१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

छातीमा जमरा उमार्दै सापकोटा

दसैंका बेला घरघरमा दुर्गा भवानीको पूजासँगै जमरा उमार्ने चलन छ। ती जमरा मान्यजनका हातबाट टीकासँगै ग्रहण गर्ने परम्परा छ। तर, दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका-२ स्थित एक मन्दिर परिसरमा ५१ वर्षीय प्रह्लाद सापकोटाले छातीमा दसैँको जमरा उमारेका छन्।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले व्रतमा बसेको दुई दिनपछि जमरा उम्रिएको बताए। मन्दिरमा दैनिक पूजापाठ हुने गरेको र छातीमा उम्रिएको जमरा हेर्न भक्तजनको घुइँचो लाग्ने गरेको छ।

गाउँपालिकाकी उपप्रमुख पुजन न्यौपानेका अनुसार स्थानीय पाथीभरा मन्दिरमा घटस्थापनाका दिनदेखि निराहार व्रत बसेका सापकोटाले दसैँमा टीका लगाउन छातीमा जमरा उमारेका हुन्।

गत असोज २८ गते बिहान पूजापाठ गरेर सापकोटा मन्दिर परिसरमा सुतेका हुन्। जमरा रोप्नुभन्दा दुई दिनअघिदेखि पानी र अन्नसमेत नखाई निराहार व्रतमा रहेका उनले दुर्गा भगवतीको प्रसादको रूपमा जमरा प्रयोग गरिने बताए। छातीमा बालुवामाथि टपरामा जमरा उमार्न मकै, जौ लगायतका अन्नका दाना रोपिएको थियो।

यसरी जमरा उमार्दा कुनै शारीरिक कष्ट नभएको सापकोटाले बताए। उनले व्रतका बेला मलमूत्र समेत त्याग गरेका छैनन्। सापकोटाले आफूलाई पाथीभरा भगवतीको भक्त ‘माता गुरु’ बताउने गरेका छन्। उनका छ सेवकले मन्दिर क्षेत्रमा आउने भक्तजनको व्यवस्थापन गरिरहेका छन्।

स्थानीय तारा गिरीले जीवनमै पहिलोपल्ट छातीमा जमरा उमारेर निराहार व्रत बसेको देख्दा अचम्म लागेको बताए।

महानवमीका दिन एक लाख दीप प्रज्ज्वलन गरेर व्रत समापन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए। दसैँको महानवमीका दिनसम्म दुर्गा भवानीको विधिपूर्वक पूजा गरेर छातीमा राखिएको मकै र जौँको जमरालाई प्रसादका रूपमा सर्वसाधारणलाई दिइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कार्कीले बताए।

प्रकाशित: २ कार्तिक २०८० ०७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App