काठमाडौं–नेपाल विद्युत प्राधिकरणमा जागिर लगाइदिने भनी ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने सप्तरीको बलान बिहुल गाउँपालिका–६ का ३७ वर्षीय कानुन व्यबसायी जयप्रकाश दास र काठमाडौं नयाँबानेश्वर शान्तिनगर बस्ने सिराहाको भगवानपुर गाउँपालिका–२ का ४३ वर्षीय अशोककुमार मुखिया छन् ।
प्राधिकरणको सिनियर मिटररिडर पदमा आवेदन दिएकामध्ये केही आवेदकसँग दास र मुखियाले दश लाख रुपैयाँ ठगेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ । जयप्रकाशले आफु श्रम मन्त्रालयको कर्मचारी भएको र खर्च गरेमा प्राधिकरणका मान्छेलाई प्रभाव पारी जागीर लगाइदिन सक्ने भन्दै पैसा लिएर फरार भएका थिए ।
जागिर खाेज्नेहरु अाफू ठगिएको थाहा पाएपछि प्रहरीकहाँ पुगेका थिए । प्रहरीले मुखियालाई पुस १७ गते काठमाडौं सिनामंगलबाट र दासलाई पुस १८ गते पक्राउ गरेको हो । उनीहरुउपर थप अनुसन्धान कार्य भइरहेको अपराध महाशाखाले जनाएको छ ।
प्रकाशित: २० पुस २०७४ १२:०४ बिहीबार