४५ अर्ब वर्षअघि जब यो सौर्यमण्डल बन्दै थियो, त्यसबेला समेटिएका पदार्थहरूमध्ये केही ग्रह बने, केही उपग्रह बने। यो ग्रह र उपग्रह बन्ने प्रक्रियामा केही पदार्थहरू भने पछि परे। पछि परेका केही तत्वहरूलाई क्षुद्रग्रह अर्थात् एस्टेरोइड भनिन्छ। यस्तै क्षुद्रग्रहमध्ये एउटा हो, साइक।
उल्का पिण्डभन्दा ठूला तर ग्रहउपग्रहभन्दा साना यी क्षुद्रग्रहहरू हिउँ र ढुंगाको मिश्रणबाट बनेका हुन्छन्। तर यो साइक नामक क्षुद्रग्रह ६० प्रतिशत धातुबाट बनेको छ। अहिलेसम्म वैज्ञानिकहरूले पत्ता लगाएका १० लाखभन्दा बढी यस्ता क्षुद्र ग्रहमा यति धेरै धातु हुनु दुर्लभ रहेको वैज्ञानिकहरूको तर्क छ।
यतिबेला नासाका वैज्ञानिकहरूले यी क्षुद्रहरू कसरी ग्रह वा उपग्रह बन्दाबन्दै छाडिए भन्ने अनुसन्धान गरिरहेका छन्। अर्को रोचक पक्ष के छ भने, सारा ग्रहहरू विभिन्न पदार्थहरूको मिश्रणबाट बन्ने गर्छन् तर यो शुद्ध निकेल र फलामको मिश्रणबाट बनेको पाइएको छ। हुन सक्छ, यसको बाहिरी आवरण निकेल–फलाम होस् र भित्र अरू नै पनि फेला परोस्। यस्ता कुराले वैज्ञानिकहरू यसमाथि विषद् अध्ययन गर्न जुटिरहेका छन्।
पृथ्वी खन्दै जाँदा मध्यभागमा के छ भनेर अनुसन्धान गर्न असम्भव छ। तर आकारमा काठमाडौँ उपत्यकाभन्दा केही ठूलो यो क्षुद्रको केन्द्रभागसम्म पुग्न पृथ्वीको जस्तो असम्भव छैन भन्छन् वैज्ञानिकहरू। यस्तो गर्न सके, ब्रह्माण्डका नसुल्झेका रहस्यहरू सुल्झाउन सकिन्छ कि भन्ने आशामा उनीहरू छन्।
यही आशामा साइक नामक सो क्षुद्रमा साइक नामकै अन्तरिक्ष यान गत शुक्रबार पठाइएको छ। यो यान सन् २०२९ मा साइकसम्म पुग्नेछ र त्यसको सतह अध्ययन गर्ने द वाल स्ट्रिट जर्नलले जनाएको छ।
यो यानले साइकको अध्ययन गर्ला, यसका तस्बिर र अन्य गम्भीरतम् जानकारी पनि देला तर यहाँ धातु उत्खनन गर्न र पृथ्वीमा ल्याउनु लगभग असम्भव भएको केही वैज्ञानिक तर्क गर्छन्। एक त साइकसम्म पुग्ने र त्यहाँबाट सजिलै फर्कने प्रविधि तयार छैन, दोस्रो यो यति टाढा छ कि यान लगभग मंगल र वृहस्पतिको बीच भागमा पुग्नुपर्छ। र, त्यहाँबाट फर्कन समय पनि उत्तिकै लाग्छ।
तापनि १.२ अर्ब डलरको यस्तो अनुसन्धानको आफ्नै महत्त्व छ।
प्रकाशित: १ कार्तिक २०८० ०४:२६ बुधबार