५ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

लालुपाते सहकारी घोटाला आरोपमा पाइलटसहित ८ पक्राउ

खोटाङ सदरमुकाम दिक्तेलमा सञ्चालित लालुपाते सहकारी संस्था लिमिटेडको बचत अपचलन प्रकरणमा हवाई चालक (पाइलट) सहित आधा दर्जन बढी पक्राउ परेका छन्।

रकम अपचलन गरेको आरोपमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी १ दिक्तेल स्थायी घर भई सौर्य एयरलाइन्सका पाइलट सुनिल जोसीसहित सञ्चालकहरुलाई पक्राउ गरी अनुसन्धान थालेको हो।

बचतकर्ताहरुले सहकारीमा जम्मा गरेको रकम घोटाला प्रकरणमा संलग्न भएको आरोपमा कात्तिक १३ गते जोशीलाई काठमाडौँबाटै पक्राउ गरी खोटाङ ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका पाइलट जोशी सहकारी सञ्चालक समितिका अध्यक्ष अनिल जोशीका सहोदर भाइ रहेको र उनको नाममा सहकारीको रकम जम्मा भएको देखिएपछि अनुसन्धानका लागि पक्राउ गर्नुपरेको जिल्ला प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम खड्काले बताए।

डिएसपी खड्काले काठमाडौँस्थित आफ्नै घरबाट पक्राउ परेका पाइलट जोशी र उनकी श्रीमती रबिना श्रेष्ठ जोशीलाई सदरमुकाम दिक्तेल ल्याएर अनुसन्धान अघि बढाइएको बताए। उनीहरुबिरुद्ध प्रहरीले संगठित अपराध अन्तरगत मुद्दा चलाएको छ।

सहकारीमा जम्मा भएको सर्वसाधारणको बचत रकम तत्कालीन सञ्चालक अध्यक्ष अनिलका भाइ पाइलट सुनिल र बुहारी रबिनाको व्यक्तिगत बैँक खातामा जम्मा गरेर विभिन्न ठाउँमा जग्गा खरिद गरी उनीहरुकै नाममा राखेको तथ्य सहकारीको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदनले देखाएपछि प्रहरी अनुसन्धानको तीर उनीहरूतर्फ सोझिएको डिएसपी खड्काले बताए। 

सर्वसाधारणको बचत रकम सहकारीले डुबाएको भन्दै २०७९ फागुन २ गते तत्कालीन अध्यक्ष जोशीको परिवारका ५ सदस्यसहित ८ जनाविरुद्ध स्थानीयले कारबाहीको माग गर्दै जिल्ला प्रहरीलाई गुहारेका थिए। उनीहरुको जाहेरीका आधारमा प्रहरीले अनेक कोणबाट अनुसन्धान गर्दै गर्दा पाइलट दम्पतीको संलग्नता देखिएपछि उनीहरु पक्राउ परेका हुन्। जोशी दम्पतीलाई पक्राउ गरेको ४ दिनपछि असोज १७ गते सहकारीका तत्कालीन प्रबन्धक रुकु जोशीलाई पनि नियन्त्रणमा लिइएको छ।

प्रहरीले बचत रकम घोटालाको मुख्य दोषी पाइलट जोशीलगायत नै भएको निष्कर्ष निकालेको जनाएको छ। जोशी परिवारले मात्र १ करोड ५० लाख बढी सर्वसाधारणको बचत ऋणको रुपमा लिएको पाइएको पनि लेखापरीक्षण प्रतिवेदनले जनाएको छ। जोशी परिवारका सदस्यहरुलाई पक्राउ गरेको १ महिनापछि आइतबार प्रहरीले सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईसहित थप ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ जोशी परिवारलाई अनुसन्धान गर्ने क्रममा संलग्न भएको पाइएपछि अनुसन्धानका लागि उनीहरुलाई पनि पक्राउ गर्नुपरेको प्रहरी भनाई छ। उपाध्यक्ष चौलागाईसँगै पक्राउ पर्नेमा सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राई रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुका आफन्तले भने प्रहरीले ढाँटछल गरेर दसैँ तिहारको बेला नियन्त्रणमा लिएको भन्दै गुनासो गरेका छन्। सहकारीको आर्थिक अनियमितताबारे छलफल गर्न भन्दै कार्यालय बोलाएको प्रहरीले षडयन्त्रपूर्वक नियन्त्रणमा लिएर थुनामा राखेको उनीहरुको गुनासो छ।

