२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गलकोटमा ज्येष्ठ नागरिकलाई दशैं खर्च

ज्येष्ठ नागरिकलाई दशैं खर्च हस्तान्तरण गर्दै गलकोट नगरपालिका—२ का वडाध्यक्ष हिमबहादुर भण्डारी ‘हेमन्त’। तस्विरः नागरिक

जिल्लाको गलकोट नगरपालिका—२ नरेठाँटीकी ९३ वर्षीया बसन्ताकुमारी भण्डारी नगरपालिकोले दशैं खर्च दिएकोमा दंग छिन्। सरकारले समयमै बजेट नपठाएका कारण कतिपय स्थानीय तहले सामाजिक सुरक्षा भत्ता समेत वितरण गर्न नसकिरहेको अवस्थामा गलकोट नगरपालिकाले भने जेष्ठ नागरिकलाई दशैं खर्च बाँडिरहेको छ।

गलकोट नगरपालिका—२ का वडाध्यक्ष हिमबहादुर भण्डारी ‘हेमन्त’ ले जेष्ठ नागरिकको घरमै पुगेर सन्चो बिसन्चो सोध्दै सामाजिक सुरक्षा भत्ता हातमै हालिदिएका छन्।

‘म त हिँड्न सक्दिन, यी बाबुहरु घरमै आएर मलाई पैसा दिए, मलाई खुसी लागेको छ,’ भण्डारीले भनिन्,‘यस्तो बुढो उमेरमा पनि हामीलाई सरकारले सम्झिदा खुसी लाग्ने रहेछ।’ उनले आफुले पाएको रकमले मिठो खाने नाति नातिनालाई दिने पनि सुनाइन्। ‘पहिले त यस्तो थिएन, अहिले घरमै आएर मलाई पैसा दिए, सन्चो बिसन्चो के छ भनेर सोधे,’उनी भन्छिन्,‘म हिँड्न नसक्ने मान्छेले अरु त के गरुँ, मिठो खानेकुरा किनेर खान्छु। बच्यो भने छोराछोरी नाति नातिनलाई दिन्छु।’

गलकोट नगरपालिका भित्रका ११ वटै वडामा रहेका ८५ वर्ष माथिको ज्येष्ठ नागरिकले यसैगरी दर्शै खर्च पाएका छन्। सबै ज्येष्ठ नागरिकलाई घर घरमै पुगेर दसैं खर्च हस्तान्तरण गरिएको गलकोट नगरपालिका—३ का वडाध्यक्ष फम खत्रीले बताए। ‘हामीहरु आफै ज्येष्ठ नागरिकको घर घरमा पुगेर उहाँहरुसंग गफगाफ गर्ने, स्वास्थ्य अवस्था र पारिवारिक स्थीति बुझ्ने पनि गरेका छौं,’खत्रीले भने,‘म र वडा सचिव नै हरेक ज्येष्ठ नागरिकको घरमै पुगेर मेरो वडाका झण्डै तीस जनालाई यो रकम हस्तान्तरण गरिसक्यौं, एक दुई जना बाँकी हुनुहुन्छ त्यहाँ पनि हामी पुग्छौं।’ अर्को वर्ष स्वास्थ्य सेवा समेत ज्येष्ठ नागरिकलाई दिने गरी योजना बनाउने उनले बताए। 

गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ देखि नै नीतिगत निर्णय गरेर ८५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई चाडबाड खर्च उपलब्ध गराउँदै आएको वडा नम्बर २ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी ‘हेमन्त’ले बताए। ‘हामीले विगत पाँच आर्थिक वर्षदेखि नै यो काम गर्दै आएका छौं,’प्रवक्ता भण्डारीले भने,‘गतवर्ष हामीले दुई सय १७ जना ८५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई यो रकम दिएका थियौं। यो पटक दुई सय ४० जना जति हुनुहुन्छ।’

संघीय सरकारले सामाजिक सुरक्षा भत्ता दिए जस्तै सम्मान स्वरुप रकम उपलब्ध गराउँदै आएको उनको भनाइ छ। ‘ज्येष्ठ नागरिक दिवसको सन्दर्भ पारेर ज्येष्ठ नागरिकहरुको सम्मान हामीले यो वितरण गर्ने व्यवस्था मिलाएका हौं,’उनले भने,‘ज्येष्ठ नागरिकसंग जनप्रतिनिधिले भेटघाट गर्ने, उहाँहरुको घरमै पुगेर समस्या बुझ्ने परिवारसंग कसरी बस्नुभएको छ हेर्ने र सम्मान स्वरुप तीन हजार रुपैयाँ दिने गरेका छौं।’

चाडवाडमा ज्येष्ठ नागरिकको खर्च पनि बढि हुने भएकाले यही समयमा रकम दिने व्यवस्था मिलाएको उनी बताउँछन्। ‘दशैंमा टीका थाप्न आएकाहरुलाई दान दक्षिणा पनि दिनुपर्ने भएकाले ज्येष्ठ नागरिकहरुको धेरै खर्च हुन्छ,’भण्डारीले भने,‘यतिबेलै दिँदा उहाँहरुलाई पनि सहयोग नै पुग्ने देखेर दशैंमा दिन थालेका हौं।’  

प्रकाशित: ४ कार्तिक २०८० ०२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App