७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

राहत दिनेलाई भूकम्प पीडित भन्छन्, ‘तपाईहरु वास्तविक भगवान हुनुहुन्छ’

तरकारी केलाउँदै जाजरकोट, भेरी नगरपालिका वडा नम्बर १ का भूकम्प पीडित। तस्बिर: अर्जुन ओली/नागरिक

‘हामी विपदमा परेका बेला राहत ल्याएर आउने तपाईहरु वास्तविक भगवान हुनुहुन्छ, तपाईको सधैं भलो होस्,’ राहत लिएर पुगेका दातासँग भेरी नगरपालिका–१ जाजरकोटकी ६६ वर्षीया बृद्धा भजी रानाले आँसु खसाल्दै भनिन्।

नेपाल भारत मैत्री संघ केन्द्रीय समितिले पठाएको राहत सामाग्री वडालाई हस्तान्तरण गर्ने क्रममा त्यहाँ पुगेकी उनले यो उमेरसम्म कसैसँग पनि मागेर खानु नपरेको स्मरण गर्दै विनाशकारी भूकम्पले आफ्नो जीवनको अन्तिमतिर अरुको भरमा बाँच्न बाध्य पारेको दुखेसो पोखिन्। ‘यो उमेर भयो अहिलेसम्म भुइँचालो आएको थाहा थिएन, मर्ने बेलामा घरबार बिहिन भयौं,’ वृद्धा भजीले नागरिकसँग भनिन्, ‘दुःखको बेलामा हाम्रो पेट भरिदिने तपाईहरु वास्तविक भगवान नै हुनुहुन्छ।’

भूकम्पले घर ध्वस्त पारिदिएपछि उनको परिवारले अहिले विस्थापित जीवन बिताइरहेको छ। राहतको नाममा उनले सानो त्रिपालको टुक्रा पाएकी छन्। तर, त्यो त्रिपालले ८ जनाको परिवारलाई सित ओत्न पुग्दैन। जसले गर्दा रुखको साहारा लिनु परेको भविले दुखेसो पोखिन्। ‘भुइँचालो आएको दिनदेखी बाहिरै खान्छौं, बाहिरै सुत्छौं, घरमा म सहित ८ जनाको परिवार छौं, सानो त्रिपाल पाएका छौं, तर सबैलाई सुत्न पुग्दैन,’ बाँचुञ्जेल यस्तो विपतीमा नपरेकी उनले सुस्केरा हाल्दै भनिन् ‘के मर्ने दिन आइगे।’  नेपाल–भारत मैत्री संघले भूकम्प प्रभावित भेरी नगरपालिका–१ रिम्ना गाउँका २ सय ४० घरधुरी र आठविसकोट नगरपालिकामा रहेका ५ सय ६० घरधुरीका लागि करिव १२ लाख रुपैयाँ बराबरको राहत सामाग्री (ब्ल्यांकेट तथा खाद्यान्न) हस्तान्तरण गर्यो।

संघका केन्द्रीय पदाधिकारीको टोली पुगेर जाजरकोटको रिम्ना गाउँ र रुकुम (पश्चिम)स्थित आठविसकोट नगरपालिकामा पुगेर उक्त सामाग्री हस्तान्तरण गरेको थियो।

जाजरकोट र रुकुम(पश्चिम)का भूकम्प प्रभावितको पीडामा मल्हम लगाउन अचेल देशका विभिन्न ठाउँबाट सहयोगी दाताहरु राहत सामाग्री लिएर आउने गरेका छन्। भारत र चिन सरकारले पठाएको राहत सामाग्री पनि प्रभावित क्षेत्रमा पुगिसकेको छ।

विश्वभर रहेका नेपालीले समेत विभिन्न माध्यमबाट पठाएको राहत सामाग्री प्रभावित क्षेत्रमा पुगेको छ। कोहलपुर–छिन्चु–सल्लीबजार हुदै जाजरकोट तथा रुकुम(पश्चिम)को सडक खण्डमा दैनिक रुपमा ठुलो संख्यामा राहत सामाग्री बोकेका सवारी साधनहरु गुडिरहेका छन्। उक्त सडक खण्डमा राहत बोकेर लैजाने र फर्किने सवारी साधनको चहल धेरै बढेको छ । अधिकांस सहयोगी दाता स्थानीय सरकार( वडा वा पालिका) तथा जिल्ला विपद ब्यवस्थापन समितिलाई सामाग्री हस्तान्तरण गरेर फर्किन्छन् भने कतिपयले आफ्नै हातले बाँडेर फर्केको पनि पाइएको छ।  

भूकम्प पीडितको अवस्था देखेर राहत लिएर गएका दाता नै भावुक हुन्छन्। संघकी वरिष्ठ उपाध्यक्ष शर्माले भूकम्प पीडितको अवस्थाले आफुलाई भावुक बनाएको बताइन्। आफुहरुले ल्याएको राहत एकद्धार प्रणाली अनुसार स्थानीय सरकार(नगरपालिका र वडा कार्यालय)को जिम्मा लगाइएको सुनाइन््। उनले भनिन्, ‘हामीले एकद्धार प्रणाली अनुसार नै राहत बाँड्यौं, स्थलगत निरीक्षण गर्ने क्रममा भूकम्प पीडितको अवस्था बुझ्दा राहत यति धेरै आएको छ, प्रत्यक्ष हेर्दाखेरी पाउनु भएको छैन, कसैले धेरै लग्यो, कसैले थोरै लग्यो भन्ने गुनासो छ।’

दाताबाट राहत पाएपछि आठविसकोट नगरपालिकाकी नगर उपप्रमुख शाही र भेरी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष दिपक रानाले आफुहरुको पीडामा मल्हम लगाउने दाताहरुप्रति कृतज्ञता ब्यक्त गरे र न्यायोचित रुपले सबै पीडितलाई वितरण गर्ने आश्वस्त पारे। ‘भूकम्पबाट जति पीडा झेलिरहेका छौं, सबै सहयोगी संस्थाहरु आईराख्नु भएको छ, राहत सामाग्री मानविय सहयोग अथवा परामर्श सेवा, स्वास्थ्य सेवा लगायत विभिन्न क्षेत्रबाट हामीलाई सहयोग गरिराख्नु भएको छ,’ वडाअध्यक्ष रानाले भने ‘पीडाको बेलामा मल्हम पट्टी लगाइदिनु भएको छ, वडाबासीको तर्फबाट कृतज्ञता प्रकट गर्दछौं, प्राप्त भएको राहत सामाग्री न्यायोचित ढंगले वितरण गरेका छौं।’  

प्रकाशित: २६ कार्तिक २०८० ०८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App