– मेलम्ची खानेपानीको सुरुङ निर्माण गर्न नेपाल सरकारले सन् २००१ मा एसियाली विकास बैंक (एडिबी)सँग ऋण सम्झौता ग¥यो । सम्झौताअनुसार सन् २००७ मा मेलम्चीको खानेपानी काठमाडौं उपत्यका भित्रिसक्नुपथ्र्यो । तर, उपत्यकामा खानेपानी भिœयाउने लक्ष्य राखिएको समयसम्म सुरुङ निर्माण समेत हुन सकेन।
– नेपाल सरकार र एडिबीबीच सन् २००८ मा आयोजना पुनर्संरचना गर्ने सहमति भयो । सम्झौतामा आयोजनालाई दुई भागमा बाँडेर सन् २०१३ सेप्टेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखियो । त्यस अवधिमा पनि लक्ष्य पूरा हुन सकेन।
– सन् २००९ मा चिनियाँ ठेकेदार कम्पनी चाइना रेल–वेसँग भएको सम्झौताअनुसार २०१३ सेप्टेम्बरभित्रै सुरुङ निर्माण सम्पन्न हुनुपथ्र्याे । तर, चिनियाँ कम्पनीले साढे ६ किलोमिटर मात्रै सुरुङ निर्माण गर्यो । चिनियाँ कम्पनीले समयमै निर्माण सम्पन्न गर्ने नदेखेपछि २०१२ सेप्टेम्बर २५ मा ठेक्का तोडियो।
– नेपाल सरकारले बाँकी सुरुङ निर्माणका लागि इटालीको को–अपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सिएमसी)सँग २०१३ जुलाई १५ मा सम्झौता ग¥यो । सम्झौताअनुसार सन् २०१६ अक्टोबरसम्म सुरुङ निर्माण सकिनुपथ्र्यो । भूकम्प र नाकाबन्दीका कारण देखाएर ठेकेदारले समयमै काम सकेन।
– सरकारले यही डिसेम्बरसम्म मेलम्ची आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर, हालसम्म मेलम्चीको पानी उपत्यकामा आउन सकेको छैन । मेलम्ची आयोजनाले अहिलेका समयसीमालाई पछि सार्दै आगामी मार्चमा उपत्यकामा पानी ल्याउने लक्ष्य तय गरेको छ । तर, त्यसबेला पनि उपत्यकामा मेलम्चीको पानी भित्रिने यकिन भने छैन।
मेलम्चीसम्बन्धी यी विवरणले उपत्यकावासीको खानेपानी सपना बारम्बार पछि धकेलिँदै गएको देखाउँछन् । कहिले यो त कहिले त्यो बहानामा मेलम्ची आयोजना सम्पन्न हुने म्याद लम्बिँदै गएको छ । अंग्रेजी पात्रोअनुसार यही डिसेम्बरमा सम्पन्न हुने भनिएको मेलम्चीको काम फेरि एकपटक लम्बिएको छ । मेलम्ची आयोजनाले आगामी मार्चभित्र काम सम्पन्न गरी उपत्यकामा खानेपानी भिœयाउने लक्ष्य राखेको छ । त्यसबेला पनि काम सकिने निश्चित भने छैन।
ठेकेदार कम्पनीले बारम्बार बहानाबाजी गरेर पटकपटक म्याद गुजार्दा उपत्यकावासीको खानेपानी सपना अधुरो रहँदै आएको छ । यसअघि मेलम्ची खानेपानी उपआयोजना र ठेकेदार कम्पनीले गत दसैँमै उपत्यकामा खानेपानी भिœयाउने सहमति गरेका थिए । तर, ठेकेदार कम्पनीले सम्झौताअनुसार सुरुङ निर्माण र बाँध बनाउने काम सम्पन्न गर्न नसक्दा उपत्यकावासीले दसैँमा मेलम्चीको पानी प्रयोग गर्ने अवसर पाउन सकेनन्।
हाल आएर मेलम्ची खानेपानी उपआयोजनाले २०७५ वैशाखमा उपत्यकामा खानेपानी भिœयाउने सपना बाँडिरहेको छ । त्यसबेलासम्म पनि काम सम्पन्न हुने पर्याप्त आधार भने छैन।
उपआयोजनाका अनुसार अझै ६ सय २१ मिटर सुरुङ खन्न बाँकी छ । सिएमसीले अहिले दैनिक १५ मिटर सुरुङ खन्दै आइरहेको छ । ‘सुरुङ सकेर मात्रै पानी ल्याउन सम्भव छैन, सुरुङभित्र भुइँ ढलानदेखि पाइपलाइन बिछ्याउने सबै प्राविधिक काम सम्पन्न गर्नुपर्ने हुन्छ,’ उपआयोजनका एक इन्जिनियरले भने, ‘बारम्बार बहाना गर्ने ठेकेदारले समयमै काम गर्ला भन्ने आधार अझै देखिँदैन।’
