२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

आम्दानीकाे गतिलो स्राेत बन्दै बाख्रापालन

फाइल तस्वीर

कृष्णपुर नगरपालिका–१ निगालीका भक्तबहादुर विष्ट चरन क्षेत्रमा बाख्रा लैजाने तयारीमा जुटेका छन्। चुरे क्षेत्रमा रहेको गोठमा बाख्रा चराउन उनले सुरसार गरेका हाे।

मङ्सिरको पहिलो हप्ता चुरेमा रहेका गोठमा यस क्षेत्रका बासिन्दाले बाख्रा लगेर वर्षातको समय सुरु हुन थालेपछि तराई झर्ने गरेका छन्। डेढ दशकदेखि विष्टले परम्परागत रूपमा बाख्रापालन गर्दै आएका छन्। उनका गोठमा जमुनापारी र तोतापारी जातका सय बढी बाख्रा छन्।

वार्षिक रूपमा बाख्रापालन गरी पाँच लाखदेखि सात लाख रूपैयाँसम्म उनको आम्दानी हुने गरेको छ। गएको दसैँ र तिहारमा मात्रै उहाँले तीन लाख २८ हजार रूपैयाँका खसीबोका बेचेका छन्।

यी जातका खसीबोका ६५ किलोदेखि ७० किलोसम्मको हुने गरेको उनले बताए। जिउँदो खसी पाँच सय ५० रूपैयाँ प्रतिकिलोका दरले गोठबाटै काठमाडौ, नेपालगञ्ज लगायत क्षेत्रका व्यापारीले खरिद गरेर लैजाने गरेका छन्।

“कोरोना महामारीअघि खसीबोकाको बजार निकै राम्रो थियो, आम्दानी चाहेजस्तै हुन्थ्यो”, उनले भने, “कोरोना महामारी फैलिएपछि र त्यसपछिको समय खसीबोकाको व्यापार नहुँदा थोरै मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता भयो, अहिले विस्तारै पुरानाे अवस्थमा व्यवसाय फर्किन थालेपछि सहज भएको छ।”

किसान विष्टले बाख्रापालनकै कमाइबाट बेदकोट नगरपालिकाको दैजीमा घरघरेडी जोडेका छन्। निगालीमा डेढ बिघा जग्गा खरिद गरी खेती गर्दै आएका छन्।बाख्रापालन सम्बन्धी तालिम नलिएका विष्टले पुरानै तरीकाले बनाइने खोरमा बाख्रा राख्दै आएका छन्।

बाख्रालाई रोगव्याधि लागे, चोटपटक लाग्यो भने उपचार भने आफैंले गर्दै आएका छन्। भेटेरेनरी प्राविधिकसँगको सङ्गतले उपचार गर्न सक्षम भएको उनको भनाइ छ।

“चुरे क्षेत्रमा चरनको राम्रो व्यवस्था भएकाले डेढ दशकदेखि बाख्रा चराउने काम गर्दै आएका छौं”, उनले भने, “चरन क्षेत्रमा केही वर्षयतादेखि पहिरो जान थालेपछि बाख्रापालन सङ्कटमा पर्न थालेको छ।”

चुरे क्षेत्रमा भइरहेको वन विनाशसँगै ढुङ्गा, गिट्टी लगायतको दोहन रोक्नुपर्ने उनले बताए। “चुरे क्षेत्र जोगिए मात्रै बाख्रापालन गर्न सकिने हो”, उनले भने, “यसलाई जोगाउन सबैको हातेमालो आवश्यक छ।”

विष्टजस्तै निगाली गाउँका १५ बढी परिवारको जीविका चलाउने आधार बाख्रापालन नै रहेको छ। परम्परागत रूपमा बाख्रपालन गर्दै आएका परिवारसँग कम्तीमा ५० देखि बढीमा दुई सयसम्म बाख्रापालन गरिएका छन्। बाख्रापालनमा लागेका परिवारको वार्षिक कमाइ पाँच लाख रूपैयाँ बढी हुने गरेको छ।

बाख्रापालन व्यवसायमा लागेका देव बोहराले स्थानीय तहले खोर व्यवस्थापन, घाँसखेती, औषधोपचारको तालिम दिएर सक्षम बनाउनुपर्ने बताए।

“बाख्रापालनमा लागेका व्यवसायीलाई सहुलियत दरमा ऋणसँगै अनुदानको व्यवस्था गरिनुपर्छ”, उनले भने, “वर्षौंदेखिका चरन क्षेत्रमा बाख्रा चराउन सहज वातावरण कायम गरिनुपर्छ।”

व्यवसायीले हालसम्म सरकारी तवरबाट सञ्चालन हुने कार्यक्रममा नसमेटिएको जनाउँदै गुनासो पोखेका छन्।

प्रकाशित: ८ मंसिर २०८० ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App