९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सन्तानबाट अपहेलित आमा आश्रममा!

श्री रामजानकी शान्ति वृद्धाश्रममा आश्रित महिला। तस्बिर: अमर/नागरिक

हरेक आमाबुबाको चाहना हुन्छ-बुढेसकालको सहारा छोरीछोरी बन्न सकून्। सानोमा मायाममताले हुर्काएको, उचित शिक्षादीक्षा दिएका छोराछोरीको सहारा बन्नुको सट्टा अपहेलित भएर थुप्रै आमाबुबाले वृद्धाश्रम पुग्नुपरेको छ।

परिबन्धमा परेर सुनसरी रामधुनी ५ की ७३ वर्षीया कृष्णमाया मगर वृद्धाश्रममा बस्दै आएकी छन्। पतिको निधन भएपछि भएको एउटा छोरा काठमाडौंतिर बस्न थालेपछि बाध्य भएर उनी यतिबेला इटहरी १७ पकलीमा सञ्चालित श्री रामजानकी शान्ति वृद्धाश्रममा बस्दै आएकी छन्। उनी त्यहाँ बस्न थालको तीन वर्ष बित्यो। विगतमा देखेका–भोगेका अनुभव र सम्झना विस्तारै बिर्सदै गएकी उनले छोराछोरीको प्रसंग निकाल्नेबित्तिकै भन्छिन्, ‘जन्म दिने बुबाआमालाई नहेर्ने छोराछोरीको कहिल्यै राम्रो हुँदैन्।’

कृष्णमाया जस्तै झापा घर भएकी ७० वर्ष पार गरेकी मेनुका लुइँटेल पनि ६ वर्षदेखि पकलीकै वृद्धाश्रममा बस्दै आएकी छन्। उनका पति पनि विवाह गरेको केही वर्षमै बिते। भएकी एउटा छोरीलाई दुःख गरेर उनले हुर्काइन्।

यतिबेला छोरीको विवाह भइसकेको छ। छोरीको विवाह भएपछि आमालाई चासो दिन छाडिन्। त्यसपछि उनी गाउँलेको सहारामा आश्रममा आएर बस्न थालेकी हुन्। उनलाई बेलाबेलामा छोरी आश्रममै भेट्न आउने गर्छिन्, तर उनी भने आफूलाई भेट्न नआउनु भनेर कड्किने गर्छिन्। ‘आमालाई हेलाँ गर्ने छोरी किन आश्रममा भेट्न आउनु?’, मेनुकाले छोरीलाई भेट्न आएपिच्छे वचन लगाउने गर्छिन्। उनी विगतलाई सम्झदै भन्छिन्, ‘कस्तो अभागी परिएछ।’

भोजपुर देउरालीकै ७१ वर्षीया चन्द्रकला पाण्डेको पनि एउटी छोरी थिइन्। कक्षा १२ सम्म दुःख गरेर पढाइन्। उनकै भाषामा भन्दा गाउँकै अधिकारी बाहुनसँग विवाह गरिन्।

छोरी-ज्वाइँ झापाको बिर्तामोडमा बस्छन्। छोरी पढाउँदा पहिल्यै राष्ट्रिय वाणिज्य बैंकबाट १५ हजार लिएको ऋण तिर्न नसक्दा घरजग्गा पनि लिलाम भएपछि भौंतारिएर उनी इटहरी झरिन्। केही वर्षसम्म काम गर्न सक्दासम्म इटहरीमा डेरा पनि बसिन्। यतिबेला भने उनी आश्रमै बस्दै आएकी छन्। छोरीज्वाइँका घरमा बेलाबेला बिर्तामोड जाने गर्छिन्।

आश्रममा कतिपय छोराछोरीबाट अपहेलित भएर बसेका छन्। कतिपय भने छोराछोरी र आफन्त गुमाएकै कारण पनि बस्ने गरेका छन्। इटहरी ५ की इन्दिरा सुवेदीका नजिकका आफन्त कोही पनि छैनन्। उनको पहिलो सन्तान छोरी ११ महिना हुँदा बितिन्।

छोरीको घटना भएको वर्ष दिनपछि पतिको निधन भयो। यसपछि माइतीका बुबाआमा र त्यसपछि एकजना दाजुको पनि निधन भयो। ‘कोही नभएपछि माइली दिदीले धेरै वर्ष पाल्नुभयो’, उनले भनिन्, ‘दिदीको पनि निधन भएपछि आश्रममा आएर बसेको पनि १३ वर्ष बितिसकेछ।’

२४ वर्षअघि पकलीमा खुलेको श्री रामजानकी शान्ति वृद्धाश्रममा यतिबेला १५ जना आमा बस्दै आएका छन्। उनीहरूका निम्ति एकजना खाना पकाउने र खुवाउने तथा एकजना सरसफाइ गर्ने कर्मचारी खटाउने गरिएको छ।

आश्रम दाताकै सहयोगबाट सञ्चालनमा रहेको सञ्चालक समितिका अध्यक्ष ठगेन्द्र आचार्यले बताए। उनका अनुसार आश्रममा ३० जना अटाउन सक्ने क्षमता रहेको छ।

प्रकाशित: ४ मंसिर २०८० ०४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App