१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

इजरायल–हमास युद्ध: बेपत्ता विपीन हमासको कब्जामा

सत्ताईस दिनदेखि बेपत्ता नेपाली विद्यार्थी विपीन जोशी हमास समूहको कब्जामा रहेको इजरायल सरकारले जानकारी दिएको छ । नेपाल सरकारलाई आधिकारिक रूपमा पत्राचार गरेर इजरायलले जोशी हमास समूहको बन्धक रहेको सूचना दिएको हो । उक्त कुरालाई नेपालको परराष्ट्र मन्त्रालयले पनि पुष्टि गरेको छ ।

मन्त्रालयका एकजना अधिकारीका अनुसार थाइल्यान्डका विद्यार्थीहरूसँगै विपीनलाई पनि हमास समूहले कब्जामा लगेको पत्ता लागेको इजरायल सरकारले प्रतिक्रिया दिएको छ । तर उनको अवस्था र राखिएको स्थान भने खोज्न नसकिएको इजरायलले जनाएको छ । जोशी हमास समूहको कब्जामा रहेको कुरा इजरायलले बल्ल आएर पुष्टि गरे पनि नेपाल सरकारले भने यो कुराको पहिल्यै अनुमान लगाइसकेको थियो । प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले आक्रमणकारीद्वारा थाइल्यान्डका विद्यार्थीसँगै उनलाई लगेको बताउँदै आएका छन् ।  

‘विपीन जोशीलाई लगेको मैले देखेको छु,’ हमास समूहको आक्रमणमा घाइते भएका नेपाली विद्यार्थी हिमाञ्चल कट्टेलले भनेका छन्, ‘दुई तीनजना थाई (थाइल्यान्डका नागरिक)सँग उनलाई लगेको मैले देखेको हुँ ।’ हमास समूहले कब्जामा लैजानुअघि विपीनले हमास समूहले फालेको ग्रिनेट पन्छाउनेदेखि लिएर घाइते साथीलाई अस्पताल लैजान एम्बुलेन्स बोलाउनेसम्मका काम गरेको प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले बताएका छन् ।

विपीनलाई हमास समूहले कब्जामा लिएको भनिए पनि उनको हालको अवस्थाबारे यकिन जानकारी भने कतैबाट आएको छैन । हमास समूह स्वयंले आफूसँग बन्धक रहेको कुरा स्वीकार नगर्दासम्म उनको अवस्था यकिन नहुने प्रस्ट छ । यसरी विपीनको अवस्था महिना दिनसम्म अज्ञात रहँदा आफन्तजन मात्र नभई नेपाल सरकारका तर्फबाट पनि विभिन्न पक्षहरूसँग उनको अवस्था जानकारी लिन हारगुहार चलिरहेको छ । नेपाली विद्यार्थीको कुरा सुनेलगत्तै परराष्ट्रमन्त्री एनपी साउदले जोशीको अवस्थाबारे पत्ता लगाइदिन अन्तर्राष्ट्रिय कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय रेडक्रस (आइसिआरसी), अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थासँग अपिल गरेका थिए । यस्तै परराष्ट्र मन्त्रालयले समेत सहयोगको आह्वान गरेको थियो ।

यस्तै हमास समूहसँग मध्यस्थकर्ताको भूमिका खेलेको कतार सरकारसँग पनि नेपाल सरकारले पहल गरिरहेको छ । परराष्ट्रमन्त्री साउदले कतारी समकक्षी मोहम्मद बिन अब्दुल्लाजिज विन सलेह अल खुलाफीसँग टेलिफोन गरेर विपीनको अवस्था पत्ता लगाई रिहाइका लागि पहल गरिदिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

यसैबीच नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग पनि विपीनको अवस्थाबारे कुराकानी भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटका क्रममा महासचिव गुटेरेसले जोशीको अवस्थाबारे गम्भीर रहेको जनाएका थिए । पछि संघीय संसद्मा सम्बोधन गर्दा पनि उनले विपीनको अवस्था सार्वजनिक गर्न द्वन्द्वरत पक्षसँग आग्रह गरेका थिए ।

