१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

घटेन घरेलु हिंसा, अभियान नारामै

‘घरैदेखि सुरु गरौं, महिलाविरुद्धको हिंसा अन्त्य गरौं’ भन्ने नारासहित महिलामाथि हुने हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ।

‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्दै हरेक दिन कार्यक्रम सञ्चालन भइरहेका छन्। महिलामाथि हुने हिंसाविरुद्धको अभियान अहिले मात्र होइन, वर्षौंदेखि जारी छ। तर जुम्लामा महिलामाथि हुने हिंसा घट्नुको साटो बढेको देखिन्छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार महिलामाथि हुने हिंसा बर्सेनि बढ्दै गएका छन्। चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म घरेलुु हिंसा ३८ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दका अनुसार ३८ उजुरीमध्ये २३ वटा फर्स्याेट (मिलापत्र) भइसकेका छन्। ६ जना उजुरीकर्ता अदालत पुगेका छन्। बाँकी उजुरी छानबिनको प्रक्रियामा छन्।

त्यस्तै सामाजिक हिंसातर्फ ३९ वटा उजुरी परेकोमा २५ वटा फर्स्याेट (मिलापत्र) भएका छन्। तीन जना उजुरीकर्ता अदालत गएका छन् भने ११ वटा बाँकी छन्।

आर्थिक वर्ष २०७७/७८ मा महिलामाथि भएका सामाजिक हिंसातर्फ ४४ र घरेलु हिंसातर्फ ३५, आर्थिक वर्ष २०७८/७९ मा सामाजिक हिंसातर्फ ५४ र घरेलु हिंसातर्फ ६१ तथा २०७९/८० मा सामाजिक हिंसातर्फ २० र घरेलु हिंसातर्फ ३१ वटा उजुरी दर्ता भएको तथ्यांक छ।

चार आर्थिक वर्षको तथ्यांक केलाउँदा महिलामाथि हुने घरेलु हिंसाका घटना बढी छन्। प्रहरीको यो तथ्यांकले जुम्लामा महिला हिंसाका घटना बढ्दै गएको देखाउँछ। कडा कानुन र जनचेतना अभावले महिलामाथि हुने हिंसाका घटना बढ्दै गएका हुन्।

महिला हिंसाविरुद्धको अभियानका क्रममा हरेक स्थानीय तहमा सभा, गोष्ठी र जनचेतनामूलक कार्यक्रम भइरहेका छन्। यस्ता कार्यक्रममा उपस्थिति जनाउन महिला हिंसाविरुद्ध काम गरिरहेका एनजिओका प्रतिनिधिलाई भ्याइनभ्याइ छ। तर पनि महिलामाथि हुने हिंसाका घटनामा कमी आएको छैन। यसले १६ दिने अभियानलगायतका कार्यक्रम औपचारिकतामा मात्र सीमित भएको देखाउँछ। अब यी र यस्ता कार्यक्रममा गम्भीर समीक्षा आवश्यक छ।

संयुक्त राष्ट्रसंघीय महासभाले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरेको छ।

यही निर्णयबमोजिम हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसाविरूद्ध १६ दिने अभियान सञ्चालन हुँदै आएको छ। यस्ता अभियान सदरमुकाममै सीमित हुने भएकाले ग्रामीण महिला हिंसा खेप्न बाध्य हुँदै आएको चन्दननाथ नगरपालिका–४ की पार्वती सुनार बताउँछिन्।

‘सदरमुकामकै महिला पूर्ण रूपमा सचेत भएका छैनन्। स्थानीय तहको केन्द्रमा बस्ने सबैले महिला अधिकारका बारेमा जानकारी पाएका छैनन्, यस्तो अवस्थामा कसरी हिंसारहित समाजको कल्पना गर्न सकिन्छ,’ उनले भनिन्।

पछिल्लो समय विभिन्न सञ्चारमाध्यमले महिला अधिकार र हिंसाविरुद्धका विषयमा कुरा उठाउने गरे पनि व्यावहारिक पाटो फरक छ। महिला हिंसाविरुद्धका अभियानलाई अब व्यवहारमा उतार्नेगरी ग्रामीण क्षेत्रमा पुर्‍याउनुपर्ने उनको भनाइ छ।

स्थानिय तहका जनप्रतिनिधिहरू भने आफूहरूले यस्ता अभियानमा सबैलाई सहभागी गराइरहेको दाबी गर्छन्क। चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्का भन्छिन्, ‘हामीले आयोजना गर्ने कार्यक्रममा सबैलाई समेट्ने गरेका छौं। यसपटक पनि नगरपालिकाका १ देखि १० वडामा कार्यक्रम गर्ने तयारी गरेका छौं।’

तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावल आफ्नो गाउँपालिकाका सबै महिला अधिकारबारे जानकार रहेको दाबी गरिन्।

प्रकाशित: १६ मंसिर २०८० ०१:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App