कर्णाली प्रदेशका पहाडी जिल्लामा रहेका पानी घट्ट विस्तारै लोप हुँदै गएका छन्। केही वर्ष पहिले पर्याप्त मात्रामा देखिने पानी घट्ट अहिले लोप हुने अवस्थामा पुगेका हुन्।अपवादबाहेक अधिकांश गाउँघरका पानी घट्ट बन्द अवस्थामा छन्।
‘उतिबेला ग्रामीण बस्तीका लागि पानी घट्ट महत्वपूर्ण मानिएको थियो। मकै, गहुँ, कोदो, फापर, चामल लगायतका गेडागुडी पिसेर पिठो बनाउन पानी घट्ट र जाँतो निकै उपयोगी हुँदै आएको थियो।
जाँतोको विकल्पमा प्रयोग हुने गरे पनि पानी घट्ट ग्रामीण क्षेत्रका लागि महत्वपूर्ण साधनका रूपमा लिने गरिएको दैलेखका नविन विष्टले बताए।
पहाडी क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल्ने घट्टमा स्थानीय बासिन्दाले गहुँ, कोदो, चामल, मकै र फापरलगायतका अन्न पिसानी गर्ने गर्दथे। अहिले विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानी घट्ट लोप हुन थालेको विष्टको भनाइ छ।
‘पानी घट्ट, जाँतो र ओखलसँग हाम्रो नजिकको सम्बन्ध छ। यसको संरक्षण र संवर्द्धन आवश्यक छ’, कालिकोटका भीम सुनारले भने, ‘लोप हुने अवस्थामा पुगेका यस्ता वस्तुलाई संरक्षणमा राख्न सके भावी सन्ततिका लागि इतिहास बन्न सक्छ।’
त्यस्तै ग्रामीण बस्तीको अर्को महत्वपूर्ण साधन भनेको ओखल पनि हो। पिसानीका लागि पानी घट्ट र जाँतो जस्तै कुटानीको माध्यम ओखल हो। अहिले पुरानो पानी घट्ट, जाँतो र ओखलको अस्तित्व हराउँदै गएको छ।
त्यस्तै जाजरकोट, दैलेख, कालिकोट, जुम्ला, रुकुम सल्यानलगायतका कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका सयौं घट्ट आधुनिकतासँगै बन्द हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् ।
प्रकाशित: ३ मंसिर २०८० ०३:२३ आइतबार