२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

तालबराही मन्दिर पूर्ननिर्माणः स्वरुप बदल्न पुरातत्त्वको रोक

पोखराको फेवातालको बीचभागमा रहेको तालबराही मन्दिर। यो मन्दिर पूर्ननिर्माण गर्ने तयारी छ। फाइल तस्बिरः नागरिक

फेवातालको बीचभागमा रहेको तालबराही मन्दिरको स्वरुप परिवर्तन गर्न पूरातत्व विभागले रोक लगाएको छ। तालबराही मन्दिर गुठीले मन्दिरको स्वरुप परिवर्तन गर्दै पूर्ननिर्माण थालेको थियो। तर, विभागले पूरानै स्वरुपमा मात्र मन्दिर निर्माण गर्न पाइने भन्दै स्वरुप बदल्न रोक लगाएको हो। विभागले स्वरुप परिवर्तन गर्न रोक लगाएपछि पूर्ननिर्माणको काम पनि रोकिएको छ।

गुठीले गत कात्तिक दोश्रो सातादेखि मन्दिर पूर्ननिर्माण सुरु गर्दै शिलान्यास गराएको थियो। भूकम्पका कारण तीनइन्च दक्षिण ढल्किँदा जोखिम बढेको मन्दिर पूर्ननिर्माण थालिएको थियो। मन्दिर शिलान्यास गर्नुअघि गुठीले विभागमा बुझाएको भन्दा फरक स्वरुपमा निर्माण थालिएको भन्दै रोक लगाएको विभागले बताएको छ।

विभागकी महानिर्देशक सौभाग्य प्रधानांगका अनुसार गुठीले मन्दिर पूर्ननिर्माण थाल्नुअघि विभागमा पूरानै स्वरुप पेश गरेको थियो। तर, शिलान्यास गर्ने बेलामा भने पहिलेको भन्दा फरक स्वरुपमा मन्दिर पूर्ननिर्माण गर्ने जानकारी गराएको थियो।

‘गुठीले पूर्ननिर्माणको सहमति लिने बेलामा पुरानै स्वरुप पेश गर्यो र विभागले त्यही अनुसार सहमति दियो। तर, शिलान्यासमा जाँदा भने विभागका प्राविधिकले फरक स्वरुपमा मन्दिर पूर्ननिर्माण हुन थालेको थाहा पाए,’ उनले भनिन, ‘स्वीकृत भएको भन्दा फरक स्वरुपमा मन्दिर पूर्ननिर्माण हुने थाहा पाएपछि प्राविधिकले उत्ति नै बेला विरोध पनि गर्नु भएको रहेछ। प्राविधिकको सल्लाह बमोजिम नै विभागले रोक नै लगाएको हो।’

गुठीले सुरुमा पूरानै स्वरुपमा मन्दिर पूर्ननिर्माण गर्ने भनेपछि विभाग सहमत भएपनि पछि स्वरुप फेरेकोले काम रोक्न भनेको उनले बताईन। ‘शिलान्यास भएपछि काम अघि बढेको छैन। केहीदिन अघि मात्र प्राविधिकहरु दोहो¥याएर गएर स्वरुप हेरेर आउनु भएको छ। पूरानै स्वरुपमा बनाउने भन्ने सहमति भएको छ,’ उनले भनिन, ‘विभिन्न विशेषता र ऐतिहासिकता मेटिने भएकोले मन्दिरको स्वरुप फेर्न मिल्दैन।’ विशेष परिस्थिति बिना मन्दिरको स्वरुप फेर्न नपाइने उनले बताईन।  

महानिर्देशक प्रधानांगका अनुसार मन्दिरको पूरानो स्वरुपमा पूर्वपट्टि एउटा मात्र ढोका रहेकोमा स्वरुप फेरेर गुठीले चारैतिर ढोका राख्ने तयारी थालेको थियो। त्यस्तै पूरानो भन्दा ठूलो आकारमा मन्दिर बनाउने तयारी पनि गुठीको थियो। ‘ऐतिहासिक सम्पदा पूर्ननिर्माण गर्दा जथाभावि परिवर्तन गर्न मिल्दैन,’ उनले भनिन।  

