२६ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पहिले ढिँडो नाम राख्दा खिसी गर्थे अहिले ब्रान्ड बन्यो

पच्चिस वर्ष अघिसम्म नेपाली बजारमा ढिँडोको त्यति महत्त्व थिएन्। त्यसमा पनि ढिँडोको व्यापारको त कल्पना समेत हुँदैनथ्यो। तर अहिले बजारमा ढिँडोको माग बढ्दै गएको छ।

यसैबिच तनहुँका वृखलाल गुरुङले त नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट–९ थुम्सीमा ‘पाते ढिँडो’ नामको होटेल नै खोलेका छन्। पहिला गुरुङलाई मानिसहरू खिसिट्यूरी गर्न पछि परेनन्।

कतिले त ढिँडो शब्द हटाएर ‘पाते’ मात्र राख्न सुझाव दिए। उनले मानेनन्। आजभोलि भने यही पाते ढिँडो शब्द नै ब्राण्ड भइसकेको छ। उनको होटलमा ढिँडो खाना नै दैनिक सयभन्दा बढी ग्राहक आउने गर्दछन्।  

‘एक लाख रुपैयाँ लगानी गरेर व्यवसाय सुरु गरेका हौँ। त्यतिखेर मानिसहरू गुन्द्रीमा बसेर खाना खान्थे। एउटा कुखुरा काटे पनि बिक्री हुँदैनथ्यो। यहाँका ठुलै मानिसहरू आएर होटेलको नामको ढिँडो शब्द हटाउन सुझाव समेत दिन्थे’, विगत सम्झँदै गुरुङले भने ‘आफ्नो गुरुङ समुदायको पहिचानसँग जोडिएको शब्द हटाइन।’

‘सुरुवाती दिनमा व्यापार घाटामा गए पनि उनले छाडेनन्। उनलाई आफ्नो व्यवसाय चिनाउन करिब सात वर्ष लाग्यो। पहिले त व्यापार कहाँ हुनु। कार चढ्ने मानिसहरू कहिले काही आएर खान्थे’, उनले भने ‘व्यवसायलाई निरन्तरता दिएपछि व्यवसाय बढ्दै गयो।’ श्रीमान् श्रीमतीले मात्र होटेल सञ्चालन गरेका थिए।

अहिले थुम्सी नै पाते ढिँडोको नामले प्रख्यात छ। राष्ट्रिय स्तरका नेतादेखि कलाकारसम्म यस होटलमा आउने गर्दछन्। ‘राजेश हमाल, शशांक कोइराला, गगन थापा पटक पटक आउनुहुन्छ’, गुरुङले उत्साह बढाउँदै भने ‘आजभोलि राम्रै घराने व्यक्तिहरू नै होटलमा बढी आउनुहुन्छ।’  ढिँडो शब्द हटाउन सुझाव दिनेहरू नै यहाँ आइराख्नुहुन्छ।’ विगतमा मोटरसाइकल र साइकल चढेर ढिँडो खान आउने ग्राहक बढी हुन्थे। आजभोलि अधिकांश ग्राहक साना गाडी र मोटरसाइकल लिएर आउने गरेको उनले बताए। अहिले ढिँडो नामका होटेलहरू बजारमा प्रशस्त खुलेका छन्।

पूर्वपश्चिम राजमार्गको थुस्मि स्थित नारायणी किनार नजिक उनको होटेल छ। सुकुलबाट व्यवसाय सुरु भएको होटेलमा एकै पटक ७० जना बसेर खान मिल्ने ठाउँ छ। मुख्य राजमार्ग भएर यात्रा गर्ने यात्रुदेखि विशिष्ट व्यक्तिसमेत यो होटेलमा ढिँडो खाना जाने गर्दछन्। अहिले ढिँडोसँग दैनिक २० किलोको हाराहारीमा कुखुराको मासु बिक्री हुने उनले बताए। उनको होटेलमा मकै, फापर र कोदोको ढिँडो पाइन्छ। विशेष गरेर फापरको ढिँडो बढी बनाउने गरेको उनले बताए। ‘कोदोको सिजन अनुसार मात्र बनाइन्छ। बाह्र महिना हुँदैन। मकै र फापरको ढिँडो बाह्र महिना नै हुन्छ’–उनले भने।

चिकेन सहितको ढिँडो पाँच सय ८० रुपैयाँ बिक्री हुँदै आएको छ। उनका विगतका दिन संघर्ष पूर्ण छन्। सात वर्ष ब्रुनाईमा बिताए। त्यसपछि १९ वर्षको ड्राइभर पेसा छोडेर उनी यस व्यवसायमा लागेका हुन्। निरन्तरको सङ्घर्षपछि उनले अहिले साढे दुई करोडको लगानीमा भरतपुरमा नजिक यसको शाखा खोलेका छन्। भरतपुर–१० स्थित शिखरचोकमा होटेललाई विस्तार गर्दै रिसोर्टको रुपमा सञ्चालनमा ल्याएका हुन्।

रिसोर्टमा ढिँडो सहित बुङ्गुर, चिकेन, मटन र बफको सेकुवा समेत पाइनेछ। यहाँ विभिन्न सङ्घसंस्था, व्यवसायिक प्रतिष्ठानका लागि आवश्यक सभा, सेमिनार, गोष्ठी गर्न, बर्थडे, एनिभर्सरीको उत्सव मनाउनका लागि एक सय जनासम्मको क्षमता भएको सुविधा सम्पन्न वातावरणनुकुलित सेमिनार र १५ जना सम्मका लागि ६ वटा प्राइभेट डाइनिङ हलको समेत सेवा रहेको उनले जानकारी दिए । यहाँबाट अहिले २२ जनाले रोजगारी पाएका छन्। नयाँ वर्षदेखि ३५ जनाले रोजगारी पाउने उनले बताए।

पाते ढिँडो होटेल ब्रान्डका रुपमा परिचित छ। अन्य ठाउँमा पनि पाते ढिँडो होटेल एण्ड रेष्टुरेण्टको शाखा भन्दै विभिन्न स्थानमा खोलेकोमा गुरुङले दुखेसो पोखे। सुरुमा पाते ढिँडो नाम राख्दा मान्छेले यो नाम नराख्न सुझाव दिएपछि अहिले ब्राण्ड भइरहेको उनले बताए। ब्राण्ड स्थापना गर्न सात बर्ष लागेको उनले बताए। यस रिसोर्टको शाखा देशका मुख्य सहरहरूमा शाखा विस्तार गरिने लक्ष्य कम्पनीले राखेको छ।

प्रकाशित: १७ मंसिर २०८० १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App