९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

माइपोखरीमा त्रि-धार्मिक महोत्सव

त्रि-धार्मिक महोत्सव हुन लागेको इलामको माइपोखरी। तस्बिर: भीम/नागरिक

रामसार क्षेत्रमा सूचीकृत तथा जैविक विविधताको संगमस्थल माइपोखरीमा त्रि–धार्मिक महोत्सव आयोजना गरिने भएको छ। विश्वशान्तिको कामना गर्दै माइपोखरीमा आउँदो मंसिर १ देखि ८ गतेसम्म हिन्दू, बौद्ध र किरात धर्मावलम्बीले संयुक्त रूपमा महोत्सव आयोजना गर्ने भएका हुन्।

महोत्सव अवसरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ भने २५ बौद्धगुरु र किरात धर्मगुरुले पूजापाठ, मन्त्रोच्चारण लगायत क्रियाकलाप सञ्चालन गर्नेछन्। आयोजक समितिले धार्मिक आस्थाको केन्द्र माइपोखरीको प्रचारप्रसार र धार्मिक सहिष्णुुता कायम राख्न सबै समुदायका बासिन्दा यस महोत्सवमा सहभागी हुने जनाएको छ।

आयोजक समिति उपाध्यक्ष गृष्म सुब्बाले माइपोखरी नेपाल मात्र होइन, देश–विदेशका विभिन्न धर्मावलम्बीको आस्थाको केन्द्र रहेको बताए।

‘माइपोखरीको दर्शन गर्दा पुण्य प्राप्ति हुने जनविश्वास छ,’ उनले भने, ‘वर्षाैंयता माइपोखरी धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा सुरक्षित छ, यसलाई प्रचार गरी माइपोखरीप्रतिको आस्था संसारभर पु¥याउन महोत्सव आयोजना गरेका हौं।’

सदरमुकामबाट करिब १३ किलोमिटरमा रहेको माइपोखरीमा २०७० असार ८ देखि १० गतेसम्म यस्तै बहुधार्मिक उत्सव सञ्चालन गरिएको थियो। माइपोखरीमा कुनै ‘अनिष्ट’ भए पानी सुक्ने जनविश्वासमा स्थानीयले विभिन्न धार्मिक कार्यक्रम आयोजना गर्ने गरेका छन्। यस पटक ठूलो संख्यामा पर्यटक आकर्षित गर्नेगरी महोत्सव आयोजना गरिएको आयोजक समिति सदस्य श्यामकुमार राईले बताए।

‘माइपोखरीको महिमा विश्वभर छर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेका हौं,’ उनले भने, ‘धार्मिक सहिष्णुताको उत्तम नमुनासमेत रहेको माइपोखरीका माध्यमबाट पर्यटकीय प्रवद्र्धन गर्ने लक्ष्य छ।’

आयोजक समिति सदस्य देवेन्द्र सुवेदीले माइपोखरी इलामको ‘हीरा’ भएको भन्दै यसलाई सबै देशवासीले चिन्नु आवश्यक रहेको बताए। ‘माइपोखरीको प्रचार गर्नसके इलामको आर्थिक विकासमा मात्र होइन, देशकै समृद्धिमा समेत टेवा पुग्छ,’ उनले भने, ‘तर हामीले माइपोखरीको महŒव र सम्भावनालाई केलाउन सकेका छैनौं।’

सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले माइपोखरी धार्मिक र जैविक विविधताको सर्वाेत्तम नमुना भएको बताए। उनले माइपोखरीमा आयोजना गरिने जुनसुकै धार्मिक र सांस्कृतिक क्रियाकलापले गाउँपालिकाकै प्रचारमा ठूलो भरथेग गर्ने बताए।

 ‘विश्व संरक्षण सूचीमा समेत रहेको माइपोखरी देशको गहना हो, यसको प्रवद्र्धन र विकासमा स्थानीयले पहल गरिरहनुभएको छ,’ उनले भने।

धार्मिक आस्था होस् या पर्यटकीय र जैविक सबै हिसाबले घुम्ने ठाउँ बनेको छ इलामको सन्दकपुर गाउँपालिकास्थित माइपोखरी। उच्च पहाडको टाकुरामा कसैले फुर्सदमा कुँदेजस्तो नौ कुनाको पोखरी छ। वरिपरि हरियालीभित्र कतैबाट पनि पूरै भाग नदेखिने भएकाले आधाजसो कुना घुमेरै मात्र देखिनु यसको अर्काे विशेषता हो।

हिउँद या बर्खा, माइपोखरीमा पर्यटक धुरिइरहन्छन्। शनिबार र मंगलबार पर्यटक अधिक आउने माइपोखरी अरू बेला पनि आगन्तुकले खाली हुँदैन। इलाम, पाँचथर, झापा, मोरङ, सुनसरीलगायत धेरै जिल्लाका पर्यटक माइपोखरीमा आउँछन्।

पहाडको थुम्कामा भएकाले निकै चिसो हुने माइपोखरीमा हिउँदको चिसोमा पनि पर्यटक उस्तै रमाइरहेका हुन्छन्, गर्मीमा त माइपोखरी सबैका लागि रोजाइ नै हुन्छ।

