३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

कोप-२८:जीवन जोगाउने चुनौती

जलवायु परिवर्तनका कारण प्राणी जीवनमै संकट सिर्जना भइरहेका बेला यसका असर न्यूनीकरण गर्नेसम्बन्धी कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाउने लक्ष्यसहित दुबईमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन बिहीबार सुरु भएको छ।

सन् २०२३ हालसम्मका रेकर्डमा सबैभन्दा तातो वर्ष भएको र विश्वको सरदर तापमान बढ्ने क्रम निरन्तर जारी रहेको पृष्ठभूमिमा तापमान नियन्त्रणसम्बन्धी लक्ष्य र कार्यक्रमलाई फराकिलो बनाएर प्रभावकारी रूपमा कार्यान्वयन गर्न विश्वका नेता तथा सरकारलाई दबाब परेको छ। 

तापमान बढाउन जिम्मेवार हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण गर्न, खनिज इन्धनको प्रयोगलाई तीव्र हिसाबले विस्थापन गर्न, विकासोन्मुख राष्ट्रलाई जलवायु वित्त सुनिश्चित गर्न, जलवायुजन्य हानि–नोक्सानी सम्बोधन गर्न बनाइएको वित्त कोष कार्यान्वयन गर्ने विषयमा सम्मेलनमा छलफलसहित महत्त्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

सम्मेलन उद्घाटन समारोहमा कोप–२८ का नवनियुक्त अध्यक्ष सुल्तान अल जाबेरले विद्यमान जलवायु संकट जीवन रक्षाको विषयसँग सम्बन्धित रहेको बताए। 

उनले जलवायु वित्तको सुनिश्चितता हुनुपर्ने पनि बताए। मरुभूमिबाट पछिल्ला ५२ वर्षमा संयुक्त अरब इमिरेट्स उठेको चर्चा गर्दै  उनले महत्त्वाकांक्षा र सहकार्यले हरेक कार्य सम्भव हुने बताए। जलवायु संकटसँग जोडिएका सरोकारवाला सबैलाई एक ठाउँमा उभ्याउन तथा विश्वास र बहुपक्षीयताको पुनस्र्थापना गर्न अपरिहार्य भैसकेको उनको भनाइ थियो।  

गत महिना अबुधाबीमा संक्रमणकालीन समितिले प्रस्ताव गरेको जलवायु परिवर्तनजन्य हानि–नोक्सानी कोषलाई सम्मेलनले ‘डेलिभर’ गर्नुपर्ने जाबेरले बताए। जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पारेको असरका विषयमा सम्मेलनमा पहिलोपटक मन्त्रिस्तरीय बैठक हुने उनले बताए। अध्यक्षता हस्तान्तरण गर्नुअघि आफ्नो भनाइ राख्दै कोप–२७ का अध्यक्ष समेह सुक्रीले सर्मएलसेखमा स्थापना भएको हानि–नोक्सानी कोषलाई कार्यान्वयनमा ल्याउन कोप–२८ सफल हुने विश्वास व्यक्त गरे। 

युएन क्लाइमेट चेन्जका कार्यकारी निर्देशक सिमोन स्टेलले गम्भीर संकटसँग जुध्न ‘केटाकेटी’ प्रयास भइरहेको बताउँदै यसमा सबै पक्ष गम्भीर भएर लाग्नुुपर्ने बताए। ‘कोप–२८ मा सहभागीले घाँटीमा लगाएको ब्याचले सम्मेलन स्थलमा र आ–आफ्नो स्थानमा हरेकलाई जिम्मेवार रहन सन्देश दिएको छ,’ उनले भने।  

शिखर सम्मेलनलाई शुक्रबार र शनिबार विश्वका शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी छ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहित १६० देशका राष्ट्र वा सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ। सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बेलायतका प्रधानमन्त्री ऋषि सुनकले पनि सहभागी भएका छन्। उच्च कार्बन उत्सर्जन गर्ने अमेरिका र चीनका राष्ट्रपति भने सम्मेलनमा सहभागी भएका छैनन्।

प्रकाशित: १५ मंसिर २०८० ००:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App