१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

देश पीडामा, विपद् प्राधिकरण प्रमुख भने जापानमा

देश भूकम्पको पीडामा छ तर, विपद् व्यवस्थापनको जिम्मेवारी बोकेको सरकारी निकाय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल भने विदेश भ्रमणमा छन्। शुक्रवार राति गएको भूकम्प पछि सिंगो देश उद्धार र राहतमा जुटेका बेला पोखरेलको अभाव खड्किएको छ।  

पोखरेल राति साढे ११ बजे जहाजमा उडेपछि भूकम्प आएको भएपनि उता पुगेर भ्रमण छोट्याइ फर्किन चासो नदेखाउँदा उनको आलोचना भइरहेको छ।

पोखरेल शुक्रबार राति साढे ११ बजे काठमाडौबाट जापान उडेका हुन् । एक साता त्यहाँ रहनेगरी जापान उडेका उनी भ्रमण छोट्याएर आउने या नआउने भन्ने टुंगो लागेको छैन । भूकम्पले पश्चिम नेपाल प्रभावित भएको सूचना उनले जापान नपुग्दै पाएका हुन् । भूकम्प व्यवस्थापनकै विषयमा अध्ययन गर्न उनी जापान पुगेको भए पनि नेपाल भूकम्पकै पीडामा पर्दा उनले भ्रमण छोट्याएर फर्किने विषयमा चासो राखेको देखिन्न । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प तथा सुनामी विपद् व्यवस्थापनसँग सम्बन्धित विषयमा आयोजित अन्तक्र्रियामा सहभागी हुन उनी जापान गएका हुन् ।

गृह मन्त्रालय स्रोतका अनुसार कार्यकारी प्रमुख पोखरेल हरेक महिनाजसो विदेश भ्रमणमा जान्छन् । यसपटक उनी विदेशमै भएका बेला नेपालमा भूकम्प गएको हो । यस्तो बेला तत्काल नेपाल फर्कनुपर्ने अपेक्षा गरिए पनि उनले फर्कने कुनै सुरसार देखाएका छैनन् । असोजमा पनि उनी गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग चीन भ्रमणमा गएका थिए । यसैगरी भदौमा पनि उनको विदेश भ्रमण थियो । प्राधिकरणका सूचना अधिकारी धु्रवबहादुर खड्काले विपद् व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय तहको कार्यक्रममा सहभागी हुन देशको प्रतिनिधित्व गर्दै पोखरेल जापान पुगेको बताए । ‘पहिले नै तय भइसकेको कार्यक्रममा उहाँ (पोखरेल) जानुभएको हो, जानैपर्ने कार्यक्रम पनि हो,’ खड्काले भने, ‘उहाँ विपद् व्यवस्थापनसम्बन्धी अध्ययन गर्न जानुभएको हो । यस्ता कार्यक्रमम सहभागी हुँदा हामीले पनि धेरै कुरा सिक्ने मौका पाउँछौं ।’

पोखरेल २०७७ कात्तिकमा प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त भएका हुन् । त्यसयता उनले दर्जनौं पटक विदेश भ्रमण गरिसकेका छन् । गृह मन्त्रालयका कर्मचारीहरूमध्ये उनी सबैभन्दा बढी विदेश भ्रमणमा जाने कर्मचारीका रूपमा चिनिन्छन् । देश भूकम्पको पीडामा रहेका बेला विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख स्वदेश किन नफर्केको भनी जिज्ञासा राखिएपछि खड्काले भने, ‘प्राधिकरणको उद्देश्य विपद् व्यवस्थापनका लागि समन्वय गर्ने, नीति बनाउने, अध्ययन–अनुसन्धान गर्ने भएकाले यही विषयका लागि अध्ययन गर्न कार्यकारी प्रमुख पोखरेल विदेश भ्रमणमा जानुभएको हो । त्यसैले यो भ्रमण औचित्यपूर्ण छ ।’  

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण भूकम्पलगायत विपद्को व्यवस्थापन तथा न्यूनीकरणका लागि नीति बनाउने, अनुगमन गर्ने, समन्वय गर्ने तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि केन्द्रीय स्रोत निकायका रूपमा काम गर्ने उद्देश्यबाट स्थापना भएको हो । २०७२ सालको भूकम्पपछि यसको स्थापना गरिएको हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १० ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण स्थापनाको व्यवस्था गरेको हो । गृह मन्त्रालय मातहत रहने यस प्राधिकरणको कार्यालय सिंहदरबारमा छ ।

प्रकाशित: २० कार्तिक २०८० ०१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App