२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘भिक्टोरिया क्रस’ विजेता पुनको घर संग्रहालय बन्ने

म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा संग्रालय बनाउन स्व. तुलबहादुर पुनको परिवारले खरिद गरेको घर। तस्बिर: हरिकृष्ण/नागरिक

नेपालका गोरखाली सैनिक संसारमै वीरता र साहसका लागि प्रख्यात छन्। दोस्रो विश्वयुद्धमा युद्धकला प्रदर्शन गरेबापत सर्वोच्च युद्वपदक ‘भिक्टोरिया क्रस’ विजेता स्व. तुलबहादुर पुनको नाममा संग्रहालय बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ।

गोर्खा आन्दोलनका महानायकका रूपमा समेत चिनिने म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा भिसी तुलबहादुरको नाममा संग्रालय बनाउन छोरा अर्जुन तिलिजाले करिब चार आनाको घर खरिद गरेको करिब आधादशक पछि गाउँपालिकाले डिपिआर तयार गरेको छ।

स्व. पुनको जन्मघर रघुगंगा गाउँपालिका–१ बादुक र सोही वडाको बजारी क्षेत्र पर्ने बेनी–जोमसोम सडकखण्डको कालिका माविनजिकै घर किनिसकिएको छ।

विश्वभर नै चर्चित व्यक्ति जन्मिएको ठाउँ बाँदुकलाई अध्ययन केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहे पनि अहिलेसम्म त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसेकेको भन्दै भिसी पुनको सक्रियतामा सुरु भएको अभियानलाई जनप्रतिनिधिले समेत सघाएपछि अब उनको जन्मथलोलाई अध्ययन केन्द्रका रूपमा विकास गर्न सजिलो भएको छ।

घरलाई नै संग्रालयका रूपमा विकास गर्न भिसी पुनले प्रयोग गरेका सामानलाई संरक्षण गर्ने, पुराना र स्थानीय औजार, सामान, उपज, संस्कृति र भेषभूषालाई समेत संग्राहालयमा राख्नेगरी भिसीको सम्झनामा संग्राहलय बनाउने रघुगंगा गाउँपालिका–१ का वडा सदस्य एवं भिसी तुलबहादुर पुन युवा क्लबका संस्थापक अध्यक्ष बलमान गौचनले बताए।

जन्मस्थानको अवलोकन भ्रमण गराउन र भिसीका जीवन्त र वास्तविक कथा सुनाउन स्थानीय पथप्रदर्शकलाई उचित सीपमूलक र भाषामूलक तालीम सञ्चालन गर्ने योजना बनाइएको छ। बादुकको कृष्ण आधारभूत विद्यालय र तिप्ल्याङमा तत्कालीन कालिका माविको संस्थापकसमेत रहेका पुनले गाउँको विकासमा समेत ठूलो योगदान पुर्‍याएका थिए।

 संग्रालयबाट प्राप्त आम्दानीलाई स्थानीय सामुदायिक विद्यालयमा खर्च गर्ने योजना समेत रहेकाले सरकारी निकायबाट सहयोग प्राप्त नभए बेलायतमै अभियान सञ्चालन गर्ने योजना छ।

मगर कला संस्कृति, बेगसँग जोडिएको दोस्रो अग्लो र लामो पुल झोलुङ्गे पुल भएको बादुक गाउँमा स्व. पुन नाममा संग्राहालय निर्माण गर्न सकेमा आन्तरिकसँगै बाह्य र अध्ययनका लागिसमेत पर्यटकीय गन्तव्यका रूपमा विकास गरी स्थानीयको आयआर्जनमा टेवा पुर्‍याउन सक्ने वडाध्यक्ष बिलबहादुर फगामीले बताए।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले संग्रालयको डिपिआर तयार गरिएकाले अब कामले गति लिने बताए। उनले भिसी पुनको जन्मस्थल आसपासका क्षेत्रमा निर्मित हुने ठूला योजनाहरूको नामकरणसहित आन्तरिक पर्यटकलाई समेत आर्कषित गर्ने योजनाबारेमा आवश्यक अध्ययन भइरहेको बताए।

