५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पुग्नुपर्ने प्राचीन सम्पदा स्वर्गाश्रम

म्याग्दीको बेनी नगरपालिका-३, भकिम्लीको शिरमा अवस्थित सय वर्ष पुरानो स्वर्गाश्रम।तस्बिर: हरिकृष्ण/नागरिक

बेनी नगरपालिका-३, भकिम्लीको मानव बस्तीदेखि करिब आधा घण्टाको उकालो उक्लिएपछि घना जंगलको पूर्वतर्फको टुप्पोमा प्राचीन कालदेखि सुरक्षित एउटा आध्यात्मिक सम्पदा छ।

धार्मिक स्थल स्वर्गाश्रमको अगाडिपट्टि चट्टानमाथि पानीको कुवा, धुपी सल्लाका सर्लक्क परेका रुख र ती रुखका बिचमा ग्रामीण शैलीको ढुंगाले छाएको २ तले परम्परागत घर छ। बटुवा र ध्यान बस्न आउनेहरूलाई लक्षित गरी चिटिक्कको सत्तल बनाइएको छ भने तपस्या स्थलदेखि विश्रामस्थल, प्रवेशद्वार र ढुंगा बिच्छाइएको स्वर्गाश्रम भने अहिलेसम्म गुमनाम रहेको छ। सप्तर्षि पहाडका रूपमा समेत चिनिने आश्रम आसपासको जंगलमा तत्कालीन समयमा ईश्वरानन्द सरस्वती एक्लै तपस्या र ध्यान बसेको ओडारसहितका अन्य भग्नावशेष अहिलेसम्म छ।

धार्मिक र पर्यटकीय दृष्टिकोणले समेत म्याग्दीको सदरमुकाम बेनीनजिकै रहेको आर्कषक गन्तव्य स्वर्गाश्रममा फाटफुट पर्यटक पुग्न थालेपछि गण्डकी प्रदेशले २० लाख, बेनी नगरपालिकाबाट २२ लाख र स्थानीय वडाबाट समेत पूर्वाधार विस्तार गरेको स्वर्गाश्रम बेलढुंगा व्यवस्थापन समितिका अध्यक्ष रत्न जिसीले बताए।

‘प्राचीन कालदेखि सुरक्षित एउटा आध्यात्मिक सम्पदा हो। यहाँ आएपछि धेरै देख्न पाइन्छ,’ अध्यक्ष जिसीले भने।

पाँच दशकअगाडि प्रेमानन्द गुरु र छविलाल गुरु नाम गरेका स्वामीले समेत तपस्या गरेको उक्त स्थान आसपास रहेका पहाडलाई सप्तर्षि पहाडका रूपमा समेत चिनिन्छन्। प्राकृतिक रूपमा अत्यन्त रमणीय, आध्यात्मिक आस्थाको केन्द्र, पर्यटकीय सम्भावनाले युक्त स्वर्गाश्रमको प्रचारप्रसार नहुँदा ओझेलमा परेको बेनपा–३ का वडाध्यक्ष पदम पुनले बताए।

स्वर्ग आश्रमस्थलबाट स्वर्गाश्रमको ढोकाबाट पूर्वतर्फ सुन्दर बेनी बजारसँगै कालीगण्डकी, महारानी थान, उत्तरतर्फ गलेश्वरधाम, जगन्नाथ धाम, मुक्ति क्षेत्रलगायतका तीर्थस्थलहरूको अवलोकन गर्न सकिन्छ।

तपस्विनी ईश्वरानन्द सरस्वतीले २० वर्षसम्म कठोर तपस्या गरी सिद्धि प्राप्त गरेर देवघाटमा गएपछि पनि नियमित प्रचारप्रसार र पूर्वाधार विस्तारमा सहयोग गर्ने गरेकी छन्। स्वर्गाश्रमको क्षेत्रमा दैनिक श्रमदानदेखि भक्तजनलाई स्वागत तथा सम्मानमा स्थानीय आमा समूहले समेत आफ्नो घरको घरायसी काम छोडेर सक्रिय हुने गरेको भकिम्लीको भुकभुके आमा समूहकी पूर्णकला जिसीले बताइन्। हरेक वर्षको वैशाख १ गते स्वार्गाश्रममा विश्व शान्तिको कामना गर्दै रथयात्रासहित भव्य पूजा गरिन्छ।

प्रकाशित: १७ कार्तिक २०८० ०३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App