२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

करोडौं लगानीका चिस्यान गृह अलपत्र

पर्वत जिल्लाभित्र करोडौं रूपैयाँ लगानीमा निर्माण भएका चिस्यान गृह प्रयोगविहीन भएका छन्। प्रयोग भएका कतिपय गृह पनि आंशिक मात्रामा सञ्चालनमा रहेका छन्।

जिल्लाका विभिन्न क्षेत्रमा चिस्यान केन्द्र कृषकले उत्पादन गरेका तरकारी, फलफूल तथा अनाज भण्डारण नगरी सीधै व्यापारीलाई ठेक्कामा बिक्री गर्दा प्रयोगविहीन बनेका हुन्। कृषि ज्ञानकेन्द्र पर्वतका अनुसार हाल जिल्लाभित्र विभिन्न प्रकृति र उद्देश्यका आठवटा चिस्यान केन्द्र छन्।

जिल्लाभित्र रहेको चिस्यान गृहको क्षमता करिब ६४.५ मेट्रिकटन छ। तीमध्ये १० मेट्रिकटन क्षमताका भोक्सिङ, शालिजा र बनौंमा रहेका तीनवटा चिस्यान गृहमा फलफूल र तरकारीको याममा मात्र आलु भण्डारण गर्ने गरिन्छ।

त्यसैगरी बाँसखर्कमा १० मेट्रिकटन क्षमता रहेको एक र कुर्घामा दुई दशमलव पाँच मेट्रिकटन क्षमता रहेका दुईवटा चिस्यान केन्द्रमा मौसमअनुसार सुन्तला र आलु स्टोर गरिँदै आएको छ।

‘हामी जसरी कोल्ड रुम बनाउन बजेटका लागि खट्छौं, भनसुन गर्छौं, सोहीअनुसार सञ्चालनमा समेत यथोचित ध्यान नदिँदा अपेक्षित लाभ दिन नसकेका हुन्’, कृषि ज्ञानकेन्द्र, पर्वतका प्रमुख मनिता थापाले भने, ‘राज्यले भौतिक संरचनाका लागि मात्र बजेट विनियोजन गर्नुभन्दा निर्माणपश्चात्का जटिलता, प्राविधिक ज्ञान, सहुलित विद्युत्लगायतका पक्षमा समेत यथोचित ध्यान दिनुपर्छ।’

थापाले चिस्यान केन्द्र निर्माण गरे पनि कृषकले भण्डारण नगरी ठेक्कामै आफ्ना उत्पादन बेच्ने परिपाटी विकास हुँदै गएकोे र कृषि उपज टिप्ने, संकलन गर्ने तथा भण्डारण गर्ने आवश्यक ज्ञान उनीहरूमा नदेखिएकाले फसल लामो समयका लागि स्टोर गर्न समस्या देखिएको बताए।

त्यसैगरी पाँच वर्षअघि कुश्मा नगरपालिका–९ कटुवाचौपारीको बाह्रबिसेमा निर्माण गरिएको कोल्डरुममा आलु भण्डारण हुँदै आएको छ। कटुवाचौपारीको कोल्डरुममा विगत चार वर्षसम्म प्राविधिक ज्ञानको अभावका कारण केही कृषिउपज कुहिएर गएका थिए भने पछिल्लो समय आलु भण्डारण सफल देखिएको सञ्चालक राजबाबु पिसीले जानकारी दिए। उनले आगामी दिनमा मासु स्टोर गर्न सकिने कोल्डरुम निर्माणको सोचमा आफू रहेको जानकारी दिए।

त्यसैगरी पैयुँ गाउँपालिका–४ हातेमालो चोकमा चिस्यान गृह निर्माण भएर पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन। पैंयुको चिस्यान गृह निर्माणका लागि कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र ललितपुरको ११ लाख र पैंयु गाउँपालिकाको ११ लाख रूपैयाँ लगानी रहेको छ। तर विद्युत् जडान समस्याका कारण हालसम्म सञ्चालनमा आउन नसकेको पैंयु कृषि शाखाका नायव प्राविधिक सहायक सन्दिप तिवारीले जानकारी दिए।

‘राज्य तथा व्यक्ति भौतिक संरचना निर्माणका क्रममा अहोरात्र खट्ने तर निर्माणपश्चात्को व्यवस्थापकीय पक्षमा उदासीन देखिने प्रवृत्तिका कारण चिस्यान गृह अपेक्षाअनुसार सफल हुन नसकेका हुन्’, स्थानीय कृषक सरोज खनालले भने, ‘सरकारले भौतिक संरचना निर्माणमा मात्र होइन दीर्घकालसम्म कोल्डरुम सञ्चालनमा समेत नीति नै बनाएर कृषक सँगसँगै हातेमालो गर्नुपर्छ। तब मात्र कृषकका लागि ल्याएका सुविधा सार्थक र कृषक केन्द्रित हुनेछन्।’

कृषिउपज टिप्ने, अल्पकालीन भण्डारण गर्ने तथा ढुवानी गर्नेलगायतका विषयमा यथेष्ट ज्ञान, कोल्डरुमसम्बन्धी प्राविधिक ज्ञान र सहुलित विद्युत् उपलब्ध गराउने राज्यको नीति नबन्दासम्म लगानी परिणाममुखी नहुने सरोकारवालाको भनाइ छ। दक्ष प्राविधिक तथा ज्ञान, विद्युतीकरण र सहुलियत विद्युत् उपलब्ध गराउने नीति अभावका कारण समस्या हुने गरेको सुन्तला कृषक उमाकान्त शर्माले बताए।

प्रकाशित: ११ कार्तिक २०८० ०५:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App