घटना नं. १:
२०७२ साल मंसिर ९ गते नेपाल छिरेर सुनसरी कोशी गाउँपालिका (साबिक हरिपुर) मा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले गाउँलेमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा चार जना घाइते भएका थिए। नेपाली गाउँमा प्रवेश गरी ताकी ताकी गोली हान्ने एसएसबीका जवानलाई कारबाही नभएकोमा गाउँलेको अहिले पनि घटना सम्झँदा आङ सिरिङ्ग हुन्छ।
गोली लागेर त्यति बेला घाइते भएका सरोजकुमार यादवले एसएसबीका जवानबाट जहिल्यै त्रासमा बाँच्नु परेको बताए। त्यो बेला भारतीय प्रहरीले गोली प्रहार लगतै गल्ती भएको स्वीकारेको थियो। त्यति बेला तत्कालीन सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले नेपालीलाई गोली प्रहार गर्नेलाई कारबाही गर्न भारतीय सुरक्षा अधिकारीसँग पटक–पटक माग गर्नुको साथै विभागीय छानबिन गर्न माग गरेका थिए। तर पुरा हुन सकेन्।
घटना नं. २:
दुई वर्षअघि सुनसरीकै दक्षिण सीमावर्ती क्षेत्रमा हतियारधारी समूह र प्रहरीबिच गोली हानाहान भयो। गोली हानाहान पछि दुई जना हतियारधारी समूहलाई प्रहरीले पक्राउ गरेको थियो भने अन्य तीन जना भने भाग्न सफल भएका थिए।
घटना नं. ३:
२०७५ असोज ४ गते भारतीय हतियारधारी समूहले नेपाल आएर सुनसरी हरिनगरको भूटाहाका विद्यालय सञ्चालकलाई हत्या गरे। चार जनाको संख्यामा आएको हतियारधारी समूहले हरिनगर वडा नं. २ का मौलान खुर्सिद आलमको हत्या गरेका थिए। रैरयान नेशनल स्कुलका सञ्चालक तथा प्रिन्सिपल ५० बर्षीय खुर्सिदको हत्या भएपनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन्।
यसरी सीमावर्ती क्षेत्रमा एकपछि अर्को घटना हुने गरेका छन्। यी माथिका घटना त उदाहरण मात्र हुन्। भारतबाट नेपाल प्रवेश गरेर एसएसबीका जवानले गरेको घटना होस् वा नेपालमा भएका घटना नियन्त्रणमा एसएसबीका जवानको भूमिका फिटिक्कै चित्तबुझ्दो नभएको सीमावर्ती क्षेत्रका वडाध्यक्षले गुनासो गरेका छन्।
‘अहिले पनि नेपालका गाईबस्तु भारतीय डाका समूहले रातको समयमा लुटेर लान्छन अनि बिहान जसको गाईबस्तु लुटिएको छ, उसैसँग पैसा बार्गेनिङ गर्न आउँछन्,’ सुनसरी हनिरगर वडा नं. ७ का वडाध्यक्ष मोज्जमिल खानले भने, ‘नेपालमा आएर भारतीय समूहले यत्रो ज्यादती गर्दा पनि यसलाई नियन्त्रण गर्न भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानको कुनै सपोर्ट हुँदैन।’ उनले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणको बिचल्ली भएको छ, युवा पुस्ता कुलतले बिग्रिएको बताए। ‘एसएसबीको व्यवहार नेपाली नागरिकप्रति राम्रो छैन,’ उनले भने, ‘सर्वसाधारणलाई शान्ति–सुरक्षाको अनुभूति गराउने सुरक्षा निकाय गम्भीर भएर लाग्नुपर्ने अवस्था छ।’
सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी पकली सुनसरीद्वारा बुधबार भारत र चीनसँग सीमा जोडिएका सीमावर्ती क्षेत्रका वडाका वडाध्यक्षसँग गरेको अन्तरक्रिया कार्यक्रममा नेपाली नागरिकप्रति एसएसबीका जवानले जहिल्यै हेपाहा व्यवहार गर्ने गरेको झापा गौरीगञ्ज वडा नं. ५ का वडाध्यक्ष विजयप्रसाद सिंहले बताए। उनका अनुसार गौरीगञ्जको फत्तेपुरको दस गजा क्षेत्रमा भारतीय पक्षले भौतिक संरचना निर्माण गरेर थप ज्यादती गरेका छन्। उनले भने,‘भौतिक संरचना बनाउँदा स्थानीय स्तरबाट पहल गर्दा पनि त्यो पूरा भएन, एसएसबीका जवानसँग बोल्ने सभ्यता नै छैन्।’ उनका अनुसार दुई देशीय सुरक्षाकर्मीको बैठकमा एसएसबीका जवानको व्यवहार सच्चाउनका लागि नेपाली सुरक्षा निकायले सुल्झाउनु पर्छ।
