३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

मेलम्चीको पानी राजधानी ल्याउन अझै भएन सुरसार

सरकारले वर्षात्को कारणले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स क्षेत्रको मर्मत-सम्भारमा पर्याप्त तदारुकता देखाएको छैन।

सरकारले मेलम्चीको हेडवक्र्स क्षेत्रमा थुप्रिएको गिटिबालुवासहितको ग्रेगान समयमै सफा गर्न नसक्दा उपत्यकावासीले हिउँदेयाममा पनि मेलम्चीको पानी उपभोग गर्नबाट वञ्चित भइरहेका छन्।

उपत्यकावासीले गत असार महिनादेखि मेलम्चीको पानी उपयोग गर्न पाएका छैन। मेलम्ची खानेपानी विकास समितिले गत असारदेखि मेलम्ची नदीमा बाढी पहिरो आउन सक्ने भन्दै मेलम्चीको पानी सुरुङमा खसाल्न रोक लगाएर पूर्व सावधानी अपनाउँदै आइरहेको छ।

मेलम्चीको हेडवक्र्स क्षेत्रमा यो वर्ष १० देखि १२ मिटर अग्लो ग्रेगान थुप्रिएर मेलम्ची आयोजनाको गेट नम्बर १ र ९ अहिले पूर्ण रुपमा लेदोसहितको बालुवाले पुरिएको छ। 

सरकारले गत वर्ष प्रतिनिधिसभा/प्रदेशसभाको निर्वाचनको कारणले उच्च प्राथमिकतामा राखेर मेलम्चीको हेडवक्र्स परिसरमा अस्थायी मर्मत सम्भार गरेर मंसिर २३ गतेदेखि नै उपत्यकामा खानेपानी वितरण गरेको थियो। तर, यो वर्ष वर्षात्पछि मेलम्चीको बाँध क्षेत्रमा अस्थायी मर्मत सम्भार गरेर उपत्यकामा फेरि पानी ल्याउने कार्यमा भने धेरै नै ढिलासुस्ती भइरहेको छ।

मेलम्ची खानेपानी विकास समितिले भने गत वर्षको भन्दा हेडवक्र्स क्षेत्रमा धेरै क्षति हुनुको साथै धेरै ग्रेगान थुप्रिएकाले पनि तत्कालै मेलम्चीको पानी उपत्यका ल्याउन समस्या भइरहेको जनाएको छ।

गत शुक्रबार खानेपानी मन्त्री महेन्द्र राय यादव, मन्त्रालयका सचिव रामआधार साह, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ज्याकी अहमद अन्सारी, आयोजनाका इन्जिनियरहरूसहित मुहानस्थलको अनुगमन गर्न गएका थिए।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले मेलम्चीमा वर्षायाममा आएको बाढी पहिरोले मेलम्चीको गेट नम्बर १ र ९ मा अस्वाभाविक रुपमा धेरै ग्रेगान थुप्रिएको पनि सरसफाई गर्न समस्या भइरहेको बताए।

‘मेलम्चीको अस्थायीबाँधसँगै जोडिएको सानो सुरुङ पनि ग्रेगानसहितको बालुवागिटीले पुरिएको छ,’ उनले भने ‘गेट नम्बर एकको मुखमा अत्यधिक मात्रामा बालुवाले खाँदिएको देखिएको छ। त्यो गेटमा रहेको बालुवा नहटाउँदा सम्म कति ग्रेगान थुप्रिएको छ भनेर भन्न सकिने अवस्था छैन।’

समितिका सिनियर डिभिजनल इन्जिनियर पन्तले मेलम्चीको हेडवक्र्स क्षेत्रमा भएको क्षतिको मर्मत सम्भार गरेर सञ्चालन गर्नका लागि एक महिनाभन्दा धेरै समय लाग्ने बताए। समितिका अनुसार मेलम्चीको हेडवक्र्स क्षेत्रमा थुप्रिएको ग्रेगान र सुरुङभित्रको लेदो सफा गर्नका लागि कम्तीमा पनि १२ देखि १५ करोड रुपैयाँ खर्च लाग्ने जनाएको छ।

प्रकाशित: २० मंसिर २०८० ०९:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App