कसैको भाग्य पनि अनुहारमा चम्किएको हुदैन्। मेहनतीको भाग्य भने आफ्नै हातले लेखिएको हुन्छ। र, शारीरिक कमजोरी हुँदाहुँदै पनि आफ्नो भाग्य आफैँ चम्काउनेहरू हाम्रै वरिपरि धेरै छन्।
यस्तै एक कर्मयोगी हुन् ३२ वर्षीय रुपा अर्याल। ललितपुरको जावलाखेलमा व्यवसाय गर्दै आएकी उनी कुनै बेला कामको खोजीमा थिइन्। आज उनीहरू काम मात्र होइन अरुलाई पनि व्यवसायको बाटो देखाउने अवस्थामा पुगेकी छन्।
‘भविष्यका लागि देखेको सपना साकार पार्न आजैबाट मेहनत गर्नुपर्छ। भोलि वादमा कहिल्यै अल्झिनु हुँदैन। आफ्नो उद्देश्य समुन्द्रको गहिराइ भन्दा गहिरो हुनुपर्छ,’ रुपा भन्छिन्, ‘अरूबाट काम लिने होइन दिने सोच सधैँ राख्नु पर्छ।’
पाल्पाबाट कर्मको खोजीमा राजधानी पसेकी उनी यति बेला ‘आमाछोरी अचार’ व्यवसाय मार्फत सपना खोज्दै छन्। विगतमा शारीरिक अशक्तताले धेरै हन्डर ठक्कर उनले खाएकी थिइन्। त्यस्तै दुःख अरूले पाउनु नपरोस् भन्ने उनको चाहना थियो।
‘धेरै ठाउँमा रोजगारीका लागि हात फैलाउँदै गएँ। शारीरिक अवस्था देखेर रोजगारदाताले मलाई अस्वीकार गर्थे। कामका लागि अनलाइनबाटै धेरै पटक फारम भर्ने गर्थे। कामका लागि छानिन्थेँ पनि। दुर्भाग्य, काम गर्न जाँदा अर्कै व्यक्तिलाई राखिसकेके भन्ने गर्थे,’ रुपाले आफ्नो विगत पीडा सुनाइन्।
जन्मँदै उनले शारीरिक अपाङ्गता व्यहोर्नु परेको होइन। दुई वर्षको उमेरमा सामान्य बिरामी अवस्थामा आमा कुमारी अर्यालले उनलाई अस्पताल लगेकी थिइन्। अस्पतालको लापरबाहीले जीवनमा अपाङ्गता भोग्नु परेको गुनासो उनले गरिन्।
उनको कम्मर देखि माथिल्लो भाग सामान्य मानिसझैँ चल्दैन। कम्मर तलको भाग असामान्य ढंगले सुक्दै गएको छ। विषम शारीरिक अवस्थाले पनि उनलाई मेहनत गर्न रोकेको छैन।
समाज र परिवारको तिरस्कार गर्दा उनी हरेक काम आफैँ गर्न तत्पर रहेकी हुन्। ‘मैले कसैको साथ पाइन्। कस्मेटिक व्यवसाय गर्ने ठुलो रहर थियो,’ उनले भनिन्, ‘लगानी गर्ने व्यक्ति कोही भेटिनँ। लगानी ग¥यो भने डुबिन्छ भन्ने सोचले सबै पन्छिए। मैले सानोतिनो काम गरिरहेकी थिएँ। आमाबाबुलाई कति दिन दुःख दिनुजस्तो हुन्थ्यो। तर, तँलाई त मोज छ बाआमाले पालेका छन् भनेर साथीभाइले व्यङ्ग्य वाण प्रहार गर्थे।’
उनले आफ्नो संघर्षकथा बेलिबिस्तार लगाउँदै भनिन्, ‘मैले एक केजी बदाम ल्याएर आमालाई दिँदै अचार बनाइदिनुस् भने। आमाले बनाएको अचार मैले हरेक पसलमा लगेर सय रुपैयाँ बट्टामा बेचे। त्यसरी सुरु गरेको आमाछोरी व्यवसाय अहिले चर्चित भएको छ।’
