८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

लागू औषधको प्रयोग र कारोबारले छोपेपछि प्रहरीको ‘आई डेयर नो ड्रग्स’

क्याप्सनः लागू औषध सेवनकर्ताहरूलाई प्रहरी परिसरमा साङ्गीतिक कार्यक्रममा सहभागी गराइँदै प्रहरी। तस्विरः महेश्वर

उदयपुर एउटा यस्तो जिल्ला भएको जहाँ हरेक दिन जसो लागू औषधका दुर्व्यसनी पक्राउ पर्छन्। लागू औषधको प्रयोग र कारोबार अनियन्त्रित रूपमा फैलिँदै गएको छ। र, समाजमा यो सबैको टाउको दुखाई भएको छ। 

लागू औषधको प्रयोग र कारोबारले जिल्लालाई छपक्कै छोपेपछि प्रहरी अलि फरक तरिकाले प्रस्तुत भएको छ। उदयपुरलाई बचाउन प्रहरीले ‘म लागू औषध छाड्ने हिम्मत गर्छु (आई डेर नो ड्रग्स)’ अभियानको सुरुवात गरेको छ।

जताततै लागू औषध प्रयोग र कारोबार अनियन्त्रित रूपमा फैलिँदै गएपछि न्यूनीकरण र नियन्त्रणका लागि प्रहरीले यो नयाँ अभियानको सुरुवात गरेको हो। 

लागु औषध प्रयोगकर्तालाई कुलतबाट छुटाउन, भर्खर खान सिक्दै गरेकालाई त्यसबाट रोक्न र अन्य भावी पिँडीलाई लागू औषधबाट बँचाउन जिल्ला प्रहरी कार्यालयले अभियानको थालनी गरेको जनाएको छ। त्यसका लागि जिल्ला प्रहरी कार्यालयमै मन परामर्श कार्यक्रम गरेर अभियानको थालनी गरेको हो। 

सोमबार बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म चलेको मन परामर्श कार्यक्रममा सदरमुकामका लागू औषध प्रयोगकर्ताहरूलाई सहभागी गराइएको थियो। लागू औषधबाट बच्न अपनाउनुपर्ने विभिन्न तरिकाहरूबारे विज्ञ, पारमर्शतादा र पूर्व लागू औषध सेवनकर्ताहरूले अनुभव साझा गरेका थिए।  

‘आई डेयर नो ड्रग्स’ भन्ने नारा तय गरेर सञ्चालित कार्यक्रममा प्रहरीले ५२ जना प्रयोगकर्ताहरूलाई मन परामर्श दिएको जनाएको छ।

बढ्दो लागू औषध प्रयोग, ओसारपसार तथा बिक्री वितरणले उदयपुर प्रहरीले दिनहुँ जसो अभियुक्तहरूलाई पक्राउ गर्ने गरेको छ। दुर्व्यसन नियन्त्रण गर्ने उद्देश्यले कारबाही मात्र गर्दा सम्भव नहुने भएकाले सचेतना अभियान चलाउने गरेको र यही क्रममा यो अभियान सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताए। लागू औषध छाड्ने हिम्मत गर्छु भन्ने नारालाई समाजको भुईतहसम्म पुर्‍याउन मन परामर्श कार्यक्रम आयोजना गरिएको उनले बताए।  

परामर्श कार्यक्रममा दुर्व्यसनीमा फसिसकेका र भर्खर लागू औषध खान थालेका तथा लागू औषध विषयमा जिज्ञासुहरूलाई सहभागी गराएर परामर्श दिइएको थियो। जस अनुसार पहिलेदेखि दुर्व्यसनमा फसेका, भर्खर फस्दै गरेका तथा प्रयोग नगर्नेहरूलाई पनि सचेत गराउन सहभागी गराइएको एसपी थापाले बताए।  

प्रयोगकर्तालाई दुर्व्यसनबाट छुटाउन, सिक्दै गरेकालाई गहिराइसम्म फस्न नदिन र प्रयोग नगरेकालाई त्यसबाट जोगाउन परामर्श कार्यक्रम प्रभावकारी हुने देखिएकाले कार्यक्रम आयोजना गरेको उनको भनाई छ।

प्रयोग गर्ने गरेका र सिक्दै गरेकाहरूलाई तत्काल लागू औषध छोड्ने टिप्स (तरिका)हरू परामर्शदाताहरूले दिएका थिए। मन परामर्शले पनि दुर्व्यसनीहरूलाई आधा सही बाटोमा ल्याउने अनुमान प्रहरीको छ। एसपी थापाले दुर्व्यसन न्यूनीकरण गर्न कारबाही मात्र सबै समस्याको समाधान नभएको निष्कर्षका साथ यो अभियानको थालनी गरिएको दाबी गरेका छन्। दुर्व्यसन छाड्न सबभन्दा पहिले बलियो आत्मविश्वास र इच्छाशक्ति चाहिने भएकाले प्रयोगकर्ताहरूले आफैले आफूलाई बुझ्नु आवश्यक रहेको उनको ठम्याई छ। लागू औषध नियन्त्रणमा कमी ल्याउनका लागि पनि प्रयोगकर्ताहरूले नै सहयोग गर्नुपर्ने एसपी थापाको बुझाई छ।  

