१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

धरानमा एयरपोर्टको फेरि चर्चा,अध्ययन समिति गठन गर्न मन्त्री किराँतीको निर्देशन

राजनीतिक दलहरूले चुनावी एजेन्डा बनाउन पनि छोडी सकेको धरानको एयरपोर्ट पुनः चर्चामा आएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आज बिहीबार धरानमा विमानस्थल निर्माण अध्ययन समिति तत्काल गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्देशन दिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेपछि एयरपोर्टको चर्चा ब्युँतिएको हो।

मेयर हर्क साम्पाङले हिजो बुधवार धरानमा विमानस्थल निर्माण गर्न आवश्यक पहल तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयलाई पत्राचार गरेका थिए। उनले फेसबुकमार्फत पनि पटक पटक मन्त्री किराँतीलाई धरानमा एयरपोर्ट बनाउन दबाब सृजना गरिरहेका थिए।

मन्त्री किराँतीले फेसबुकमा लेखेका छन्,‘धरानमा विमानस्थल निर्माण अध्ययन समिति तत्काल गठन गर्न नागरिक उड्डयन मन्त्रालयका महानिर्देशकलाई निर्देशन गरिएको छ ।’

उनको पोस्ट सेयर गर्दै मेयर साम्पाङले मन्त्री किराँतीलाई धन्यवाद पनि दिएका छन् । मेयर साम्पाङका अनुसार धरानमा एयरपोर्ट बनाउन भन्दै २० वर्षअघि यति इन्करपोरेटेड प्रालिलाई वडा १७ डाँडा घोपाका बासिन्दाले सस्तो मूल्यमा जग्गा बेचेका थिए। तत्कालीन नगर प्रमुख कुमार बहादुर कार्की, पुर्वनगरप्रमुख मनोज मेन्याङ्बो रोहबरमा एयरपोर्ट निर्माण नभए यतिले खरिद गरेकै मूल्यमा जग्गा फिर्ता गर्ने लिखित सम्झौता पनि भएको थियो।लामो समय बित्दासमेत एयरपोर्ट बन्न नसकेपछि स्थानीय जग्गाधनीहरुले सम्झौता बमोजिम जग्गा फिर्ताको माग गर्दे उपमहानगरपालिकामा धाइरहेका छन्।

पीडित जग्गाधनीहरूको बारम्बार ताकेता पछि मेयर साम्पाङले यतिलाई पत्राचार गरेका थिए । यतिले कार्तिक ९ गते उपमहानगरपालिकालाई जवाफ पठाउँदै जग्गा खरिद गरेर विमानस्थल बनाउने प्रयास गरेपनि सरकारबाट अनुमति नपाएको जनाएको थियो।यतिको यो जवाफ पछि बुधवार धरानमा एयरपोर्ट निर्माणको लागि आवश्यक पहल तथा सहजीकरण गर्न आग्रह गर्दे मेयर साम्पाङले मन्त्रालयमा पत्राचार गरेका थिए। 

धरानमा एयरपोर्ट बनाउन यतिले ७ बिघा जग्गा खरिद गरेको थियो भने नगरपालिकाले पनि थप ७ बिघा जग्गा उपलब्ध गराएको थियो । नागरिक उड्डयन प्राधिकरणमार्फत मन्त्रालयले पटक पटक अध्ययनसमेत गरेको थियो । सुरुवातमा ट्विनअटर विमानको लागि एयरपोर्ट बनाउने भनेर अध्ययन भएको थियो भने पछिल्लो समय ४२ सिट क्षमताको विमानको लागि एयरपोर्ट बनाउने भन्दै अध्ययन भएको थियो।उक्त अध्ययनले ९३.२५ बिघा आवश्यक पर्ने प्रतिवेदन आएको थियो । सोही प्रतिवेदन अनुसार एयरपोर्टको लागि जग्गा निःशुल्क उपलब्ध गराउन नागरिक उड्डयन प्राधिकरणले २०७४ असार १ गते उपमहानगरपालिकालाई पत्राचारसमेत गरेको थियो । तर, थप प्रक्रिया भने अघि बढ्न सकेन।

एयरपोर्टको सम्भावना देखिन छोडेपछि पछिल्ला निर्वाचनहरूमा राजनीतिक दलहरूले पनि चुनावी एजेन्डा बनाउन छोडेका छन् भने धराने जनताले पनि एयरपोर्ट बन्ने आशा त्यागिसकेका छन् । तर, एयरपोर्ट बन्ने आश्वासनमा सस्तो मूल्यमा जग्गा बेचेका स्थानीयबासीहरुले सम्झौता बमोजिम जग्गा फिर्ता नपाउँदा अन्याय भएको भन्दै उपमहानगरपालिका धाइरहेका छन्।पीडितहरू आएपछि मेयर साम्पाङले पटक पटक छलफल गरेका थिए भने यति र मन्त्रालयमा पत्राचार गरेपछि पुनः धरानको एयरपोर्ट चर्चामा आएको छ।

प्रकाशित: २३ कार्तिक २०८० १३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App