उनीहरुले पक्राउ परेका पदाधिकारीहरू दोषी नभई मुख्य दोषी ऋणीहरु नै भएको जिकिर गरेका छन्। उनीहरुविरुद्ध किटानी जाहेरी दिएर कारबाही गर्न माग पनि गरेको पक्राउका आफन्तहरुको भनाई छ।

भर्खर पक्राउ परेका सहकारीका सचिव मनोज राईले ऋणीहरुविरुद्ध गत माघ ६ गते नै प्रहरीमा किटानी जाहेरी दिएको बताइएको छ। तर, उनलाई नै पक्राउ गरेको प्रहरीले कसरी अनुसन्धान प्रक्रिया अगाडि बढाउँछ भन्ने प्रश्न खडा भएको पनि आफन्तजनको तर्क छ।

प्रहरीले निष्पक्ष छानबिन गरेर दोषीमाथि कानुनी कारबाही गर्न र निर्दोषलाई दुःख नदिन पनि स्थानीयले सुझाएका छन्। केही पूर्व सञ्चालक सदस्यहरुले भने सहकारीको रकमले किनेको जग्गा आफ्नो नाममा राख्ने व्यक्ति र ऋणीहरु पहिचान गरे पनि उनीहरुलाई कारबाही नगरेको आरोप प्रहरीमाथि लगाएका छन्।

एक वर्षअघिदेखि बचत रकम फिर्ताको माग गर्दै आएका सर्वसाधारणले सहकारी डुबाउने दोषीलाई कारबाही गर्दै डुबेको बचत फिर्ता गर्न माग गर्दै गत असोज १९ गते जिल्ला प्रहरी र जिल्ला अदालत खोटाङमा धर्नासमेत दिएका थिए।

उनीहरुले पक्राउ दोषीलाई उन्मुक्ति नदिन, अन्य दोषीको खोजी गरी तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न तथा डुबेको सर्वसाधारणको बचतको साँवा ब्याजसहित फिर्ता गर्ने वातावरण बनाउन माग गरेका थिए।

सदरमुकाम दिक्तेलमा कार्यालय रहेको लालुपाते सहकारीमा जिल्लाका विभिन्न ठाउँका ४ हजार ५ सय बढी सर्वसाधारणको बचत गरेको पाइएको छ। तर, बचत रकमको अनियमितता भएपछि सर्वसाधारणले आफ्नो रकम फिर्ता माग्दै आन्दोलन र कानुनी बाटो अपनाएका हुन्।

२०७२ मंसिर १० गतेदेखि कारोबार सुरु गरेको सहकारीमा घोटाला भएको रहस्य भने तत्कालीन अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो। कोभिड संक्रमणमा परी जोशीको २०७८ वैशाख १५ गते निधन भएको थियो। जोशीको निधनपछि २०७८ वैशाख १६ गतेदेखि बन्द रहेको सहकारीको कारोबार अहिलेसम्म चलेको छैन।

लेखापरीक्षण प्रतिवेदनका अनुसार सहकारीबाट एकै जनाले ४५ लाखसम्म बचत गरेको पाइएको छ। त्यसैगरी विभिन्न ७४ जनाले न्यूनतम ३० हजारदेखि ७५ हजारसम्म ऋण लिएको प्रतिवेदनले देखाएको छ। जमिनबाहेक सहकारीले गरेको लगानीको साँवा ब्याज करिब १० करोड रहेको पाइएको छ। 

लेखापरीक्षण प्रतिवेदनले बचतकर्तालाई साँवा ब्याज गरी ७ करोड फिर्ता दिनुपर्ने देखाएको छ। पूर्व पदाधिकारीले तत्कालीन अध्यक्ष जोशीको निधन भएपछि ऋण उठाउन नसकेर बचत फिर्ता गर्न नपाएको भन्दै टार्ने गरेको बचतकर्ता सर्वसाधारणको भनाई छ।

प्रकाशित: १४ कार्तिक २०८० १२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App