यस वर्ष मनसुनी वर्षाजन्य विपत् कारण १२ अर्ब ३० करोड ५६ लाख रूपैयाँबराबरको क्षति पुगेको छ । त्यसैगरी ९२ जनाको ज्यान गएको छ । पहिरोबाट ४५, बाढीबाट १६, भारी वर्षाबाट दुई र चट्याङबाट २९ जनाको ज्यान गएको हो । मनसुन भर्खरै बाहिरिएको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाका अनुसार जलविद्युत्तर्फ ४७ वटा आयोजनामा क्षति पुग्दा आठ अर्ब ८६ करोड रूपैयाबराबरको नोक्सानी भएको छ । कोसी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुरका जलविद्युत आयोजनामा ठूलो क्षति भएको छ ।
त्यस्तै सडक करिडोर तथा राजमार्गतर्फ २८ करोड रूपैयाँ नोक्सान भएको छ । बाढीपहिरोले १५ वटा पक्की पुल बगाउँदा १ अर्ब २० करोड, २७ वटा झोलुंगे पुलमा क्षति पु¥याउँदा १२ करोड रूपैयाँबराबरको नोक्सानी पुगेको छ । बाढीपहिरोले १६ वटा खानेपानी आयोजना बगाएको छ । जसबाट ७ करोड ९७ लाख रूपैयाँ नाक्सानी भएको छ । यस वर्षको मनसुनजन्य विपत्बाट व्यक्तिका २ सय ४३ घरमा पूर्ण र ७ सय २० घरमा आंशिक क्षति पुग्दा ३३ करोड ५७ लाख ९९ हजार ७ सय रूपैयाँ नोक्सान भएको छ । सिँचाइतर्फ ३ करोड ५० लाखरूपैयाँ बराबरको क्षति भएको छ ।
यसैगरी पशुचौपायातर्फ ३ करोड २१ लाख र कुखुरातर्फ १२ लाख ३९ हजार रूपैयाँबराबरको क्षति भएको छ । १२ सय ३७ हेक्टर कृषि जमिन नोक्सान हुँदा ४ करोड ३२ लाख ९५ हजार रूपैयाँबराबरको नोक्सान भएको छ । २५ वटा मोटरसाइकल र ११ वटा जेसिबी क्षति हुँदा १८ करोड ८५ लाख रूपैयाँबराबरको नोक्सान भएको प्राधिकरणको जनाएको छ ।
यो वर्ष नेपालमा १ सय २४ दिन मनसुन सक्रिय रहे पनि कतिपय जिल्लामा पानी पर्नेदेखि तापमान वृद्धिमा ऐतिहासिक रेकर्ड कायम भएको प्राधिकरणले जनाएको छ । यो वर्ष मनसुनको चरित्र भिन्न रहेको अनुभव प्राधिकरणका कार्यकारी अधिकृत अनिल पोखरेलले सुनाए । उनका अनुसारी मौसमले निम्ताएको विपत्तिका कारण मानवीय क्षति कम भए पनि भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । ‘दुई वर्षअगाडि मात्रै मेलम्ची, मनाङ र गोरखा जिल्लामा बाढीपहिरोले भौतिक संरचना नष्ट गरेझै यो वर्षको मनसुनले हिमाल र पहाडमा ठूला खालका क्षति निम्ताएको छ,’ उनले भने ।
‘पूर्वसूचना तथा सञ्चारको पहुँचका कारण मानवीय क्षति भने विगतको तुलनामा कम भएको देखिन्छ । तर भौतिक पूर्वाधार र संरचनामा भएको क्षति ठुलो छ,’ विपत् जोखिमविद् वसन्तराज अधिकारीले भने । तथ्य र विज्ञानमा आधारित दीर्घकालीन विपत् जोखिम न्यूनीकरणका योजना निर्माण र कार्यान्वयनमा सरकारले काम नगर्दा क्षति धेरै भएको उनको ठम्याइँ छ । बहुजोखिम थेग्ने खालका संरचनाको डिजाइनपछि मात्रै निर्माण थाल्न यस वर्षको मनसुनले राज्यलाई पाठ सिकाएको अधिकारी बताउँछन् ।
विपत् संयुक्त र शृंखलाबद्ध आउने गरेकाले यस्तो भएको विपत्का जानकार बताउँछन् । भारी वर्षा, बाढी, पहिरो र हिमपहिरो एकै साथ आउँदा भौतिक संरचनामा ठुलो क्षति पुग्न गएको हो । ‘बस्तीमै बाटो, पुल, जलविद्युत् र ठूला संरचना बनेकाले पनि बढी क्षति भएको हो’, जलवायु परिवर्तन विशेषज्ञ अरूणभक्त श्रेष्ठले भने ।
मनसुनपूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८० मा मनसुनजन्य विपत्बाट सर्वसाधारणको जिउ, सार्वजनिक निजी तथा व्यक्तिगत सम्पति, प्राकृतिक एवं सांस्कृतिक सम्पदा तथा भौतिक संरचना संरक्षण गर्न मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा समन्वयात्मक एवंं एकीकृत क्रियाकलाप तय गरी मनसुन प्रतिकार्यलाई प्रभावकारी बनाउने भनिएको थियो । तर ती कार्ययोजना अनुरूप काम नहुँदा विपत्मा क्षति बढी भएको हो ।
मनसुन सुरु हुनुअगावै सरकारले प्रतिकार्य, मानव वस्ती तथा संरचना जोगाउन योजना बनाए पनि त्यसको जिम्मेवारी कसले कसरी पूरा गर्ने भन्नेमा स्पष्ट नहुँदा कार्यान्वयनमा नआएको विपत् जोखिमविद् अधिकारीले बताए । ‘जिल्ला र स्थानीय तहबीच समन्वय अभाव र आवश्यक स्रोत र साधन अभावमा विपत् प्रतिकार्यसम्बन्धी योजना बने पनि कार्यान्वयनमा आउन सकेन’, अधिकारीले भने ।
वातावरण र संरचना नजोडीकन गरिएको विकासले विपत्मा ठूलै क्षति निम्त्याउने रहेको जानकार बताउँछन् । जलविद्युत्लगायतका ठूला संरचना जोगाउन पूर्वसूचना प्रणालीले काम नगरेको जलवायु परिवर्तन विशेषज्ञ श्रेष्ठ बताउँछन् । ‘हामीकहाँ संरचनाले समाज र वातावरणमा असर गर्दछ भन्ने अध्ययन गरिए पनि वातावरणले के असर गर्दछ भन्ने अध्ययन नै भएन । सडक, पुल र जलविद्युत् आयोजनामा नदी र खोलामा पानीको सतह बढे के हुन्छ, पहिरो आए के हुन्छ नदी थुनिए के हुन्छ जस्ता विषयमा गहन अध्ययन नगरी निर्माण गरिँदा ठूला संरचना ध्वस्त भइरहेका छन्,’ श्रेष्ठले भने । यो वर्षको मनसुनले चनाखो हुन सिकाएको कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । २०७९ सालमा मनसुनजन्य विपत्बाट १ सय ७ जनाको मृत्यु भएको थियो ।
प्रकाशित: १ कार्तिक २०८० ००:४४ बुधबार