१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सडक पुग्दा पनि पीडित कर्णाली: चर्को भाडादरले गिज्याउँदै गरिबी

सडक नपुगेको कर्णालीका पीडा एकातिर छन्, सडक पुगेको कर्णालीका पीडा अर्कातिर झन् गहिरा छन्।सडकमा गुड्ने सवारी साधनले असुल्ने चर्को भाडाले कर्णालीको गरिबीलाई गिज्याइरहन्छ।

सबैभन्दा बढी सास्ती त दसैँ–तिहारमा घर आउजाउ गर्ने यात्रुले भोग्नुपर्छ ।चाडबाड मनाउन घर आउने श्रमिक, विद्यार्थीहरू सवारी भाडाकै मारले थिलथिलो भएर फर्किनुपर्छ । त्यसमाथि निरन्तर बढी रहने इन्धनको भाउसँग भाडा उकालो लागिरहन्छ । तर, घट्दा भाडामूल्य कहिल्यै समायोजन हुन्न।कर्णालीका नागरिक गाडी पुग्दा पनि यसरी महँगो गाडी भाडाको मारमा छन्।

पाँचवर्ष अघिसम्म नेपालगन्जबाट जुम्लाको गाडी भाडा एक हजार पाँच सय र सुर्खेतबाट एक हजार रुपैयाँ थियो।अहिले उकालो लागेर दुई हजार पाँच सय रुपैयाँ पुगेको छ।तर सरकारले पटक–पटक भाडा दर तोक्दै र इन्धनको मूल्य घटाउँदा पनि भाडा दर ओरालिएको इतिहास छैन। यातायात व्यवसायीले अप्ठ्यारो कर्णाली राजमार्गको कारण देखाउँदै गाडीको मर्मत खर्चसमेत नआउने भन्दै मनोमानी भाडा लिने गरेका छन्।

उसो त कर्णालीमा इन्धनको मूल्यमा पनि मनोमानी छ।नेपाल आयल निगमले कात्तिक १४ गते इन्धनको मूल्य घटाउँदा पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ र डिजेलमा प्रतिलिटर चार रुपैयाँ घटेको छ।यो हिसाबले विगतमा दुई सय रुपैयाँ प्रतिलिटर बिक्री हुँदै आएको पेट्रोल एक सय ८९ रुपैयाँमा र एक सय ८३ रुपैयाँ प्रतिलिटर बिक्री हुँदै आएको डिजेल एक सय ७९ रुपैयाँमा बिक्री हुनुपर्ने हो। तर जुम्लाका सुस्मा आयल स्टोरबाहेक सबैले निर्धारित मूल्यभन्दा बढीमा इन्धन बिक्री गरिरहेका छन्।सुस्मा मात्रै जुम्लामा रहेको आयल निगमको आधिकारिक बिक्रेता हो।सुस्माबाहेक पनि अनधिकृत रुपमा इन्धन बिक्री हुँदै आएको छ। आधिकारिक बिक्रेताको कमी हुँदा सवारी साधनले बाध्यताले अनधिकृत पम्पबाट महँगोमा इन्धन किन्नु परिरहेको छ।कर्णाली राजमार्गमा पर्ने, मान्म, पिलि, नाग्म, रारा, त्रिवेणी, कुडारी, लिताकोट, तातोपानी, ऐरेनी, उमगाड र जुम्ला बजारका विभिन्न पसलमा अनधिकृत रुपमा पेट्रोल र डिजेल मनोमानी मूल्यमा बिक्री हुँदै आएको छ।

अनधिकृत बिक्रेताबाट महँगोमा इन्धन हालेर सवारी चलाउनु परेकाले भाडा दर पनि महँगो लिनुपरेको सवारी चालकहरू बताउँछन्। ‘डिजेल प्रतिलिटर दुई सय सम्ममा हाल्नुपर्छ।अनि गाडी भाडा पनि महँगो हुने नै भयो,’ सवारी चालक पदम महतरा भन्छन्, ‘इन्धनको मूल्य नघटेको र बाटो निकै जोखिमयुक्त भएकोले पनि गाडी भाडा घटाउन मुस्किल छ ।’

जुम्ला–सुर्खेत २३२ किमी र जुम्ला–नेपालगन्ज ३२२ किलोमिटर दुरी छ। यो दुरीमा साना गाडीले एक हजार पाँच सय र बसले त्यसभन्दा कम हुनुपर्ने हो।सडकको स्तर पनि पहिलेजस्तो कमजोर छैन। यस्तोमा अझै पनि सवारीले विभिन्न बहाना बनाउँदै चर्को भाडा लिइरहेका छन् । अहिले जिपमा यात्रा गर्दा जुम्ला–सुर्खेत दुई हजार पाँच सय र जुम्ला–नेपालगन्ज यात्रा गर्दा दुई हजार छ सय रुपैयाँ भाडा तिर्नुपर्छ  दसैँ–तिहार र यात्रु चाप भएका बेला झन् महँगो भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यतामा कर्णालीबासी छन्।  

यातायात व्यवसायी, इन्धन बेच्ने व्यापारीको मनोमानीको मारमा कर्णालीबासी परिरहेको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए।उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले यसमा नियमन गर्नुपर्ने हो । उसले कडाई नगर्दा यो अवस्था छ।’ 

जिल्ला प्रशासन कार्यालय, जुम्लामा यस विषयमा पटक–पटकको छलफलबाट पनि अहिलेसम्म निकास दिन सकेको छैन। प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले भाडा दर निर्धारण गर्ने अधिकार प्रशासनलाई नभएको बताए । प्रदेश सरकारले नयाँ निर्णय नगरुन्जेल आफू आउनुभन्दा पहिला निर्धारण भएकै भाडा लागु गराइरहेको उनको भनाई छ। ‘इन्धनको मूल्यमा एकरूपता नभएको विषयमा अनुगमन गर्दैछौं,’ उनले भने, ‘यातायात व्यवसायीका आफ्नै माग छन्। सरकारले तोकेअनुसार कार्यान्वयन गर्नुपर्ने त्यसो नभएको गुनासो बढ्दो छ।’

प्रकाशित: ९ मंसिर २०८० ०५:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App