यस्तै चारदिने अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री साउदले अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनसँग विपीनको अवस्था पत्ता लगाउने वातावरणका लागि भूमिका खेलिदिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । असोज २० (अक्टोबर ७) मा प्यालेस्टिनी कट्टरपन्थी समूह हमासले इजरायलका विभिन्न ठाउँमा पहिले मिसाइलमार्फत आक्रमण गरेको थियो । त्यसलगत्तै इजरायलको दक्षिणी क्षेत्रमा प्रवेश गरेर आक्रमण गर्दै त्यहाँबाट केही विदेशीसहित इजरायली सैनिक र नागरिकसहित युद्धबन्दीका रूपमा लिएर गएको थियो । जसमा दुई सय ४५ जनाभन्दा बढी व्यक्ति रहेको इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले जनाएको छ । यही आक्रमणमा परी इजरायलमा ‘लर्न एन्ड अर्न प्रोग्राम’ मा गएका नेपाली १० जना विद्यार्थी मारिएका थिए । विपीनको अवस्था अज्ञात छ । कब्जामा लिएकामध्ये हमासले हालसम्म पाँचजना रिहा गरिसकेको छ । जसमा इजरायली महिला ७९ वर्षीया नुरिट कुपर र ८५ वर्षीया योचेबेद लिफ्स्टिज छन् ।  

यस्तै अमेरिकी महिला ५९ वर्षीया जुडिथ रेनन र उनकी छोरी १८ वर्षीया नटाली रेननलाई हमास समूहले १४औं दिनमा रिहा गरेको थियो । उनीहरूलाई छोडाउन हमास समूहसँग कतार र इजिप्टलगायत आइसिआरसी, केही मानव अधिकारवादी संघसंस्थाले मध्यस्थकर्ताको भूमिका खेलेका थिए । यही कारण कतारसँगको द्विपक्षीय सम्बन्धका आधारमा परराष्ट्रमन्त्री साउदले विपीनको अवस्था पत्ता लगाइदिन आग्रह गरेका छन् ।

मध्यस्थकर्ताको भूमिका खेलिरहेका देश तथा संघसंस्थासँग हमास समूहले पनि केही विदेशी नागरिक (इजरायल बाहेक)लाई रिहा गर्ने वाचा गरेको छ । केही दिनअघि हमास समूहको सशस्त्र शाखाको ‘कास्सम ब्रिगेड’का प्रवक्ता अबु अबेइदाले एक भिडिओ सन्देश जारी गर्दै आफू मध्यस्थकर्तासँगको वाचामा प्रतिबद्ध रहेको बताएका थिए ।

‘हामीले मध्यस्थकर्तालाई वाचा गरेअनुसार केही दिनमा निश्चित संख्याका विदेशी नागरिकलाई रिहा गर्नेछौं,’ अबेइदाले भनेका छन् । उता थाइल्यान्ड सरकारले आफ्ना बन्धक नागरिकलाई छुटाउन आफैं हमास समूहसँग वार्ता थालेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अज्ञात अवस्थामा रहेका २२ जना थाई नागरिक हमासको कब्जामा रहेको आशंका गरिएको छ ।

उनीहरूको अवस्था पत्ता लगाउन थाई सरकारको प्रतिनिधिमण्डल इरान पुगेर हमाससँग वार्ता गरेको छ । जसमा हमासले आफूसँग रहेका बन्धकको राम्रो हेरचार गरेको आश्वासन दिँदै थाई नागरिक बन्धक रहे रिहा गर्ने वचन दिएको थाई वार्ता टोलीका नेतृत्वकर्ता अरिपेनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हमास–इजरायल युद्धमा कम्तीमा ३२ जना थाई नागरिकको मृत्यु भएको जनाइएको छ । उता युद्धबन्दी रहेका इजरायली सैनिक र नागरिकको रिहाइका विषयमा भने हमास समूह निकै कठोर देखिएको छ ।  

प्रकाशित: १७ कार्तिक २०८० ०१:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App