जन्मभूमि र स्वर्गारोहण भएको स्थानमा संग्रालय बनाउने भिसी पुन परिवारको चाहनालाई गाउँपालिका र स्थानीयले समेत सघाएका छन्। भिसी पुनको समाधीस्थलमा समेत स्थानीयले संरक्षण तथा पुन्यतिथिमा श्रद्धाञ्जलिसभा गर्ने गरेका छन्।

म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले तुलबहादुर पुन भिसी वीरता, समाज सेवा र समानताको आन्दोलनका प्रेरणा भएकाले समुदायका अभियानमा पूर्ण साथ र सहयोग हुने बताए। उनले संग्रालय बनाउने तथा आन्तरिक तथा बाह्य पर्यटकलाई समेत भिœयाउन थप पूर्वाधारहरू समेत विस्तार गर्न सकिने बताए।

गोर्खा सेनाबाट अवकाश पाएसँगै भिसी पुन आफ्नै गाउँ फर्किएर गोरखा वेलफेयर ट्रस्टमार्फत विभिन्न सामाजिक गतिविधिमा सक्रिय थिए। सामाजिक सेवाकै क्रममा गाउँको प्रधानपञ्चमा समेत निर्वाचित भए। जिल्ला पञ्चायत तथा धवलागिरी अञ्चलको सदस्यको रूपमा पनि काम गरेका तुलबहादुरले खानेपानी र विद्यालय स्थापनासँगै अन्य सामाजिक अभियानमा समय दिए। विसं २१ फागुन १९६९ मा बाँदुकमा जन्मिएका तुलबहादुरको ८९ वर्षको उमेरमा २०६८ सालमा तिप्ल्याङमा निधन भएको थियो।

बेलायतको उच्च शैन्य सम्मान पाएका भिसी तुलबहादुरका नाममा तिप्ल्याङदेखि बाँदुक गाउँ जोड्ने सडकलाई भिसी मार्ग भनेर नामकरण गरिएको छ।

भिसी सौर्य पदक मुलतः शत्रु पक्षको उपस्थितीमा आफनो राष्ट्रको लागी अद्धितीय पराक्रम र निष्ठा युद्धभूमिमा प्रर्दशन गरे वापत प्रदान गरिने व्यक्तिगत अदम्य साहस र उच्चतम बहादुरीको प्रतीक हो।

बेलायत अधिनस्थ भारतिय सेनाको १०११९ नम्बर सिक्स गोर्खा राइफल्स, पल्टनमा कार्यरत रहँदा २३ जुन १९४४ मा बर्माको मकाउको रेल्वे पुलमा जापानी सैनिकसंगको भीषण युद्धमा घाइते अवस्थामा पनि एक्लै बहादुरीपूर्वक लडी युद्ध जितेकाका पुनले एक्लैले जापानि सैनिकलाई परास्त गरी दुईवटा मेसिनगनसहित धेरै हतियार कब्जा गरेका थिए। यो पदक नयाँ दिल्लीको लालकिल्ला लर्ड ओभेलमा १ जनवरी १९४५ मा प्रदान गरिएको थियो।

बेलायतको एक रेल सेवाले स्व. तुलबहादुर पुनको सम्मानमा रेल सेवाको नामकरण समेत गरेको छ। बेलायती अभिनेत्री जोअना लुम्लेले बेलायती जनताको हृदयमा सधैं स्थान पाउने एउटा निष्ठावान् कमाण्डर, बेलायतीको महानायक भएको घोषणासमेत गरेकी थिइन्। पुनले भिक्टोरिय क्रस पाउँदा २१ वर्षका थिए ।

प्रकाशित: १२ कार्तिक २०८० ०२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App