सन् १९९० देखि २००५ सम्म भारतको बिहार राज्यको परिचय थियो, अपराध, बेथिति र भ्रष्टाचार । अपराधशालाकै प्रर्यायवाची बनेको त्यसबेलाको बिहार राज्यले आफ्नो पुरानो परिचय बदलेर थिति बसाल्दै गर्दा सीमा जोडिएको मधेस प्रदेश भने पुरानो बिहारको आपराधिक रंगमा रंगीन बन्दैछ ।
मधेस प्रदेशका लागि हत्या अपराधका घटना पछिल्लो समय नौलो रहेन । कारण दैनिकजसो हुने हत्याका घटनाले प्रदेशवासी आजित, त्रसित र असुरक्षित बन्न बाध्य छन् । रातको अँध्यारोमा हुने गरेको हत्या अपराध अहिले दिउँसै हुन थालेको छ । एकान्तमा हुने हत्या अपराध अहिले व्यस्त बजार र बस्तीमा हुन थालेको छ । सुरक्षाकर्मीको उपस्थिती नभएको ठाउँमा हुने हत्या अपराध अहिले प्रहरीको उपस्थिति नजिक हुन थालेको छ ।
यसको ताजा उदाहरण हो, सोमबार बाराको कलैयामा गोली प्रहार गरी निजी विद्यालय सञ्चालक रूपेश सर्राफको हत्या घटना । दिउँसै, बस्तीबीच र प्रहरी चौकीनजिक भएको यो गोलीकाण्डले बाराको सुरक्षा व्यवस्थालाई त गिज्याएको छ नै मधेस प्रदेशको सुरक्षा व्यवस्थालाई समेत उदांगो पारिदिएको छ ।
सर्राफको हत्या भएको स्थान प्रहरीको उपस्थिति नजिक छ । घटनास्थलबाट करिब आठ सय मिटर पश्चिम जिल्ला प्रहरी कार्यालय छ । तीन सय मिटरको दूरीमा भरत चौक छ जहाँ चौबिसै घन्टा प्रहरीको पहरा हुन्छ । यस ठाउँबाट पूर्वदक्षिणमा मदर्शा गल्ली छ । जहाँ मृतक सर्राफले बाल एकता सेकेन्ड्री स्कुल सञ्चालन गरेका थिए ।
प्रहरीको पोष्ट र पहरानजिक दुईवटा मोटरसाइकलमा सवार चारजना पेस्तोलधारीले सर्राफमाथि दिउँसै चार गोली प्रहार गरी सजिलै उम्कन सफल भए । यस घटनापछि यहाँको समाजले असुरक्षित महसुस गर्न थालेको छ । कारण, दिउँसै गोली हानी मानिसको हत्या यस समाजका लागि भने पहिलो र नौलो हो ।
सर्राफ तीन भाइमध्ये कान्छा हुन् । उनका जेठा दाइ भोला सर्राफको सुनचाँदी पसल छ । माइलो सुमोध र रूपेश मिलेर एक दशकदेखि मदर्शा गल्लीमा बाल एकता स्कुल सञ्चालन गर्दै आएका थिए । यो स्कुल कलैयाकै नाम चलेको स्कुलमा पर्छ । ३९ वर्षीय रूपेशका एक श्रीमती र दुई छोरा छन् ।
सोमबार सधैंजस्तो रूपेश खाजा खान कलैयाकै रोजमेरी होटल गएका थिए । मोटरसाइकलमा खाजा खाएर स्कुल फर्किदै गर्दा मदर्शा गल्ली मोडनजिक उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । ‘चौबाटोमा जडान गरिएको सिसी क्यामेरामा कैद भिडियोमा रूपेश एक हातले मोटरसाइकलको ह्यान्डल समातेर अर्को हातले माबाइलमा कुरा गरिरहेको देखिन्छ,’ एक प्रहरीले भने, ‘त्यतिकैमा दुईवटा मोटरसाइकल एउटा अगाडि बढ्छ र अर्को पछाडि हुन्छ ।
रूपेशमाथि दुवै मोटरसाइकलमा सवारले पेस्तोलबाट चार राउण्ड फायर गरेको देखिन्छ । गोली लागेर उनी मोटरसाइकलसहित सडकमा ढल्छन् । त्यसपछि हत्तियारधारी समूह चढेको मोटरसाइकल कता जान्छ क्यामेरामा रेकर्ड छैन ।’ रूपेश गोली लागेर ढलेपछि स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल आएको स्थानीय बताए । गोली लागि अत्याधिक रक्तश्राव भएर उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
