२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विदेशको सपना देखाउँदै ठगी

एजेन्ट लक्ष्मण श्रेष्ठ / ठगी आरोप लागेका गजेबु लिम्बू

वैदेशिक रोजगार विभागको एक कुनामा दुई दिदीभाइ निन्याउरो अनुहारमा बसिरहेका थिए। उनीहरूका आँखा लोलाएका थिए भने शरीर थकित देखिन्थ्यो। ती दुवैका आँखा आँसुले भरिएका थिए।

दिदीभाइमध्ये एक हुन्-झापा बिर्तामोडका विवेक पाठक। बिर्तामोडमा मोटरसाइकल सोरुममा काम गरेर आम्दानी गरी परिवारमा रमाइरहेका उनीमाथि त्यतिबेला बज्रपात पर्‍यो, जतिबेला उनी वैदेशिक रोजगारी दलालको फन्दामा परे।

धनकुटाका लक्ष्मण श्रेष्ठले पाठकलाई वैदेशिक रोजगारीका निम्ति भिजिट भिसामा दुबई जाने प्रलोभन दिएपछि दुःखका दिन सुरु भएका हुन्।

बिदेसिने सपनाले पाठक विभागको एक कुनामा बसेर टोलाइरहेका छन्। दलालले विदेश पठाउन नसकेपछि ठगिएको महसुस गरी उनीविरुद्ध पक्राउपुर्जी तयार पार्ने आग्रह गर्दै विभाग धाइरहेका हुन्।

पीडित पाठक न त दुबई जान पाए, न त ऋण काढेर जम्मा गरेको रकम फिर्ता नै भयो। ‘गाउँकै चिनेजानेको साथी भएकाले उसले भनेको पत्यायौंं,’ पाठक भन्छन्, ‘साथीले पैसा पहिल्यै जम्मा गर्न लगायो। भनेकै बेला ऋण काढेर पनि दियौं तर अहिले सम्पर्कविहीन छ। पैसा पनि फिर्ता पाउन सकेनौं।’

साउन ३ गते दुबई उडान भर्न परिवारबाट बिदावारी भएर काठमाडौं आएका पाठक अहिलेसम्म घर फर्किएका छैनन्। भुइँमा थचक्क बसिरहेका पाठकले आँखाको आसु पुछ्दै भने, ‘आज मेरो घर उजाड भएको छ। खुसीले भरिएको परिवारसँग आज टाढिएको छु। नेपालीको महान् पर्व दसैंतिहारमा पनि घर जान सकिएन। ७४ वर्ष लागेका बुढा बाबु, पत्नी र छोराछोरीसँग बिदा भई दुबई उडान भर्न काठमाडौं आएँ। काठमाडौं आएपछि आफू त आगोको भुंग्रोमा परेको थाहा पाएँ।’

उनले नागरिकसँग दलालको फन्दामा परेको घटना उल्लेख गर्दै भने, ‘दुबईमा राम्रो कम्पनीमा काम छ। पैसा पनि धेरै हुन्छ भन्दै एजेन्टले फसायो। न दुबई जान सकियो न त घर फर्किने कुनै ठाउँ छ। त्यही पैसा उठाउन विभाग धाएको धाएकै छु। काठमाडौंका आफन्तकोमा कति दिन बस्ने। काउली रोप्दा आएको मान्छे काउली खाइसक्दा पनि जाँदैन भन्दै वचन लगाउँछन्।’

अप्ठेरोको बेलामा आफन्तहरूको पनि साथ नपाएको अनुभव पीडितले सुनाए। ‘साथ दिने एउटी दिदी छिन्। न्यायको भिख माग्न विभाग धाउन पनि पैसा चाहिन्छ। दिदीसँग पनि कति दिन माग्ने बाटो खर्च? ८/९ पटक विभाग धाएँ। एक कप चिया धरी खाएको छैन। एजेन्टहरू श्रेष्ठ र गजेबु लिम्बु सम्पर्कविहीन छन्। एजेन्टको मिठो कुराले आज चिप्लिएको छु,’ उनले भने।

छोरोछोरीको स्कुल फी नदिएको चार महिना भइसक्यो। अब स्कुलबाट निकाल्ने अवस्था आइसक्यो। छोराछोरीको फोटो हेर्दै पाठक भक्कानिन्छन्। ‘दुईचार महिनाअघि मात्रै ८५ केजी भएको मान्छे आज बिदेसिने सपनाले ६० केजी भएको छु। अरूका लागि दुई लाख दुई रूपैयाँ झैं होला तर गरिबका लागि त्यो पैसा दुई करोड हो।’

विदेश जाने सपनामा श्रेष्ठले पाठकबाट साढे दुई लाख रकम लिएका थिए। दुबई भिजिट भिसामा तीन दिनमै जाने भन्दै गरिरहेको काम छोड्न पाठकले लागाएको पीडित बताउँछन्। यो दुर्गतिमा ल्याउने श्रेष्ठ मात्र नभएर श्रेष्ठकै साथी गजेबु लिम्बू पनि रहेको पीडितले आरोप लगाए।

