४ असार २०८१ मंगलबार
image/svg+xml
समाज

‘लम्पीस्किन’ पीडित किसानलाई राहत

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले लम्पीस्किन रोगबाट पशुचौपाया मरेका तीन सय किसानलाई राहत वितरण गरेको छ। हालसम्म नगरका १२ वडामा तीन सय किसानको तीन सय १० पशु चौपायाको लम्पीस्किनबाट मृत्यु भएको नगरले जनाएको छ।

नगरले लम्पीस्किन पीडित किसानलाई राहत वितरणको मापदण्ड तयार गरी दुई वटासम्म पशुचौपाया मरेका किसानलाई राहत दिएको हो। मरेका प्रतिपशुचौपायालाई रु १० हजारका दरले तीन सय किसानलाई तीन सय १० पशुचौपायाको राहत प्रदान गरिएको नगर पशुपक्षी शाखाका प्रमुख लीलानाथ सापकोटाले जानकारी दिए। उनका अनुसार नगरले विपद् व्यवस्थापन कोषबाट उक्त राहत वितरण गरेको हो।

लम्पीस्किन पनौती नगरको वडा नंं १ मा ३८, वडा नं २ मा २४, ३ मा ६६, ४ मा ३५, ५ मा ३१, ६ मा ११, ७ मा चार, ८ मा १४, ९ मा ६० पशुचौपायाको मृत्यु भएको थियो। त्यस्तै वडा नं १० मा २१, वडा नं ११ मा पाँच र वडा नं १२ मा एक मरेका पशुचौपायाको परिवारलाई राहत वितरण गरिएको शाखाले जनायो।

लम्पीस्किनका कारण काभ्रेपलाञ्चोकमा हालसम्म ३१ हजारभन्दा बढी पशु सङ्क्रमित बनेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। यसमध्ये जिल्लाको १३ स्थानीय तहमा छ सय ८१ पशुचौपायाको मृत्यु भएको छ। उक्त रोगका कारण गाईगोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका हुन्। जिल्लाको सबैभन्दा वढि बनेपा नगरको छवटा वडामा एक सय १८ पशु मरेका थिए।

यो रोगको हालसम्म कुनै ठोस उपचार पत्ता लागेको छैन। लम्पीस्किन सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो। सन् २०१२ पछि मध्यपूर्व, दक्षिणपूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै विसं २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखिएको थियो। काभे्रपलाञ्चोकमा भने सोही सालको साउनमा पनौतीको एक भैँसीमा देखिएको थियो।

उक्त रोग लागेपछि गाई, भैँसीले कचेरा निकाल्ने, सिङ्गान बग्ने तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना, ठूला गिर्खा तथा फोका देखिन्छ। रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्छ भने पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशु बिरामी हुने गर्छन्। 

प्रकाशित: ३० आश्विन २०८० ०२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App