१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

छठको दोस्रो दिन खरना पूजा सम्पन्न

काठमाडौं लगनटोलकी बेबीले खरना पूजा गर्दै साथमा परिवार तथा साथीहरू।तस्बीरः रुबी

हिन्दुहरूको महान् पर्व छठको दोस्रो दिन शनिवार व्रतालुहरूले खरना पूजा गरेका छन्।काठमाडौँको लगनटोलकी बेबी गुप्ताको घरमा शनिवार खरनाको प्रसाद ग्रहण गर्न श्रद्धालु तथा भक्तजनहरूको जमघट भएको थियो।उनको घरमा पहाडी र मधेसी दुवै समुदायका भक्तजनहरूको उपस्थितिले छठ पर्वलाई उत्सवमय बनाएको थियो।

छठ परमेश्वरीको व्रतालुहरूको घरमा आगमन खरनाकै दिन हुने भएकोले यसलाई पहिलो छठ भनिने गरेको व्रतालु बेबीले बताइन्।उनले खरना पूजा केराको पातमा गहुँको रोटी, केरा, रसियाव अर्थात गुड र साठीको चामलले पानीमा बनेको रसियाव, ऋतु अनुसारको फल ,मुला आदि छठ परमेश्वरीलाई चढाएर धुपदिप बालेर पूजा गरिन्।उनलाई पूजाको सामाग्री व्यवस्थापनमा उनका पति मनोज गुप्ता, काका , काकी तथा साथीहरूले सघाइरहेका थिए।

यस दिन देखिनै व्रतालुहरूले दिनभरि चोखो निराहार बसेर साँझ खरना पुजा गरेर मात्र केराको पातमा चढाएको प्रसाद खानु पर्ने बेवी बताउँन्छिन्।पुज पछि उनले सोही प्रसाद आफू पनि खाइन् र अन्य सबैलाई बाँडिन्।

चोखोपन र शुद्धताको विशेष ख्याल राख्नु पर्ने यस चार दिने छठ पूजामा खरनाका दिन नयाँ वस्त्र लगाई धारण गरि प्रसाद खानु पर्ने उनले बताइन्।कात्तिक शुक्ल पञ्चमीका दिनलाई खरना भनिन्छ । व्रतालुले पूजा गरेपछि यही प्रसाद सबैलाई बाँडेर खानु पर्छ।उनको घरमा छठ परमेश्वरीको गीतले सबैको मन आनन्दित बनेको थियो । उनका बाल्यकालको साथी मनीषा मानन्धर ताम्राकारलाई बेबीले खरना पूजा गरेसँगै नाकदेखि सिउँदो सम्म पहेँलो सिन्दूर लगाइदिइन्।अन्य अविवाहित महिला र परुषलाई टिका लगाएर आशिष दिइन्।खरना पूजाका बखत आफू सबैले व्रतालुको हातबाट टिका लगाएर आशिरबाद लिनु पर्छ।

यस दिन व्रतालुले विवाहित महिलालाई नाकदेखि सिउँदो सम्म सिन्दूर लगाइदिने पतिको आयु लामो हुने विश्वास छ।‘म वीरगन्जमा जन्मे हुर्केकोले छठ माताको महिमा मलाई राम्री थाह छ। नाकदेखि सिउँदो सम्म सिन्दूर लगाउँदा छठी माईको आशिष सधैँ साथमा रहने र श्रीमानको आयु लामो हुने तथा निरोगी हुन्छ,’ मनीषाले भनिन् ‘बाल्यकाल देखिनै म वीरगन्जमा छठ घाटमा गएर पूजा गर्थे। माताले मनोकामना पुरा गर्नु हुन्छ । मेरो सबै मनोकामना छठी माईले पुरा गर्नु भएको छ। ’

कात्तिक शुक्ल चौथीका दिन नहाइखाय गरि सुरु भएको छठ पूजाको तेस्रो दिन आइतबार साझिया घाट हो । यस दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा गर्छन् । भने कात्तिक सप्तीमाका दिन उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा सम्पन्न गर्छन्।

‘खरनामा दिनभरि निराहार बसेर साँझ खरना पूजा गरेर विना नुनको प्रसाद खानु पर्छ,’ व्रतालु बेबीले भनिन् ‘षष्ठीका दिन दिनभरि निराहार ब्रत बस्नु पर्छ । यस दिन परिवारका सबै सदस्य मिलेर छठ मातालाई मन पर्ने ठेकुवा, पुरी, कसार लगाएतका मुख्य प्रसाद बनाउँछौँ।

 फलफुल लगाएतका पूजा सामाग्री दिएर नदी किनार घाटमा गएर पूजा गर्नु पर्छ। सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा गरेर मात्र नुन हालेको खाना खानु पर्छ।’ तर काठमाडाैका नदी, पोखरीहरू निकै दुर्गन्धित भएकोले अचेल धेरै भक्तजनहरू घरमै छठ पूजा गर्न बाध्य बनेको उनको भनाई छ। 

हाम्रो घर नजिकको टंकेश्वर नदीमा ढल बग्छ, ’बेबीले गुनासो गरिन् ‘ काठमाडाैको मेयरले कम्तीमा छठ पुजालाई लक्षित गरि पोखरी, नदीहरु सफा गराउनु पर्थ्यो।त्यसो भएन।अब म पनि घरमै पोखरी जस्तो बनाएर पूजा गर्ने तयारी गरेकी छु। ’

प्रकाशित: २ मंसिर २०८० १६:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App