२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

सूर्योदय हेर्न बेलढुंगा

आँखै अगाडि ठोकिने एकदर्जन हिमशृंखला

उत्तर फर्केर हेर्दा चाँदीझैं टल्कने सेता हिमाल। दन्ते लहरजस्तै एकदर्जन हिमशृंखलाका साथै वरपरका डाँडाहरूको दृश्यले त्यहाँ पुग्ने जो कोही पनि मन्त्रमुग्ध हुन्छन्। बिहानीपख सूर्योदयले मनमा आनन्द थपिदिन्छ।

बिहानीको सूर्योदय र चाँदीझैं टल्कने हिमालमा घामको किरण ठोकिएको दृश्यको बयानसमेत गर्न सकिन्न। म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका–३ ओखलेको  शिरमा अवस्थित सुन्दर पर्यटकीय गन्तव्य बेलढुंगामा पुग्ने पर्यटकले फरक  अनुभूति गर्छन्।

समुद्रीख दुई हजार ६ सय ८७ मिटर उचाइको बेलढुंगाबाट संसारकै सातौं अग्लो धौलागिरि हिमाल, १० औं अग्लो अन्नपूर्ण हिमालसहित पूर्वी रुकुम र म्याग्दीको सिमानामा अवस्थित पुथा हिमाल, म्याग्दीका गुर्जा, निलगिरि, मानापाथी, गणेश हिमाल, कास्कीको माछापुच्छ्रे, गोरखाको मनास्लु, गंगा पूर्व लगायतका लोभलाग्दा हिमालको लस्कर देखिन्छ।

सेता हिमालको तल बादल, स्वच्छ पहाड, आसपासमा वनजंगलको मनोरम दृश्य। म्याग्दीका अन्य पर्यटकीय स्थलभन्दा यहाँबाट धेरै हिमशृंखला देखिन्छन्। सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिने बेलढुंगा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको बेनी नगरपालिका–३ भकिम्लीका वडाध्यक्ष पदम पुनले बताए। उनले सरकारी बजेटबाहेक सीमा क्षेत्रका दुवै वडावासीले श्रमदान समेत गरेको बताए।

सुनसानजस्तै रहेको बेलढुंगामा ६ वर्षअगाडि भकिम्लीबाट १ लाख बजेटले निर्मित सामान्य पदमार्गमै आन्तरिक पर्यटक बढेपछि पूर्वाधार निर्माणको होडबाजी चलेको थियो। अहिले गुलजार बनेको बेलढुंगा एक दशक अघिसम्म गुमनाम थियो।

सडकको म्याग्दी र बागलुङ दुवैतिरबाट पहुँच, पदमार्ग निर्माण, होमस्टे, पार्किङलगायतका पूर्वाधार बनेपछि यहाँ अहिले दैनिक पर्यटक बढेका छन्। हिउँदमा हिउँ खेल्न र गर्मीमा शीतलको खोजी गर्दै यहाँ आउनेहरूले चहलपहल बढाएका छन्।

अहिले बागलुङको काँठेखोला गाउँपालिका–३ ओखलेमा होमस्टेसमेत रहेकाले घरबासमा रमाउने समेत गरेका छन्। म्याग्दीखण्डमा समेत होमस्टेसहितका सुविधाका लागि तयारी भइरहेको स्थानीय अगुवा पृथबहादुर पुनले बताए।

देउराली धुरीदेखि बेलढुंगासम्म स्लेट ढुंगाको ५ सय २५ सिँडी बनेको छ। ढुंगा बिछ्याएर आकर्षक तरिकाले निर्माण गरिएको पदमार्ग हुँदै उकालो छिचोलेपछि करिब १० मिनेटमा बेलढुंगा पुग्न सकिन्छ।

२०७७ भदौमा बेल आकारको ढुंगा दुई हजार ११८ मिटरको उचाइमा थियो। २०७२ सालको भूकम्पको पटक पटकको धक्का र ढुंगामा बनाइएका केही संरचनाका कारण माथिल्लो भाग भत्किएपछि स्थानीयको सक्रियतामा पुनः निर्मित पर्यटकीय क्षेत्रमा पुगेका पर्यटकले पहिलोपटक नै यहाँबाट देखिने दृश्यले लोभ्याएको पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले बताए।

बेलढुंगा क्षेत्रको भ्रमण गर्दा आनन्दको अनुभूति मिलेको अनुभव सुनाउँदै पर्यटक कृष्ण जिसीले म्याग्दी जिल्लाका धेरै पर्यटकीय स्थलमा पुगे पनि बेलढुंगाबाट देखिने हिमाल हेर्न नपाएको अर्का पर्यटक कृष्ण जिसीले बताए।

म्याग्दीको सदरमुकाम बेनीबाट करिब १८ किलोमिटरमा सवारी साधनबाटै पुग्न सकिने र करिब १० मिनेट पैदल यात्रा गरेपछि पुगिने बेलढुंंगा प्राकृतिक भ्युटावरसमेत हो।

पर्यटन प्रवर्धनका लागि उपयुक्त स्थल भएकाले यहाँबाट देखिने दृश्यले यात्राको क्रममा हुने थकान मेटिन्छ। यस क्षेत्रको विकास गर्न सके ग्रामीण पर्यटनसँगै स्थानीयवासीको आयआर्जनमा सुधार तथा स्थानीय तहको आन्तरिक आम्दानीमा समेत वृद्धि गर्न सकिन्छ।

प्रकाशित: १६ कार्तिक २०८० ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App