एक किलोग्राम बदामबाट सुरु भएको अचार व्यवसाय अहिले विस्तार भएको छ। अहिले बदाम, माछा, मासु, तिल, टिमुर र मेथीको अचार बनाउने गरिएको छ। उनी हरेक ठाउँमा माग अनुसारको विभिन्न थरीका अचार आफैले स्कुटर चलाएर उपत्यका भित्र पु¥याउने गर्छिन्। उनी महालक्ष्मी स्थान चोकमा शुक्रबार अपराह्न १ देखि ६ सम्म र शनिवार बिहान ६ देखि ११ सम्म स्टल थापेर बस्छिन्। त्यसपछि शनिवार धोबीघाटमा दिउँसो १ देखि साँझ ७ बजेसम्म बस्छिन्। ललितपुरकै भनिमण्डलमा हरेक साता मंगलबार १ देखि ७ बजेसम्म स्टल राख्छिन्। अचार बिक्रीबाट सातामा १० देखि २० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ।
उनी उपत्यकाका विभिन्न ठाउँमा अचार पु¥याउन जाँदा मानिसका अनेकन प्रतिक्रिया हुन्थे। ‘ए तिमी पो ? तिमी जस्तो मान्छेले कसरी अचार बनायौँ ? तिमी हिँडडुल गर्न पनि सक्छौँ र ?’ प्रायः मानिसका यस्तै प्रतिक्रिया हुने गरेका छन्। कसैका प्रतिक्रियाले मनलाई असह्य पनि गराउँथ्यो,’ उनी भन्छिन्।
बदामको अचारबाट सुरु गरेको व्यवसायलाई थप ऊर्जा दिने काम द लेप्रोसी मिसन नेपालले गरेको हो। ‘आमाछोरी अचार व्यवसाय सुरु गरेको केही समयपछि द लेप्रोसी मिसन नेपालले २५ हजार रुपैयाँ दिएको थियो। त्यही पैसाले अचार बनाउन चाहिने भाँडाकुँडा किनेर उक्त व्यवसाय अगाडि बढाएँ,’ अर्यालले भनिन्। ‘आमाछोरी अचार’बाट आमाछोरी दुबै खुसी छन्।
‘कामलाई माया गर्नुपर्छ। कामले हामीलाई कहिल्यै घृणा गर्दैन,’ उनले भनिन्, ‘मलाई कसैमाथि पनि निर्भर हुन मन लाग्दैन। आफै सक्षम हुन्छु भन्ने आँट भित्रैबाट आउँछ।’
आफ्नो सफलताबारे उनी भन्छिन्, ‘सुरुसुरुमा आमाले बनाएको अचार मलाई बजारमा बिकाउन धेरै गाह्रो भयो। मानिसले अचारको स्वाद चाल पाएपछि आमाछोरी अचार चाहियो भन्दै खोज्न थाले। अहिले अनलाइन मार्फत पनि आमाछोरी अचार बेच्ने गरेकी छु। सबैले मन पराउनु हुन्छ। त्यो नै खुसी लाग्छ।’
आमाछोरी अचारको माग स्वदेशमा मात्र नभएर विदेशमा रहेका नेपालीबिच पनि छ। ‘कसैले के गर्छ्यौ भनेर सोध्दा ‘मेरो आफ्नै व्यवसाय’ छ भन्नु धेरै गर्वको अनुभव हुन्छ,’ उनी भन्छिन्।
‘यो खुसी आमाबाट पाएकी हु। आमा नभएकी भए मेरो हालत के हुन्थ्यो थाहा छैन,’ उनले भनिन्, ‘आज मेरो ओठको हाँसो आमाको कारण छ। यो अचार व्यवसाय आमा विना सम्भव थिएन्। आमालाई धेरै धन्यवाद छ। उहाँले गर्दा यहाँसम्म आइपुगेकी छु।’
उनले थपिन्, ‘५० प्रतिशत शरीर मेरो अस्वस्थ छ। शारीरिक अपाङ्गताकै कारण सानै हुँदा कुनै पनि विद्यालयले भर्ना लिएनन्। जसोतसो धेरै कोसिसपछि पढ्न पाएँ। कक्षा १ मा भर्ना हुँदा ८/९ कक्षा पढ्ने विद्यार्थी जस्ती थिएँ। अहिले स्नातकोत्तर तह सकिँदै छ।’
