२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बन्दुकको आडमा लुटपाट

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-८ रतवारा गाउँमा गएराति एक घरमा डाकाहरूको समूहले बन्दुको आडमा ५० लाख बढीको लुटपाट गरेका छन्।

जयकिशोर चौधरीको घरमा गएराति १ः३० बजे पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच डाकाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर लाखौको लुटपाट गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए।

डाकाहरूले घरधनी ५० वर्षीय जयकिशोर चौधरी, ४८ वर्षीय उनकी पत्नी सीमा, ६७ वर्षीय बुवा भुवनेश्वर र ६५ वर्षीया आमा शैलदेवी चौधरीमाथि पेस्तोल देखाउँदै नियन्त्रणमा लिएर सबैलाई भान्सा कोठामा बन्द गरेका उनले बताए।

मल्लका अनुसार बाँकी कोठाभित्र रहेका दराज, बक्सालगायत तोडफोड गरी लाखौँको सुन, चाँदी र नगद लुटपाट गरेका छन्।

घरको पछाडिबाट घरभित्र छिरेका उनीहरूले भित्र छिर्नेबित्तिकै चारै जनामाथि धारिलो हतियार प्रहार गर्दै टाउको फुटाउनुका साथै हात, मुक्का र लात्तीले पटकपटक हान्दै १ः३० देखि करिब २ बजेसम्म लुटपाट गरेका पीडित परिवारले जनाएका छन्।

डाकाको प्रहारबाट घाइते भएका सबैको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरी उपरीक्षक मल्लले बताए।

डाकाहरूले चौधरीको घरबाट एक लाख रुपैयाँ नगद, ४० तोला बढी सुनका गरगहना, अढाई किलो चाँदीका गरगहना, एक लाख ७५ हजार मूल्य बराबारको मोबाइल फोन मोबाइल १ थान गरी ५० लाख बढी लुटपाट गरेका पीडित चौधरीले बताए।

अस्पतालमा उपचाररत चौधरीका बुवा भुवनेश्वरको टाउकोमा आठवटा टाँका लगाइएको छ भने अन्यको पनि टाउकोमा चोट लागेको प्रहरी उपरीक्षक मल्लले बताए। घटनाबारे प्रहरीलाई बिहान मात्रै जानकारी भएको बताउँदै उनले पीडित परिवारलाई भेटेर सोधपुछ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए। थप अनुसन्धानका लागि विशेष प्रहरी परिचालन गरिने उनको भनाइ थियो।

प्रकाशित: २० कार्तिक २०८० ०६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App