात धर्मावालम्बीले एकसाथ प्रवचन, धार्मिक अनुष्ठान तथा पूजापाठ गरेका थिए।

धार्मिक तथा जैविक विविधताको संगमस्थल माइपोखरीलाई धार्मिक सहिष्णुताको उत्कृष्ट नमुना बनाउने प्रयासमा महायज्ञ आयोजना गरिएको आयोजक समिति संयोजक प्रेम नाछिरिङ राईले बताए।

महायज्ञमा कलशयात्रासँगै स्थानीय सबै धर्म-संस्कृति, समुदाय, जातजातिका झाँकी समेत प्रदर्शन गरिएको थियो। ‘विश्वशान्तिको कामनासहित माइपोखरीमा महोत्सव आयोजना गरिएको हो,’ आयोजक समिति उपाध्यक्ष ग्रीष्म सुब्बाले भने, ‘धार्मिक पर्यटन प्रवर्धनका लागि माइपोखरी प्रचारप्रसारको महाअभियान प्रयास गरिएको हो।’

माइपोखरीलाई पर्यटकीय-धार्मिक केन्द्रका रूपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रूपमा प्रवर्द्धन तथा बहुआयामिक अनुसन्धान स्थलका रूपमा विकास गर्ने आयोजकको लक्ष्य छ। माइपोखरी क्षेत्र विकास कोषसमेत स्थापना गर्ने महोत्सवको मुख्य लक्ष्य रहेको उनको भनाइ छ।

माइपोखरीमा २०७० असार ८ देखि १० सम्म यस्तै बहुधार्मिक उत्सव सञ्चालन गरिएको थियो। माइपोखरीमा कुनै ‘अनिष्ट’ भए पानी सुक्ने जनविश्वासमा स्थानीयले विभिन्न धार्मिक कार्यक्रम आयोजना गर्ने गरेका छन्। 

प्रकाशित: २४ मंसिर २०८० ०१:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App