बारामा हत्याका घटना यो पहिलो भने होइन । यसअघि असोज ८ र ९ गते दुई जनाको हत्या भइसकेको छ । असोज ९ गते बाराको पचरौता नगरपालिका–६ स्थित लक्ष्मीनियामा अजितकुमार सिंहको गोली हानेर हत्या भयो । दुई वटा मोटरसाइकलमा सवार पाँच जना हतियारधारी समूहले साँझ ६ बजे नेपाल–भारत सिमानाको ७ सय मिटर नेपालतर्फ लक्ष्मीनियास्थित पोखरीमा २२ वर्षीय सिंहको गोली हानी हत्या गरेका थिए । मृतक भारत मोतिहारीका थिए । उनको हत्यामा भारतीय नागरिक सुजितकुमार सिंह सुटरको रूपमा प्रयोग भएको प्रहरीले बताएको छ ।
सुजितकुमारकै समूहले एक वर्षअघि भारतको मोतिहारी जिल्ला दार्पा थाना ग्राम पञ्चायत–१४ का उपप्रमुखको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । यही समूहले २०७९ पुस ८ मा भारतीय नागरिक ४४ वर्षीय शिवपूजन यादवलाई बाराको गढीमाई नगरपालिका–२ स्थित भुतही पुलमा हत्या गरेको पनि अनुसन्धानबाट खुलेको छ । सिंह अझै प्रहरी नियन्त्रणबाहिर छ ।
असोज ८ गते बाराको पचरौता नगरपालिका –१ पिपरपाती गाउँ नजिककै नेपाल–भारत दसगजामा सशस्त्र प्रहरीका पूर्वसिपाही ३४ वर्षीय जवान अमरेश सिंहको हत्या भयो । उनी ६ महिनाअघि मात्र जागिर छोडेर घर बसेका थिए । उनको टाउको, घाँटीलगायतका शरीरका विभिन्न भागमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो ।
‘दिउँसै चहलपहल भएको ठाउँमा गोली हानी मानिसको हत्या गरेर अपराधि सहजै उम्कन्छन्,’ कलैयाका समाजसेवी बन्टी गुप्ता भन्छन्, ‘यहाँ सुरक्षा नामको चिजै छैन ।’ कलैयामा सुरक्षा अवस्था कमजोर भएकै कारण अपराधीको मनोबल बढ्दै गएको उनको बुझाइ छ ।
नेपाल प्रहरीका पूर्वडिआइजी केशबहादुर शाहीका अनुसार मधेसमा हत्याजन्य अपराध बढ्नुमा अपराधको सुक्ष्म अनुसन्धान तथा विश्लेषणको कमी हो । ‘मधेसको सीमा भारतको बिहार राज्यसँग जोडिएका छन् । जहाँ साना हतियारको सहज उपलब्धता छ । र, खुला सीमानाका कारण मधेसमा हतियार भित्र्याउन कठिन छैन ।
सीमामा इमानदार निगरानीको अभाव छ । त्यसैले बोर्डरमा इमान्दार निगरानी र अपराधको ट्रेन्ड हेरेर अफ्नो काम इमान्दारपूर्वक गरे मात्र अपराधलाई केहि हदसम्म नियन्त्रण गर्न सकिन्छ,’ मधेसका जिल्लामा लामो समय काम गरेका पूर्व्डिआइजी शाही भन्छन्, ‘अहिले मधेसमा साना हतियारको बिगबिगी छ । यसलाई नियन्त्रण गर्न नसके अवस्था डरलाग्दो हुनसक्छ ।’
मधेस प्रदेशमा साना हतियारको बिगबिगी मात्र बढेको छैन यसको प्रयोगबाट घटनामा समेत बढोत्तरी भएको छ । ससाना विवादमा पनि गोली प्रहार गर्ने घटना मधेसमा नौलो होइन । अवैध हतियारको बिगबिगीका कारण पनि मधेस प्रदेशमा हत्याहिंसाका घटना बढिरहेको तथ्यांकले देखाउँछ ।
हत्याका घटनामा स्वचालित पेस्तोल प्रयोग भएको अनुसन्धानबाट देखिएको छ । मधेस प्रदेशका आठै जिल्ला भारतसँग जोडिएका छन् । खुला सिमानाका कारण आपराधिक कर्म गर्नेलाई यताबाट उता र उताबाट यता आएर लुक्न सहज भएको प्रहरी अधिकारी बताउँछन् । साना हतियार पनि भारतबाट भिœयाएको पाइएको छ ।
प्रहरीले सानाठूला हतियार बरामद गरिरहे पनि मधेसमा आपराधिक क्रियाकलाप रोकिएका छैनन् । मधेस प्रदेश प्रहरी प्रमुख जनक भट्टराईका अनुसार अवैध साना हतियार नियन्त्रणमा नेपाल–भारत खुला सीमा मुख्य चुनौती हो ।