उनका अनुसार मेलम्चीको हेडवक्र्स (बाँध) क्षेत्रमा वैशाखसम्म स्थायी ड्याम बनाउन सकिँदैन । त्यसले वैशाखमा नै पानी आउने सम्भावना कम छ । ‘मेलम्चीको मुहान क्षेत्रमा वैशाखभित्रै स्थायी खालको संरचना बनाएर पानी ल्याउन सकिँदैन,’ मेलम्ची खानेपानी उपआयोजना कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने, ‘अहिले अस्थायी ड्याम बनाइरहेका छौँ, तत्कालका लागि अस्थायी बाँधबाट ल्याउने तयारी गरेका छौँ ।’
ठेकेदारले मेलम्चीको ‘हेडवक्र्स’ क्षेत्रमा अत्यावश्यक पर्ने स्थायी खालका ‘हेडवक्र्स डाइभर्सन टनेल’, ‘स्टेलिङ बेसिन इन्टेक’ अर्थात् पानी थिग्राउने ट्रयांकी, ‘बेडलोड एक्सकुडर बेसिन’ अर्थात् ढुंगा र बालुवा छान्ने प्रविधि, पुल लगायत संरचनाको अहिलेसम्म निर्माण गर्न सकेको छैन।
अस्थायी ड्यामदेखि खोलाको ‘डाइभर्सन’ गरी मेलम्चीको सुरुङ जोड्ने मार्ग बनाउन आवश्यक हुने प्राविधिक बताउँछन् । उनीहरूका अनुसार अस्थायी बाँध बनाएर मात्रै पानी ल्याउन सम्भव छैन । सुरुङको मुख्यद्वार र अस्थायी बाँधबीचको ६० मिटर क्षेत्रमा एक दशमलव ६ मिटर व्यासको पाइप राख्नुपर्छ । उपआयोजनका अनुसार अझै पनि ६० मिटरको पाइप जडान सुरु भएको छैन।
सुरुङ खनिसकेपछि सुरुङको ‘इन्भर्ट’ अर्थात् भुइँको ढलान, ‘फिनिसिङ’, ‘गेट भेन्टिलेटर’ निर्माण, ‘अप्टिकल फाइबर’ बिछ्याउने, ‘क्लोज सर्किट क्यामेरा’ अर्थात् सिसिटिभी क्यामेरा राख्ने र ‘ट्रिटमेन्ट प्लान्ट’ बनाउने काम बाँकी नै रहन्छन् । यी सबै काम सकेपछि मात्र सुरुङमा पानी हाल्न सकिन्छ।
उप–आयोजनाका अनुसार अम्बाथानस्थित ‘हेडवक्र्स’देखि ग्याल्थुमसम्म करिब एक सय २१ मिटर र ग्याल्थुमदेखि ‘सिन्धु अडिट’सम्म पाँच सय मिटर सुरुङ खन्न बाँकी छ । अहिले चार ठाउँबाट सुरुङ खन्ने काम भइरहेको छ । ठेकेदारले हालसम्म साढे दुई किलोमिटर सुरुङ प्लास्टर गरिसकेको छ।
देवकोटा सुरुङमार्गको ‘प्लास्टर’ र ‘फिनिसिङ’ सोचेअनुसार अघि बढ्न नसकेको स्विकार्छन् । ‘सुरुङ निर्माण अन्तिम चरणमा पुगिसकेको छ,’ उनले भने, ‘सुरुङको ‘प्लास्टर’ र ‘फिनिसिङ’ सोचेअनुसार अघि बढ्न सकेको छैन, ठेकेदारलाई गति बढाउन निर्देशन दिएका छौँ।’
‘प्लास्टर’ र ‘फिनिसिङ’का लागि हाल तीनवटा ‘ट्रान्जिट मिक्स्चर’ निर्माणस्थलमा ल्याइएको छ । आठवटा यस्ता मेसिन ल्याउने ठेकेदारको योजना छ । एउटा ‘ट्रान्जिट मिक्स्चर’ले दैनिक एक सय मिटर सुरुङ ‘फिनिसिङ’ गर्ने ठेकेदारको दाबी छ।
मेलम्ची खानेपानी उपआयोजना आयोजना कार्यान्वयन निर्देशनालय प्रमुख तिरेशप्रसाद खत्री उपत्यकामा पाइपलाइन विस्तारको काम अन्तिम चरणमा पुगेको बताउँछन् । ‘पहिलो चरणको पाइप बिछ्याउने काम फागुनसम्म सकिन्छ,’ उनले भने, ‘अहिले धमाधम ‘भल्भ’ जडान र वितरण प्रणाली बनाइरहेका छौँ।’
उनका अनुसार पहिलो चरणअन्तर्गत ९३ प्रतिशत पाइपलाइन बिछ्याइसकिएको छ । ‘मेलम्चीको पानी आउनेबित्तिकै वितरण गर्ने तयारीमा छौँ,’ उनले भने, ‘नयाँ पाइप जडान गरेको ठाउँमा नयाँ सञ्जालबाट र बाँकी स्थानमा पुरानै सञ्जालबाट वितरण गरिनेछ।’
खत्रीका अनुसार उपत्यकाका ६ सय ‘भल्भ’मध्ये दुई सयको निर्माण भएको छ । मेलम्ची सुरुङको कुल लम्बाइ २७ दशमलव ५८ किलोमिटर छ । आयोजना पूरा भएपछि मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा भित्र्याइनेछ।
प्रकाशित: ७ पुस २०७४ ०५:४० शुक्रबार