लमजुङ- माथी हेर्दा आकाशै छोए झैं लाग्ने अग्लो चट्टाने पहरा, तलहेर्दा आङ्गै सिरिङ्ग हुने छङ्गाछुर भीर अनि मसिनो धागो जस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी नदी। मस्र्याङ्दी नदीको किनारै किनार बेसीसहरदेखि हिमालपारीको मनाङ पुग्ने अत्यन्तै जोखिमपूर्ण सडक । सोही सडकमा दैनिक सयौं यात्रु ज्यान हत्केलामा राखेर यात्रा गर्छन्।
लमजुङ सदरमुकाम बेसीसहर देखि मनाङसम्म पुग्ने सडकको स्तरोन्नति हुन नसक्दा सो बाटोमा ओहोरदोहोर गर्ने यात्रु जोखिमपूर्ण यात्रा गर्न वाध्य छन्। लमजुङको खुदी, भुलभुले, स्याँगे, जगत, च्याम्चे हुँदै मनाङको तालबजार, तिमाङ हुँदै मनाङ सदरमुकाम चामेबजार, भ्राताङ, पिसाङ, माथिल्लो मनाङ र त्यसमाथिको खाङ्गसारसम्म जीपयात्रा गर्ने सुविधा छ । बेसीसहर–चामे ६५ किलोमिटर, चामे–माथिल्लो मनाङ ३५ किलोमिटर र माथिल्लो मनाङदेखि खाङ्गसारसम्म करिब ७ किलोमिटर सडकखण्ड गरी करिब १ सय ७ किलोमिटर यात्रा निकै जोखिमपूर्ण रहेको यात्रुहरु बताउँछन् । व्यक्तिगत कामकाज, घुमफिरदेखि व्यापार–व्यवसाय गर्ने, सरकारी तथा गैह्रसरकारी निकाय र विद्यालयका शिक्षक, कर्मचारीहरु यस सडकका नियमित यात्रु हुन् । अधिकाँश सडकखण्ड चट्टाने पहरो काटेर बनाईएकाले निकै जोखिमपूर्ण छ भने अग्लो भिर, स–साना मोडहरु, ग्रेडिङ नमिलेको र साँघुरो भएकाले थप जोखिमपूर्ण भएको लोकप्रिय मावि चामेका शिक्षक सुरेश थापा बताउँछन्।
लमजुङतर्फका ताघृङ, स्याँगे, अर्खले, च्याम्चे र जगतखण्ड र मनाङतर्फका तालबजार आसपास, म्यार्दीभीर, तिमाङ छहरा, तिमाङभीर, भ्राताङ–स्वर्गद्वारी खण्ड सो सडकका उच्च जोखिमयुक्त ‘प्वाईन्ट’ भएको डिभिजन सडक कार्यालय दमौलीका इञ्जिनियर गौतम श्रेष्ठ बताउँछन् । सडकखण्डका अप्ठ्यारा केही ठाउँमा कंक्रिट गरिएको र कतिपय स्थानमा ढुंगा ‘सोलिङ्ग’ गरेर सजिलो बनाईएको उनी बताउँछन् । ठूलो सवारी गुडाउन निकै असहज हुने भएकाले सो सडकमा मुख्यगरी जीपहरु नै चल्ने गर्दछन् । नेपाली सेनाको सडक निर्माण कार्यदल गणले ट्रयाक खुलाएपछि ०६९ साल देखि सो सडकमा गाडी गुडाईएको भएपनि सडक कतै निकै साँघुरो, कतै छङ्गाछुर भीर त कतै पहरो कोपेर बनाईएको सानो गल्छी र उकालो जस्ता अनेकौं अप्ठ्याराहरु भएकाले सो सडकको यात्रा निकै जोखिमपूर्ण रहेको जिपचालक चालक टिकाराम नेपाली बताउँछन् । तत्कालिन नेपालीसेनाको सडकनिर्माण कार्यदलले २०६९ सालमा निमार्णकार्य सम्पन्न गरी सडक डिभिजन कार्यलय दमौलीलाई हस्तान्तरण गरेको हो । त्यसयता सो सडकको स्तरोन्नति हुन नसक्दा विशेषगरी मनाङका स्थानीयबासी निकै निराश बनेका छन्।
लमजुङ–मनाङ सडकमा दैनिक कम्तीमा ७० वटा जीप गुड्ने गरेका मस्र्याङ्दी यातायात एण्ड ट्रान्सपोर्ट कम्पनीका कार्यालय प्रमुख जि.बि.घिमिरे बताउँछन् । राजमार्गमा गुड्ने ठुलो बस गुड्न नसक्ने भएकाले सो सडकमा साना सवारी साधनले यात्रु तथा सामान ढुवानी गर्दै आएको उनले बताए । आफ्नो कम्पनीमा बोलेरो जीप ७० वटा, एलएक्स र एक्सएलएक्स १० वटा गरि कूल ८० थान सवारीसाधन दर्तामा रहेको घिमिरे बताउँछन् । नियमित गुडाउने चालक बाहेक बाहिरबाट आउने चालकले सो सडकमा सवारी गुडाउन निकै जोखिम ठान्ने भएकाले पनि सोही रुटका सवारीले नै यात्रु आवतजावत गर्ने गरेको चालक यामबहादुर गुरुङ बताउँछन्।
ठाउँ–ठाउँमा रहेका मोडहरुलाई फराकिलो बनाउने, खोला, खोल्सीमा आवश्यकता अनुसार कजवे, कल्भर्ट र पुलहरु निर्माण गर्नुपर्ने, ग्रेडिङ्ग मिलाउने र आवश्यकता अनुरुप केहीस्थानमा फराकिलो बनाउने जस्ता कार्य गरेमा सडक सुविधाजनक र जोखिममुक्त हुने भएकाले सडक विभागले ध्यान दिनुपर्ने मनाङ तालका बासिन्दा राजन गुरुङ बताउँछन् । लमजुङ–मनाङ सडकखण्डमा हालसम्म एक दर्जन सवारी दुर्घटना भएकोमा ६ जना यात्रुले ज्यान गुमाएको मनाङ प्रहरीले जनाएको छ।
प्रकाशित: ९ पुस २०७४ १२:४३ आइतबार