गुठीका अध्यक्ष हिक्मतबहादुर कुँवर भने मन्दिरको केही स्वरुप फेर्न चाहेपनि विभागले रोकेको बताए। उनका अनुसार मन्दिरको पूर्वपट्टि एउटा मात्र ढोका रहेको र भक्तजनको भीडभाड हुँदा पूजा गर्न समस्या पर्ने भएकोले दक्षिणतर्फ अर्काे ढोका राख्न खोजेको भएपनि विभागले स्वरुप फेर्न नदिएपछि पूरानै स्वरुपमा काम अघि बढ्नेछ।

‘भक्तजनको भीडभाडको बेला एउटा पूर्वी ढोकाबाट पसेर दक्षिण ढोकाबाट बाहिर निस्कन मिल्ने बनाउन खोजेका हौ, तर, विभागले त्यसो गर्न नपाइने भनेपछि रोकिएको हो। तर, अब काम सुरु हुन्छ,’ कुँवरले भने, ‘धेरै नै स्वरुप फेर्ने भनेका होईन। मात्र एउटा ढोका थप्ने भनेका हौं।’  

विभागका प्राविधिकहरु आएर निरिक्षण गरिसकेकोले अब काम अघि बढाउने तयारी भएको उनले बताए। ‘कात्तिक दोश्रो साता शिलान्यास भएपनि पानीको सतह माथि नै भएकोले कामले गति नलिएको हो,’ उनले भने, ‘तर, अब काम अघि बढाउने तयारी छ।’  

झन्डै तीनवर्ष अघि नै मन्दिर दक्षिण ढल्केको देखिएको थियो। पछि त्यसलाई गुठि र पूरातत्वका प्राविधिक झिकाएर अध्ययन गराउँदा तीनइन्च ढल्केको पुष्टि भएको थियो। अध्यक्ष कुँवरका अनुसार २०७२ सालको भूकम्पले मन्दिरका अधिकांश भाग चर्किएको थियो। भूकम्पका कारण मन्दिरको दक्षिणतर्फ रहेको आँपको रुख पनि ढल्किएको थियो। रुख ढल्किदा त्यसको जरा उखेलिएका कारण पछि त्यो रुख सुकेको थियो। रुख सुकेपछि त्यसलाई निकालिएको अध्यक्ष कुँवरले बताए।  

मन्दिर ढल्किएपनि दैनिक पूजाआजा भने चलिरहेको थियो। मन्दिरले जोखिम थपेको भन्दै पूर्ननिर्माण गर्नका लागि गत चैतमा पुरै भत्काइएको थियो। मन्दिर निर्माणको लागि एक करोड ४४ लाख रुपैयाँको लागत अनुमान गरिएको समितिका अध्यक्ष कुँवरले बताए। मन्दिर निर्माण पुरा गर्न दुईवर्षको समय लाग्ने उनको भनाइ थियो। चाररोपनी क्षेत्रफलमा अण्डरग्राउण्ड सहित मुख्य मन्दिर, गणेश मन्दिर, हवन कुण्ड बनाइने गुठीको योजना थियो। अण्डरग्राउण्डमा फूल पसल राखिने पनि योजना थियो।  

भूँइ तलासहित तीनतले मन्दिरको दोश्रो तलामा मात्रै २० वटा टुँडाल थिए। ती मध्ये केहि काम लाग्ने छन् भने केही जिर्ण बनिसकेका छन्। तालवराही मन्दिर तत्कालीन राजा महेन्द्रले बिस.२०१७ सालमा निर्माण गराएका थिए। तत्कालीन समयमा खरको झुपडी बनाएर शुरु गरिएको सो मन्दिर पछि एकलाख २० हजार खर्च गरेर पूर्ननिर्माण गरी कलात्मक काठ, टुँडाल र माटोको प्रयोग गरेर बनाइएको थियो।

सिमेन्टको जस्तै काम गर्ने माटोको प्रयोग गरिएकाले मन्दिर बलियो रहेकाले अहिलेसम्म धानिएको थियो। पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको ठाउँमा पूजाआजा गरिँदै आइएको अध्यक्ष कुँवरले बताए। पूर्णिमाको दिनमा मन्दिर दर्शन गर्ने दशनार्थीको भीड लाग्ने गरेको छ।

प्रकाशित: १७ मंसिर २०८० ०९:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App