२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विद्यालय खुले आएनन् विद्यार्थी

जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाकी रिमा रानाले दसैं–तिहार बिदापछि सोमबार विद्यालयमा पाइला टेकिन्। बिदा हुनुअघिको जस्तो थिएन विद्यालय। भवन भत्किएका थिए। आफू अध्ययन गर्दै आएको विद्यालय भत्किएको भन्दा पनि उनलाई आफ्ना सहपाठीहरूको मृत्युको खबरले पीडा दिइरहेको थियो। ‘भत्किएको विद्यालय त केही वर्षमा बन्ला, सँगै पढेका साथीहरू भूकम्पमा परेर बितेको खबरले सधैं दुःखी बनाउनेछ,’ उनले भनिन्।

रिमा भेरी त्रिवेणी माविमा कक्षा १० मा पढ्छिन्। उनका तीन सहपाठीले भूकम्पमा परेर ज्यान गुमाए। अझै ११ जना विद्यार्थी विभिन्न अस्पतालमा उपचाररत छन्। रिमा विद्यालयस्तरीय बाल सञ्जालकी उपाध्यक्ष पनि हुन्। त्यसैले सबैसँग उनको घनिष्ठता थियो। विद्यालय खुलेको पहिलो दिन विद्यार्थीको संख्या न्यून थियो। उनको कक्षाका ७२ विद्यार्थीमध्ये उनीसहित तीनजना मात्रै उपस्थित थिए।

२०४२ सालमा स्थापित विद्यालय पूर्वी जाजरकोटको उत्कृष्टमध्येको एक हो। यहाँ छिमेकी पालिकाका मात्रै होइन, छिमेकी जिल्ला रुकुम पश्चिमका विद्यार्थी पनि अध्ययन गर्थे। ‘बाहिरका साथी यहाँ कोठा भाडामा लिएर पढ्थे,’ उनले भनिन्, ‘यहाँका सबै घर भत्किएका छन्, उता पनि त्यही अवस्था होला,’ उनले भनिन्।

सर्वजित पुन तीन छोराछोरीलाई पढाउन नलगाड नगरपालिकाको पुख्र्यौली थलो छाडेर रिम्नामा पसल गर्थे। घुम्ती पसलमा फलफूल व्यापार गर्ने उनी नजिकैको घरमा भाडामा बस्थे। दुई छोराछोरी अमर र गंगा यहीँ विद्यालयमा अध्ययनरत थिए। भूकम्पले उनीहरू बसेको घर भत्कायो। भूकम्पमा परेर अमर र गंगा दुवै घाइते भए। उपचारपछि रिम्ना फर्केका उनीहरू त्यसयता त्रिपालमुनि बस्छन्। भूकम्पपछि उनले पढ्ने वातावरण पाएकी छैनन्। कक्षा ७ मा अध्ययरत गंगालाई आफू त्रिपालमुनि बस्नुको पीडा त छँदैछ, त्यसमाथि विद्यालयको अवस्थाले पनि चिन्तित तुल्याएको छ।

विद्यालयका प्रधानाध्यापक प्रेम पुनले विद्यालय सञ्चालन भए पनि विद्यार्थी पढ्न नआएको बताए। ‘हाम्रो विद्यालयमा अध्ययनरत ४० प्रतिशत विद्यार्थी छिमेकी पालिका र छिमेकी जिल्लाका छन्। उनीहरू यहाँ कोठा भाडामा लिएर अध्ययन गर्थे,’ उनले भने, ‘भूकम्पले घरहरू भत्काएकाले विद्यालय खुलेको पहिलो दिन अत्यन्तै न्यून विद्यार्थी मात्र विद्यालयमा उपस्थित थिए।’

कक्षाकोठामा बसेर अध्ययन गरिरहेका विद्यार्थीहरूलाई खुला चौर र त्रिपालमुनि पढ्नुपर्दा समस्या हुने देखिएको उनले बताए। रातभर शीत चुहिने पालमा बस्ने बालबालिकालाई दिनभरि खुला ठाउँमा राख्नु आफूहरूका लागि रहर नभएर बाध्यता भएको उनले बताए। उनले कोठा भाडामा बसेर अध्ययन गरिरहेका बालबालिकाका लागि अस्थायी होस्टेलको व्यवस्था गरिदिए सहज हुने बताए।

भूकम्पको केन्द्र जाजरकोटको बारेकोटमा कक्षा कहिलेदेखि सुरु हुने हो, ठेगान छैन। पालिकाका ५३ वटै विद्यालयहरूमा क्षति पुगेकाले अस्थायी सिकाइ केन्द्र स्थापना गरेर पठनपाठन गर्नुपर्ने भएकाले विद्यालय खुल्ने ठेगान छैन। शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रामबहादुर मल्लले अस्थायी सिकाइ केन्द्र स्थापना गरेर मात्रै पठनपाठन गर्ने निर्णय भएको बताए। ‘केही दिनअघि प्रधानाध्यापकसँगको बैठकमा अस्थायी सिकाइ केन्द्र निर्माण गरेर मात्रै पठनपाठन सुचारु गर्ने निर्णय भएको छ,’ उनले भने, ‘यसका लागि सामग्रीहरू आएपछि निर्माण सुरु गरेर मात्रै पठनपाठन अघि बढाउँछौं।’

शिक्षा शाखा प्रमुख मल्लका अनुसार पालिकामा ६३ वटा भवनका १६३ कक्षाकोठा पूर्ण क्षति भएका छन् भने ३१ वटा भवनका १०४ वटा कक्षाकोठामा आंशिक क्षति पुगेको छ। ‘आंशिक क्षति पुगेका कक्षाकोठामा पनि विद्यार्थी राखेर पढाउन सक्ने अवस्था छैन,’ उनले भने, ‘पहिले अस्थायी सिकाइ केन्द्र निर्माण गरेर मात्रै विद्यार्थी विद्यालयमा बोलाउँछौं।’ जाजरकोटकै नलगाड नगरपालिकामा पनि पठनपाठन सुरु भएको छैन। शिक्षा शाखा प्रमुख बलवीर विकले विद्यालय खुले पनि पठनपाठन नभएको बताए। नलगाडमा ७१ सामुदायिक विद्यालय र तीनवटा संस्थागत विद्यालय छन्।  

प्रकाशित: ५ मंसिर २०८० ०६:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App