२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

इजरायल–हमास युद्धविरामले बढायो विपीन फर्किने विश्वास

इजरायल र प्यालेस्टाइनी सशस्त्र समूह हमासबीच जारी युद्ध अल्पकालीन समयका लागि रोकिने सम्भावना बढेको छ।दुवै पक्षसँग रहेका युद्धबन्दीलाई रिहा गराउन दुवै पक्ष राजी भएको समाचार बाहिरिएको छ। योसँगै हमाससँग बन्धक रहेका नेपाली विद्यार्थी विपीन जोशी पनि रिहा हुने सम्भावना बढेको हो।

युद्धविरामको सम्भावनालाई हमास समूहले नै आधिकारिकता दिएको छ। हमास समूहका नेता इस्माइल हानियेहले मंगलबार एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई विज्ञप्ति पठाउँदै इजरायलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको प्रतिक्रिया दिएका छन्। ‘हामी युद्धविराम सम्झौतानजिक पुगेका छौं,’ विज्ञप्तिमा हानियेहले उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्  युद्धविराम कति समयसम्म हुने भन्ने कुरा खुलाइएको छैन। तर दुवै पक्षबीच युद्धबन्दी आदान–प्रदान गर्ने सम्झौता हुन लागेको बताइएको छ। यसअघि सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायल र हमासबीच युद्धविराम सम्झौता हुनसक्ने कुराको संकेत गरेका थिए।

युद्धविराम सम्झौता कतार सरकारको मध्यस्थतामा भइरहेको जनाइएको छ। हमासको राजनीतिक शाखा कार्यालय कतारमै रहेकाले पनि कतारको भूमिकामा युद्धविरामको सम्झौता गर्न सहज भइरहेको हो। आइतबार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुला रहमान अलथानीले बन्धकको रिहाइ र अल्पकालीन युद्धविरामको विषयमा छिट्टै सहमति हुनसक्ने बताएका थिए। बाँकी विषयमा भने सहमति हुन नसकिरहेको बताएका थिए।

प्राप्त समाचारअनुसार इजरायल ५ दिन युद्धविराम गर्न राजी भएको छ। सो समयमा उसले जमिनमा कुनै आक्रमण गर्नेछैन भने उत्तरी गाँजा क्षेत्रमा हवाई आक्रमण हुनेछैन। त्यसको बदलामा हमासले आफूसँग बन्धक रहेका विदेशी र केही इजरायली नागरिक रिहा गर्न सहमत भएको बताइएको छ। यद्यपि इजरायली सैनिक भने उसले छाड्न मानेको छैन। त्यसको बदलामा इजरायलले आफूसँग बन्धक रहेका तीन सय प्यालेस्टाइनीलाई रिहा गर्नेछ।

यसरी हमास र इजरायल अल्पकालीन युद्धविराम गरेर युद्धबन्दीलाई रिहा गर्न सहमत भइरहँदा नेपाली विद्यार्थी जोशी पनि रिहा हुने परराष्ट्र मन्त्रालयले आशा राखेको छ। ‘विपीन गाजा क्षेत्रमा सकुशल छन् भन्ने खबर प्राप्त भएको छ। उनलाई रिहा गराउन मन्त्रीज्यू र नेपाल सरकारबाट विभिन्न प्रयास भइरहेका छन्,’ परराष्ट्रमन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीले भने, ‘यस्तोमा दुवै पक्ष सहमत हुँदा विपीन पनि रिहा भएर नेपाल फर्किने आशा बढेको छ।’  

हमास समूहसँग मध्यस्थता गरिरहेका कतार, इरान, अन्तर्राष्ट्रिय रेडक्रस (आइसिआरसी) लगायतसँग विपीनको रिहा गराइदिन नेपाल सरकारले सुरुदेखि नै आग्रह गर्दै आएको छ। कतार सरकारले कूटनीतिक माध्यमबाट दिएको जानकारीअनुसार विपीन हमास समूहसँग सकुशल रहेको खबर प्राप्त भएको स्वकीय सचिव जोशीले बताए। यही कुरा शनिबार परराष्ट्रमन्त्री साउदले आफूहरूसँगको कुराकानीमा पनि बताएको विपीनका दाजु किशोर जोशीले बताए। ‘हामीले रिहाइका लागि जिम्मेवार भएर काम गरिदिन आग्रह गर्‍यौं। मन्त्रीज्यूले विपीन सकुशल भएको खबर प्राप्त भएको जानकारी आएको बताउनुभयो। रिहाइमा आफूहरू पनि चिन्तित भएर लागेको बताउनुभयो,’ किशोरले भने।

इजरायली रक्षा बल (आइडिएफ)ले सोमबार एउटा सिसिटिभी फुटेज सार्वजनिक गर्दै फेरि पनि विपीन हमासकै कब्जामा रहेको दाबी गरेको थियो । पछिल्लो समय इजरायली सेनाले कब्जामा लिएको गाजास्थित शिफा अस्पतालको अक्टोबर ७ तारिखको उक्त फुटेजमा दुईजनालाई अपहरण गरेर पुर्‍याइएको देखिएको छ। जसमध्ये एक नेपाली र एक थाइल्यान्डका नागरिक रहेको आइडिएफले उल्लेख गरेको छ। यद्यपि पछिल्लो समय कहाँ छन् भन्ने नखुलेको आइडिएफले जनाएको छ।  

आइडिएफ र इजरायलको सूचनाका आधारमा इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले सोमबार विज्ञप्ति सार्वजनिक गर्दै विपीन अझै सम्पर्कविहीन रहेको बताएको छ।

असोज २० गते हमास समूहले इजरायलमा आक्रमण गरेको थियो। आक्रमणमा नेपालका १० जना विद्यार्थी मारिएका थिए भने ४ जना घाइते भएका थिए। विपीन भने उक्त घटनापछि बेपत्ता छन्। प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले पनि विपीनलाई हमास लडाकुले कब्जामा लिई लगेको बताउँदै आएका छन्। उता हमास समूहले दुई सय ४० जनालाई बन्धक बनाएको बताइएको छ। उनीहरूमध्ये बच्चा, वृद्धवृद्धा र विदेशी नागरिक पनि छन्। उनीहरूलाई रिहा गराउन सुरुदेखि नै मध्यस्थकर्ताहरूले काम गरिरहेका छन्।

प्रकाशित: ६ मंसिर २०८० ००:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App