आमाछोरी अचारलाई नेपालको ब्राण्ड बनाउँदै आफू जस्तै शारीरिक अपाङ्गता भएका हजार जनालाई रोजगारी दिने उनको दृढ इच्छा छ। अपाङ्गता भएका व्यक्तिले पनि सामान्य व्यक्तिसरह काम गर्न सक्छन् भन्ने बलियो उदाहरण दिन उनी तत्पर भएकी छन्।
ललितपुरमा यसै साता द लेप्रोसी मिसन नेपाल फाउन्ड परियोजना वार्षिक सिकाइ आदान प्रदान ‘अपाङ्गता समावेशी रोजगारी प्रवर्द्धन ः सफलताको उत्सव’ कार्यक्रम भएको हो। अपाङ्गता भएका व्यक्तिलाई मर्यादित र सम्मानित जीवन जिउने वातावरण सृजना गर्न र उनीहरू प्रतिको नकारात्मक सोच तथा भेदभाव हटाउन द लेप्रोसी मिसन नेपालले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल र नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो।
शारीरिक रुपम अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार तथा स्वरोजगारमा संलग्न गराउन द लेप्रोसी मिसन नेपाल फाउन्ड परियोजनाले ऊर्जाशील अवसर उपत्यका भित्रका विभिन्न क्षेत्रमा विगत ४ वर्षदेखि उपलब्ध गराउँदै आएको छ।
फाउन्ड परियोजना क्लस्टरका व्यवस्थापक शिवकुमार प्रधानका अनुसार कुष्ठ प्रभावित १ सय ६७ जना र अपाङ्गता भएका ५ सय ६७ जनालाई रोजगारी दिएको छ। हालसम्म फाउण्ड परियोजनाले अनुसार ३ सय ९५ जनालाई पुनर्ताजगी व्यवसायिक सीपमूलक तालिम दिएको छ। त्यस्तै १ सय १९ जनाले रोजगार प्रशिक्षण तालिम र २५ जनाले स्वास्थ्य तथा सहायक सामग्री सहयोग पाएको परियोजनाले जनाएको छ।
त्यस्तै बिउ पुँजी सहयोग अन्तर्गत २ सय ४७ जनालाई विभिन्न प्रकारका व्यवसायिक सीपमूलक तालिम दिएको व्यवस्थापक प्रधानले जानकारी दिए। त्यसमध्ये कुष्ठरोग प्रभावित ७६ जना व्यक्तिले स्थानियस्तरमै रोजगार तथा स्वरोजगार पाएको परियोजनाले बतायो। अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य तथा सहायक सामग्री सहयोगका साथै आवश्यक परामर्श सेवा प्रदान गर्दै आएको उनले बताए।
द लेप्रोसी मिसन नेपालका राष्ट्रिय निर्देशक शोभाखर कँडेलले अपाङ्गता समावेशी रोजगार प्रवर्द्धनको यस अभियानमा सबैलाई संलग्न हुन आव्हान गर्दै बेरोजगार अपाङ्गता भएका व्यक्तिलाई ऊर्जाशील अवसर प्राप्त हुने बताए।
संस्थागत ढंगले सही अभियान चलाउने हो भने शारीरिक अपाङ्गता भएका व्यक्तिलाई पनि आय आर्जनको काममा लगाउन सकिने देखिएको छ। शारीरिक अशक्तता प्रगतिको वाधक बन्न नसक्ने उदाहरणीय काम पनि समाजमा भइरहेको रुपाको अनुभवले देखाएको छ।
प्रकाशित: १२ मंसिर २०८० ०९:०८ मंगलबार