२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

परिवारै गुमाएका ६ बालबालिका, कोही नभएपछि वडाध्यक्ष र आफन्तको संरक्षणमा

बायाँबाट क्रमश बादल पुन,शीतल पुन,प्रेमकल्ली विक, राजेन्द्र टमटा र लक्ष्मण टमटा।

कार्तिक १७ गते  राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ६ जना बालबालिका अभिभावकविहीन भएका छन्। 

जाजरकोट कुशे गाउँपालिकाका ४ जना र नलगाड नगरपालिकाको २ जना बालबालिका अभिभावक विहीन भएको राष्ट्रिय बाल अधिकार परिषद् कर्णाली प्रदेशका संयोजक डम्बरबहादुर रोकायाले जानकारी दिए।

उनले भने, ‘अहिलेसम्म जम्मा ६ जना बालबालिका अभिभावकविहीन भएको भन्ने जानकारीमा आएको छ। उनीहरुलाई अहिले आफन्तकोमा राखिरहेका छौँ। आफन्त पनि नहुँनेहरुलाई बाल संरक्षण समितिले जिम्मेवारी लिएको छ। भौगोलिक विकटताका कारण समन्वय गर्न गाह्रो भइरहेको छ। तर हामीले प्रयास गरिरहेका छौँ। 

अभिभावकविहीन हुनेमा कुशे गाउँपालिका ७ का वर्ष ५ का बादल पुन, वर्ष ३ का शीतल पुन एउटै परिवारका बालक हुन । यसै गरी वर्ष १४ का राजेन्द्र टमटा र वर्ष १७ का लक्ष्मण टमटा एउटै परिवारका हुन।

कुशे गाउँपालीकाका बाल कल्याण अधिकारी किरण आरसीका अनुसार बादल र शीतलका बुबा अमृत पुनको भूकम्पका कारण मृत्यु भयो। उनीहरुका आमाको भने यसअघि नै अन्य कारणले मृत्यु भएको थियो। उनीहरुलाई अहिले गाउँको काका पर्नेको घर बस्ने व्यवस्था गरिएको उनले जानकारी दिए।

आरसी भन्छन्, ‘बादल र शीतल एकै परिवारका दाजुभाइ हुन्। उनीहरुका आमाको यसअघि नै मृत्यु भइसकेको थियो। उनीहरूको बुबा अमृत पुनको भूकम्पमा परेर मृत्यु भएको हो। अहिले उनीहरुलाई आफन्तको घरमा राखिएको छ।’

त्यस्तै १४ वर्षीय राजेन्द्र टमटा र १७ वर्षीय लक्ष्मण टमटाको बुबा भने यसअघि नै अन्य कारणले बितिसकेका थिए। उनकी आमा पार्वती टमटाको भने भूकम्पमा परि ज्यान गयो। लक्ष्मण टमटा भने कामको सिलसिलामा भारत गएका थिए। अहिले उनी गाउँ फर्किएका छन्। उनीहरुलाई आश्रय दिने कोही आफन्त नहुँदा वडा अध्यक्ष रामबहादुर सिंहको संरक्षणमा राखिएको छ।

आर.सी भन्छन्, ‘राजेन्द्र र लक्ष्मणको बुबा भने यसअघि नै बितिसकेका छन्। भूकम्पले आमाको पनि मृत्यु भयो। उनीहरूको आफन्त पनि छैनन्। त्यसैले वडा अध्यक्षको संरक्षणमा राखेका छौंं।’ 

यता नलगाड नगरपालिकाकामा पनि भूकम्पबाट २ बालबालिकाले आफ्ना बुवा आमासहित दुई जना दाइलाई गुमाएका छन्। नलगाड–३ की प्रेमकल्ली विक र उनका दाइ कविराज विक अभिभावक विहीन भएका छन्। प्रेमकल्ली ९ वर्षकी भइन् भने उनका दाइ कविराज १७ वर्षका भए।

नलगाड नगरपालिकाका बाल कल्याण अधिकारी प्रदिप रावलका यी दुई बालबालिकाले परिवारका ४ सदस्य गुमाएका छन्।

उनी भन्छन्, ‘कविराज कामको सिलसिलामा भारत गएको हुनाले बाचे। उनीहरुका आमा बुबा र दुई जना दाइहरूको भने भूकम्पमा परेर मृत्यु भएको छ। अहिले उनीहरुलाई काकाले राख्नुभएको छ। अब के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौँ।’ 

प्रकाशित: २४ कार्तिक २०८० ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App