अभियुक्तहरूलाई रंगे हात दिनहुँ पक्राउ गर्ने, थुनेर सजाय गराउने, दण्ड जरिवाना गराउने काम वर्षौँदेखि प्रहरीले गर्दै आएको तर, झन् बढ्दै गएको पाइनुले कारबाहीले मात्र दुर्व्यसनी नियन्त्रण नहुने प्रमाणित भएको उनले बताए। ‘प्रहरीले धेरैलाई पक्राउ गरेर कारबाही गर्ने काम गरिरहेको छ तर, पनि न्यूनीकरण भएको खोइ त ?’ एसपी थापा भन्छन् ‘त्यसैले पक्राउ र कारबाही मात्र समस्याको समाधान होइन भन्ने बुझेर यो अभियानको सुरुवात गरिएको हो। प्रयोगकर्ताहरू नै सचेत भए मात्र दुर्व्यसनी न्यूनीकरण गर्न सकिन्छ नत्र सम्भव छैन।’ लागू औषध न्यूनीकरण र नियन्त्रण गर्नका लागि सबभन्दा पहिले स्वयम प्रयोगकर्ता, बिक्रेता र उनीहरूका परिवार तथा समाज सचेत हुनु आवश्यकता देख्छन् एसपी थापा। उनीहरू एकजुट हुन सके मात्र यो सम्भव हुने भन्दै उनले त्यसका लागि परिवारको जिम्मेवारी, प्रहरीको कारबाही र व्यक्ति स्वयमले आत्मबल दह्रो बनाएर त्याग गर्न जरुरी रहेको उनी बताउँछन्।  

त्यसबाहेक लागू औषध प्रयोगकर्ताहरूप्रति समाजको दृष्टिकोण पनि सफा र सहयोगी हुनुपर्ने प्रहरी ठम्याई छ। समाजको दृष्टिकोण सकारात्मक भएमा पनि नियन्त्रण र न्यूनीकरणमा धेरै ठुलो सहयोग पुग्ने आङ्कलन प्रहरीको छ। त्यसैले परामर्श कार्यक्रम तय गरेर अभियानको थाली नगरिएको जनाइएको छ। परामर्श कार्यक्रममा प्रयोगकर्तासँगै उनीहरूका अभिभावकलाई पनि उपस्थित गराइएको थियो। आफ्ना छोराछोरी कुन अवस्थामा छन्, के गर्छन्, कस्ता मान्छेको सङ्गत गर्छन् भन्ने कुराको निगरानी अभिभावकले राख्नु आवश्यक रहेको दायित्वबारे प्रस्ट पार्न अभिभावकहरूलाई सहभागी गराइएको हो।  

अन्तरक्रियासहितको परामर्श कार्यक्रममा सरोकारवालाहरूले आफ्ना छोराछोरीको भविष्य अन्धकार बनाउने कि उज्ज्वल भन्नेबारे पहिलो जिम्मेवार परिवार नै हुने निष्कर्ष निकालिएको थियो। त्यसैले छोराछोरीको रेखदेख र मार्ग निर्देशन गर्ने जिम्मा परिवार र अभिभावले नै लिनुपर्ने कुरामा सरोकारहरू एकमत थिए। बालबालिकाहरू लागू औषध दुर्व्यसनीमा लाग्नुको अर्को मुख्य कारण पारिवारिक कलह पनि भएको निचोड पनि कार्यक्रमले निकालेको छ। घरमा झैझगडा, बाउआमाबिच कुटपिट र बादबिबादजस्ता घट्नाले परिवारमा कलह सृजना हुने र यसले बालबालिकाको मनोविज्ञानमा नराम्रो असर पार्दै अन्ततः लागु औषध दुर्व्यसनको सिकार हुने गरे तथ्य अध्ययनले देखाइरहेको सरोकारवालाहरूको भनाई थियो। त्यस कारण छोराछोरीलाई लागू औषधको नकारात्मक असर प्रभावबारे बेलैमा सचेत गराउनु पर्नेमा मतैक्य थियो।  

परामर्श दिने क्रममा सचेतनामूलक वृत्तचित्र प्रदर्शनी, सन्देशमूलक साङ्गीतिक कार्यक्रम तथा विज्ञहरूबाट चेतनामूलक मन्तव्य प्रस्तुत गर्दै प्रहरी कारबाही र सजायबारे जानकारी गराइएको थियो। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, त्रियुगा नगर उपप्रमुख महेश्वरी राई, एसपी थापा, ओसीएमसी प्रतिनिधि रन्जना ताजपुरियालगायतले सहभागीहरूलाई परामर्शसहितको मन्तव्य दिएका थिए।  

प्रकाशित: १२ मंसिर २०८० ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App