झापाको झापा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष कृष्णप्रसाद राजवंशीका अनुसार सीमा क्षेत्र बिरिङ् खोला क्षेत्रमा गाडिएका पिलर एसएसबीकै जवानका कारण मिचिएको दाबी गरे। ‘एसएसबीका जवानको बलजफती बढी नै छ, यसप्रति नेपाली पक्ष पुरै सचेत हुनुपर्छ,’ राजवंशीले भने।
लागूऔषध सहजै नेपाल भित्रिनुको मुख्य दोष पनि एसएसबी
कोशी प्रदेशमा लागूऔषध कारोबारीको संख्या बढी रहेका बेला नेपाल भित्र्याउन पनि भारतीय एसएसबीकै जवानका कारण भएको सीमावर्ती क्षेत्रका वडाध्यक्षको दाबी छ।
झापाको झापा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष राजकुमार यादवका अनुसार एसएसबीका जवानले ब्राउन सुगर नेपाल ल्याउँदा निर्बाध ढंगले दिने गर्छन्। ‘एसएसबीका कारण हाम्रो समाजका केटाकेटीको भविष्य बिग्रिरहेको छ,’ यादवले भने, ‘यदि ब्राउन सुगर नेपाल भित्राउँदा एसएसबीका जवानले भूमिका निर्वाह गरी दिने हो त्यसरी सहजै ढंगले भित्र्याउने थिएनन्।’
झापाकै मेचीनगर वडा नं. १५ का वडाध्यक्ष गुणराज भट्टराईका अनुसार मेची नदी पारि तीन वटा बस्ती रहेकोमा ती बस्ती अहिले लागूऔषधको प्रयोगको अखडा बनेका छन्। ‘मेची पारि तीन वटा बस्ती छन्, ती बस्ती नेपाली क्षेत्रका हुन,’ उनले भने, ‘यति बेला त्यो नेपाली भूमिलाई लागूऔषधको प्रयोगकर्ताको आँतक स्थल बनाइएको छ।’ उनका अनुसार लागूऔषध प्रयोगका लागि नेपाली महिलालाई प्रयोग गर्ने गरिएको छ।
सशस्त्र प्रहरीको गतिविधिले पछिल्लो समय चोरी–निकासी नियन्त्रण भए तापनि लागूऔषधमा एसएसबीका जवानकै कारण लागूऔषध भारतबाट नेपालमा सहजै भित्रिने गरेको वडाध्यक्षहरुको भेलाको निष्कर्ष छ। लागूऔषधको व्यापार मौलाइरहँदा कारोबारीमा संलग्नले तस्करी गर्ने अनेक उपाय रच्ने गरेका छन्। लागूऔषध कारोबारीमा बढी मात्रामा पुराना व्यक्ति तथा यसका प्रयोगकर्ता नै हुने गरेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी पकली सुनसरीद्वारा भारत र चीनसँग सीमा जोडिएका सीमावर्ती क्षेत्रका वडाका वडाध्यक्षसँग गरेको अन्तरक्रिया सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने निचोड निकालेको छ। यसरी सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदा स्थानीय तह र समुदायको भूमिकाको पहिचान गरेर सशस्त्र प्रहरीले अघि बढ्ने निष्कर्ष निकालेको छ। ‘सीमा क्षेत्रको सुरक्षा मजबुन पार्नका लागि सीमा क्षेत्रमा बसोबास गर्ने व्यक्तिकै दायित्व हो,’ सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी पकली सुनसरीका डिआइजी अञ्जनीकुमार पोखरेलले भने, ‘सीमा क्षेत्रको सुरक्षा दर्बिलो पार्नका लागि अब वडाध्यक्षसँग सहकार्य गरी अघि बढ्ने वातावरण तय भएको छ।’
अन्तरक्रिया सीमावर्ती अपराध तथा गैर कानुनी क्रियाकलापलाई नियन्त्रण गर्न समुदायको भूमिकाको पहिचान, निरन्तर समन्वय, पारस्परिक सहयोग र सूचना आदानप्रदानका उपायहरुको खोजी र कार्यान्वयन विषयमा छलफल भएको थियो। अन्तरक्रिया पाँचथर, इलाम, झापा, मोरङ र सुनसरीका विभिन्न वडाबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षको सहभागिता रहेको थियो।
प्रकाशित: १ कार्तिक २०८० १२:५२ बुधबार