१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

गोलो आकारको बिमको बराह ताल ओझेलमा

म्याग्दीको मालिका गाउँपालिका–७,बिमबाङ रहेको बराहा ताल प्रचार–प्रसार तथा पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ।

समुन्द्री सतहदेखि तीन हजार ३ सय मिटर उचाइमा अवस्थित मालिका धुरीको प्रवेशद्वार र प्रभु चेला ध्यान आश्रमको नजिक रहेको बराह ताल प्रचुर पर्यटकीय सम्भावना भए पनि प्रचारप्रसारको अभाव र ताल संरक्षणमा सरोकारवाला निकायले ध्यान नदिँदा प्रकृतिको अनुपम उपहारले पर्यटकलाई तान्न सकेको छैन्।

धौलागिरि हिमाल र नजिकै रहेको मन्दिरको प्रतिबिम्ब देखिने ताल अपार पर्यटकीय सम्भावनाले युक्त भए पनि थप पूर्वाधार सहित पर्यटकलाई तालसम्म ल्याउने योजना नहुँदा पर्यटकको ध्यान खिच्न नसकेको स्थानीय युवा एवम् प्रभु चेला ध्यान आश्रम व्यवस्थापन समितिका सचिव सुरमन गर्बुजाले बताए। ‘मालिकाधुरी पुग्ने पर्यटकलाई यहाँ रोक्ने थप पूर्वाधार आवश्यक छ,‘ एक पटक पुग्ने पर्यटकलाई तालको बनोटले समेत लोभ्याउँछ’ गर्बुजाले भने। उनका अनुसार तालको माथिल्लो पट्टी बराह थान छ।

उक्त थानको नजिकै रहेको पानीको मूलबाट तालमा पानी आउँछ।तालमा जम्मा भएको पानी स्थानीयले सिँचाइमा समेत प्रयोग गर्ने गरेका छन्। तालमा रहेको जलवराहाको पूजाआजा तथा भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको उनले बताए।ताल आसपासका क्षेत्रबाट हिमालको मनमोहक दृश्य र सुन्दर ग्रामीण वस्तीहरुहरु देखिन्छ। ताल साढे तीन मिटरभन्दा गहिरो र समुन्द्री सतहदेखि करिब दुई हजार ३०० मिटरको उचाइमा रहेको छ। तालको चारैतिर ढुङ्गाको आकर्षक पर्खाल निर्माण गरिएको छ। तालसम्म आवतजावत गर्न मिल्ने सडक समेत बनाइएपछि मालिकाधुरी र प्रभु चेला आश्रमसम्म आउने पर्यटकहरूको नजरमा ताल पर्ने गरेको त्यहाँ घुम्न गएका पत्रकार अमित विश्वकर्माले बताए।

 उनले अहिले ओझेलमा परेको ताल नियमित मालिकाधुरी आउने पर्यटकको चाप बढेमा घुइँचो लाग्ने बताए। यस ठाउँमा वि.सं. १९२५ देखि पूजाआजा गर्ने परम्परा रहेको स्थानीयको भनाई छ। बराह ताललाई धार्मिक र पर्यटकीय गन्तव्यको अनुपम स्थल बनाउन सकिने प्रशस्त सम्भावना रहेकाले मालिकाधुरी, प्रभु चेला र ताललाई समेटेर पालिकाले पूर्वाधार सहित प्रचारप्रसार गर्ने गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजाले बताए। 

प्रकाशित: २२ कार्तिक २०८० १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App