५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

एन्फा अध्यक्ष नेम्वाङको बर्खास्ती प्रस्ताव अस्वीकृत

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बर्खास्त गर्नुपर्ने प्रस्ताव अस्वीकृत भएको छ।

एन्फाको बिहीबार हेटौंडामा भएको विशेष साधारणसभा अन्तर्गत भएको मतदानमा बहुमतले बर्खास्तीको प्रस्ताव अस्वीकार गरेको हो।

हलचौरका ५६ घरधुरीले अझै पाएनन् राहत

जाजरकोट नलगाड नगरपालिका –८ हलचौरमा रहेका ५६ घरधुरीहरू भूकम्पबाट घरबार विहीन भएको ७ दिन पुगिसक्दा समेत राहत पाउन सकेका छैन।

राहत सदरमुकाम, स्थानीय बजार केन्द्रित र पहुँचवालाको वरिपरि हुँदा अहिलेसम्म हलचौरवासीले राहत पाउन नसकेका हुन्। हलचौरका रामप्रसाद खत्रीले चार दिनदेखि धाउँदा समेत राहत नपाउँदा खल्लो लागेको बताए।

६ महिना बितिसक्दा पनि लुम्बिनी प्रदेशले पाएन पूर्णता 

सरकार गठन भएको ६ महिना पुगिसक्दा पनि लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छैन। मुख्यमन्त्री सहित १० मन्त्रालय रहेको यो प्रदेशमा तीन मन्त्रालय रिक्त छन्।

सरकारलाई पूर्णता दिने प्रयास थाले पनि मुख्यमन्त्री डिल्लीबहादुर चौधरी यो प्रयासबाट निरन्तर चुकिरहेका छन्।

१६ औं योजना बारे सुझाव संकलन  

राष्ट्रिय योजना आयोगले १६ औं योजनाबारे छलफल सुरू गरेको छ। आयोगले बिहीबारदेखि कोशी प्रदेशबाट सुझाव संकलन गर्न थालेको  हो।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सपनाको महलको परिकल्पना गर्ने नभई कार्यान्वयन हुने खालको योजना तयार पार्न आग्रह गरे।

प्रहरी हिरासतमा थुनुवाको रहस्यमय मृत्यु

कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक युवकको रहस्यमय मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नं १६ का ३१ वर्षीय कृष्ण सेट्टिको हिरासतमा मृत्यु भएको हो।

कैलाली प्रहरी कार्यालयका प्रहरी उपरीक्षक देबेन्द्र सिंह पालले बिहीबार बिहान बयान लिने क्रममा कुर्चीमा बसेको बेला बेहोस भएर ढलेको बताए।

मधेसका मुख्यमन्त्रीले बुझाए प्रधानमन्त्रीलाई ६ बुँदे ज्ञापन पत्र

मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले मन्त्रीहरू र राजनीति दलका संसदीय दलका नेताहरू सहित काठमाडौं पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई ६ बुँदे ज्ञापन पत्र बुझाएका छन्।

उनीहरुले बुधबार राती काठमाडौं पुगी बिहीबार दिउँसो प्रधानमन्त्री दाहाललाई ज्ञापन–पत्र बुझाएका हुन्।

पोखराको हिमालयन गल्फ कोर्ष विश्वकै उत्कृष्ट पाँचभित्र 

 पोखराको हिमालयन गल्फ कोर्ष विश्वकै युनिक (नमुना) गल्फ कोर्ष विश्वकै उत्कृष्ट पाँचौ स्थानमा परेको छ। गल्फ ड्राइभ्स डटकम वेबसाइटले विश्वका उत्कृष्ट नमुना गल्फ कोर्षलाई सूचीकृत गरेको हो।

प्रकाशित: २३ कार्तिक २०८० १३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App