‘हामी यसलाई नियन्त्रण गर्न हरसम्भव प्रयत्न गरिरहेका छौं । तर, सीमा खुला छ । आई टु आई सर्भिलेन्स नभएसम्म (आँखाले देख्नेगरी प्रहरी निगरानी) नभएसम्म अपराधी र अपराधमा प्रयोग हुने हत्तियार नियन्त्रण चुनौतीपूर्ण छ,’ डिआइजी भट्टराई भन्छन्, ‘पछिल्लो समय मधेस प्रदेशमा अपराधजन्य घटना बढेको सत्य हो । विश्लेषणत्मक अध्यन गरेर नियन्त्रणका योजना बनाउँदै छौं ।’
मधेस प्रदेशमा पनि बारा जिल्ला पछिल्लो समय अपराधको केन्द्र बनेको भन्दै उनले पारिका अपराधी आएर पारिकै मानिसलाई हत्या गरेसम्मको घटना देखिएको बताए ।
नेपाली–भारतीय अपराधीबीच रहेको सञ्जालका कारण साना हतियार नियन्त्रण सीमावर्ती जिल्लामा चुनौतीपूर्ण बनेको समेत उनले बताए । लुकाउन सजिलो भएकाले साना अवैध हतियार नियन्त्रण उति सजिलो नभएको प्रहरी अधिकारी बताउँछन् ।
अर्को समस्या घरघरमा साना अवैध हतियार खानतलास गर्न कानुनी झन्झट पनि छ । सशस्त्र समूहको बिगबिगीका बेला मधेसका जिल्लामा काम गरिसकेका एक प्रहरी अधिकारी भन्छन्, ‘अहिले त्यति भयावह अवस्था छैन तर देशमा राजनीतिक र आर्थिक तरलताका कारण चुनौती पनि कम छैन ।’ छिटफुट हतियार पक्राउ परे पनि आपराधिक सूचना संकलन संयन्त्र अपेक्षित सबल नहुँदा पूर्ण सफलता पाउन कठिनाइ भइरहेको प्रहरीको भनाइ छ ।
माओवादीको सशस्त्र युद्धका बेलादेखि मधेसमा अपराध बढ्न थालेको हो । माओवादीको सशस्त्र युद्ध छाडेर शान्ति प्रक्रियामा आएपछि एक हदसम्म देशमा शान्ति फैलियो । तर मधेसमा अरू नै सशस्त्र समूह जन्मिए । अपराधका घटनाले मधेस आक्रान्त बन्न पुग्यो । तर समयान्तरमा सशस्त्र समूहको गतिविधि मधेसमा निस्तेजप्रायः भएको छ तर अवैध हतियारको त्रास भने घटेको छैन । अपराधका घटनाबाट आक्रान्त मधेस राज्यसँग सुरक्षित र शान्त मधेसका लागि गुहार माग्दैछ ।
बढ्दै अपराध
मधेस प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोज तीन महिनामा मात्र मधेस प्रदेशमा ३७ जनाको हत्या भैसकेको छ । जसमध्ये बारामा सबैभन्दा बढी आठजनाको हत्या भएको तथ्यांक छ । पर्सामा पाँच, रौतहटमा चार, सर्लाहीमा पाँच, महोत्तरीमा दुई, धनुषामा चार, सिरहामा दुई र सप्तरीमा सातजनाको हत्या भएको तथ्यांक छ ।
आव २०७९/८० मा यस प्रदेशमा एक सय ६ जनाको हत्या भएको छ । सबैभन्दा बढी रौतहट जिल्लामा १८ जनाको हत्या भएको छ । धनुषा र पर्सामा १५/१५ जनाको हत्या भएको छ । बारामा १३, सर्लाहीमा १३, महोत्तरीमा १२, सिरहामा ११ र सप्तरीमा ९ जनाको हत्या भएको तथ्यांक छ । आव ०७८/७९ मा यस प्रदेशमा ९६ जनाको हत्या भएको छ । धनुषा र सिरहामा सबैभन्दा बढी १८/१८ जना, पर्सामा ११, बारामा सात, रौतहटमा नौ, सर्लाहीमा ११, महोत्तरीमा नौ र सप्तरीमा १३ जनाको हत्या भएको छ ।
आव ०७७/७८ मा ९३ जनाको हत्या भएको छ । सबैभन्दा बढी पर्सा र रौतहटमा १४/१४ जना, बारामा १०, सर्लाहीमा ११, महोत्तरीमा ११, धनुषामा १२ र सिरहामा १२ जनाको हत्या भएको तथ्यांक छ ।
आव ०७६/०७७ मा ९० जनाको हत्या भएको छ । सबैभन्दा बढी धनुषामा १८ जना, पर्सामा १५, बारामा पाँच, रौतहटमा सात, सर्लाहीमा १०, महोत्तरीमा ११, सिरहामा १२ र सप्तरीमा १२ जनाको हत्या भएको तथ्यांक छ ।
प्रकाशित: १५ कार्तिक २०८० ०१:५७ बुधबार