चैत लागेर वरपर ढकमक्क गुराँस फुलेपछि माइपोखरीले पर्यटक तान्छ। तराईमा गर्मी बढेका बेला माइपोखरीको चिसो खान आउनेको लहर लाग्छ। बाहिरी जिल्लाबाट मात्र होइन, इलामकै विभिन्न स्थानबाट माइपोखरी घुम्न आउने पर्यटक पनि बर्सेनि धेरै हुन्छन्। ‘कहिलेकाहीँ त टीका लगाएर पनि भ्याउन मुस्किल पो पर्छ,’ माइपोखरी मन्दिरका पुजारी तुलाराम पौडेल भन्छन्, ‘नेपाल र भारतबाट यहाँ आउने पर्यटकको संख्या धेरै हुन्छ।’

दुई हजार एक सय २१ मिटर अग्लो डाँडामा रहेको माइपोखरीको दुई हेक्टर जलाशय र १२ हेक्टर सिमसारलाई अत्यन्त संवेदनशील मानिएको छ। बाक्लो कुहिरोले छाडेर आकाश छ्याङ्ग खुल्नेबित्तिकै माइपोखरी निकै मनमोहक देखिन्छ। हरिबोधनी एकादशी र प्रत्येक वैशाख १ गते यहाँ ठूलो धार्मिक मेला लाग्छ।

माइपोखरी वरपर अहिले होम–स्टेसमेत राखिएका छन्। यहाँ आउने पर्यटकले फूल, आलु, मुला, अर्गानिक चिया र तरकारी खान पाउँछन्। किनेर पनि लैजान्छन्। दर्जनौं प्रजातिका चाँप, गुराँस र लोपोन्मुख जडीबुटीले घेरिएको माइपोखरीमा आकाश उघ्रेका बेला कञ्चन पानीमा कोणधारी धुपी–सल्लाघारीको छाया देखिन्छ। प्रेमजोडीको त गन्तव्य हो नै, माइपोखरीमा नवदम्पती बिहेलगत्तै जीवनको अटुट कसम खान पुग्छन्। तीर्थ–व्रत गर्न टाढा–टाढादेखि आएका वृद्धवृद्धाको लहर लाग्छ।

‘माइपोखरी पर्यटकीय मात्र नभई धार्मिक क्षेत्र पनि भएकाले मौसमले मानिस आउ–जाउमा उत्ति असर पार्दैन,’ होम–स्टे व्यवसायी जीवन शिवा भन्छन्, ‘गर्मी मौसममा पर्यटक धेरै आउँछन्, चिसो मौसममा पनि धार्मिक पर्यटक चाहिँ धेरै नै आएका हुन्छन्।’

पोखरीको वरपर ९० हेक्टरको धार्मिक वन छ। न्यूनतम तीनदेखि अधिकतम १७ डिग्रीसम्म सेल्सिएससम्म तापक्रम पुग्छ। दुर्लभ वन्यजन्तु पाइने माइपोखरीमा वनस्पति पनि दुर्लभ नै भेटिन्छन्। गलैंचे झ्याउ माइपोखरीमा मात्रै पाइन्छ भनिन्छ।

अध्ययनहरूका अनुसार स्थानीय धार्मिक वन समूहका अनुसार यहाँ १४ प्रजातिका स्तनधारी, १२ प्रजातिका सरिसृप र ६ प्रजातिका उभयचर पाइन्छन्। रुख भ्यागुतो, ठकठके, खस्रेपाहा, आहाले पाहा, ट्यांट्याङ पाहा, हरियो छेपारो, चंखे सर्प र विश्वको लोपोन्मुख ओत पनि यही विविधतामा रमाउँछन्।

तीन प्रजातिका रैथाने माछा, काकाकुल, भुँडीफोरा, हिमाली गिद्धजस्ता तीन सय प्रजातिका पक्षी ओहोर–दोहोर गर्छन् माइपोखरीमा। श्रीलंका–साइबेरिया आउ–जाउ गर्ने चराको मार्ग पनि माइपोखरी नै रहेको चराविद् बताउँछन्।

विभिन्न समयमा माइपोखरीको विकासका लागि भएका अध्ययनमा यहाँ ६२ प्रजातिका जडीबुटी पाइएका छन्। दर्जनौं प्रजातिका चाँप, कटुस, झिँगाने, उतिस, लौठसल्ला, चिराइतो, सतुवा, जटामसी, ओखेआलु, बुढोओखती पाइन्छ।

चिमाल प्रजनन अनुसन्धान क्षेत्र, रक गार्डेन, जडीबुटी प्रदर्शनी प्लट, लोठसल्ला प्लट, अर्किड उद्यान, जर्मन प्लान्ट, शोभनीय बगैंचा देखिन्छन् यहाँ। प्रत्येकजसो बिरुवामा तिनका स्थानीय र वैज्ञानिक नाम अंकित गरिएको छ।

यहाँ १९७० सालतिर स्थानीय समुदायले वृक्षरोपण गरेको वृद्धवृद्धा बताउँछन्। विभिन्न सात धार्मिक पोखरीको पानी यहाँ मिसाइएकाले माइपोखरी पुग्दा ती पोखरीको दर्शन पनि यहीँ मिल्ने माइपोखरी मन्दिरका पुजारी तुलाराम पौडेलको भनाइ छ।

२८ अक्टोबर सन् २००८ मा दक्षिण कोरियाको चाङबाङमा सम्पन्न रामसार महासन्धिको दसौं बैठकले माइपोखरीलाई विश्वसम्पदा सूचीमा राखेको हो। 

प्रकाशित: ३ कार्तिक २०८० ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App