उनले विभागमा आफू ठगिएको भन्दै उजुरी दिएको दसैंअगाडि नै थियो तर विभागका अनुसन्धान गर्ने कर्मचारी सरुवा भएका र त्यो पदमा नयाँ कर्मचारी नआउँदा पीडित अप्ठेरोमा परेका छन्। जसकारण पाठक जस्ता थुप्रै पीडित विभाग धाइरहेका छन्।

 ‘दसैंअघिबाटै विभाग धाइरहेका छौं। उजुरी गर्‍यौं तर पक्राउ पुर्जी काट्ने तथा हाम्रो फाइल जाँच गर्ने कर्मचारी नहुँदा हामी मारमा परेका छौं। हाम्रो फाइल जाँच गर्ने कर्मचारी सरुवा भएको महिना दिन भइसक्यो तर त्यस ठाउँमा नयाँ कर्मचारी आएका छैनन्,’ पीडितले भने।

विभागमा न्याय माग्न आएका पाठक विभागको ढोकावरिपरि पनि ठगिएका छन्। आफू त्यहाँ पनि ठगीमा परेको उनी बताउँछन्। ‘तिम्रो फसेको पैसा उठाइदिन्छु भनी राजेन्द्र पाण्डे नामका नयाँ दलालले थप पाँच हजार रूपैयाँ ठगेको छ,’ उनले भने।

पैसा उठाइदिने भन्दै दोहोर्‍याएर ठगी गर्ने राजेन्द्र पाण्डेले दिएको आश्वासन उल्लेख गर्दै पीडितले भने, ‘दाइ तपाईं फस्नुभएको रहेछ। तपाईंलाई फसाउने त्यो श्रेष्ठलाई हामी समात्छौं। चिन्ता लिनु पर्दैन। हामी त्यो ठगलाई समातेर तपाईंको सबै पैसा उठाइदिन्छौं। सुरुमा पाँच हजार दिनुस्। तँपाइकाे काम हुन्छ।’

राजेन्द्रको विश्वासमा परेर पाठकले पैसा पनि बुझाए। ‘काम हुँदै छ। तपाईंको पैसा खाने व्यक्तिलाई हामीले भेटिसकेका छौं। अब पैसा उठाउन मात्र बाँकी छ। केही दिनमा पैसा पनि उठ्छ, आत्तिनुपर्दैन,’ राजेन्द्रलाई उद्धृत गर्दै पीडितले भने।

पाठकलाई राजेन्द्रले ठग्दै छ भन्ने थोरै शंका पनि थिएन। पाठक ठगीको हातमा मात्रै पर्दै थिए। राजेन्द्र पनि श्रेष्ठ र लिम्बु जस्तै सम्पर्कविहीन भएपछि मात्र थाहा पाए आफू फेरि ठगिएको। जहाँ गए पनि ठगी गर्ने मान्छे छ्यासछ्यास्ती रहेको भन्दै पीडित पाठकले गुनासो गरे।

बेरोजगारी समस्याले पिरोलिएका सर्वसाधारण युवा सचेत नहुँदा वैदेशिक रोजगारीको बहानामा ठगीको सिकार बन्ने क्रम बढेको छ। ठगी गर्नेविरुद्ध कानुनी कारबाही फितलो भइरहेको पीडितहरूको गुनासो छ।

नेपालमा सरल तरिकाले बाँच्न नसकिने भन्दै पीडितको ठुलो गुनासो थियो। उनी निकै बेर रोइरहेका थिए। उनी धेरै दिनदेखि रोइरहेका झैं देखिन्थे। विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार विभागमा धेरै व्यक्तिगत उजुरी आउने गरेको छ।

गत आर्थिक वर्ष २०७९/८० मा विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा करिब ४४ हजार पाँच सय उजुरी परेका छन्।

‘वैदेशिक रोजगारीमा अशिक्षितभन्दा शिक्षित युवा धेरै ठगीमा पर्ने गरेका छन्,’ उनले भने, ‘पढेलेखेका युवा खाडीभन्दा युरोप नै जान इच्छुक हुने गरेका छन्। सामाजिक सञ्जालबाट अत्यधिक युवा ठगिएका छन्। खाडीमा गएका नेपाली युवा पनि युरोपलाई नै लक्षित गरिरहेका छन्। जसकारण ठगीमा धेरै पर्छन्।’

वैदेशिक रोजगारीमा जान लागेको व्यक्ति र उसको परिवार बेलैमा सचेत हुने हो भने ठगी हुने सम्भावना नरहने निर्देशक उप्रेतीले जानकारी गराए। पैसा बुझाउने बेलामा कागज नगरिएका धेरै घटना पाइएका छन्।

रोजगारीमा जाने व्यक्ति र उसको अभिभावकलाई पालिकास्तरमै परामर्श दिन हेल्प डेस्क राख्ने हो भने ठगीको समस्या न्यूनीकरण हुने एक अधिवक्ताको सुझाव छ।

प्रकाशित: १० मंसिर २०८० ०२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App