२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

भक्तपुरको महायज्ञमा नेताहरुको ओइरो

भक्तपुरको ताथलीमा भएको १७ दिन लामो महायज्ञमा राजनीतिक दलका नेताहरुको ओइरो लागेको थियाे।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीदेखि जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, चर्चित गायक प्रकाश सपुतसम्मकाे बाक्लो उपस्थिति हुँदै आएको महायज्ञ शनिबार सम्पन्न भएको छ।

जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं-९ ताथलीमा असोज ११ गते बिहीबारदेखि सुरु भएको १७ दिने श्रीमद्भागवत पितृ मुक्ति ज्ञान महायज्ञ शनिबार सम्पन्न भएको हाे।

आयोजक ‘हजुरहरु र हामी यज्ञ सम्पादन मूल आयोजक समिति छोरीको घर ज्येष्ठ नागरिक आश्रम’ ले जनाए अनुसार महायज्ञमा पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि विभिन्न मन्त्रीहरू उपस्थित भएका थिए।

महायज्ञमा बहालवाला महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य, बागमती प्रदेशका श्रम, यातायात तथा रोजगार मन्त्री लक्ष्मण लम्साल, बागमती प्रदेशका सांसद सकुन्तला श्रेष्ठ, सांसद रमा आले, सांसद धनेश्वरी प्रजापति लगायतका काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाका नगर प्रमुखहरु उपस्थित भएका थिए।

साथै भक्तपुर क्षेत्र नं २ का सांसद एवं नेपाली कांग्रेस भक्तपुरका अध्यक्ष दुर्लभ थापा लगायत जिल्लाका नगरपालिकाका प्रमुख, उप-प्रमुख, वडा अध्यक्षहरु पनि सहभागी भएका थिए।

महायज्ञ सम्पादन समितिका सहसंयोजक श्रीकण्ठ खडकाका अनुसार महायज्ञमा सहभागिताका लागि प्रधानमन्त्री एवं नेकपा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकटेलसहित बागमती प्रदेशका सम्पूर्ण माननीयहरुलाई निमन्त्रण पुगेको थियो।

‘त्यसअनुसार उहाँहरु आउने कार्यक्रम थियो तर आउन सक्नुभएन’, खड्काले भने, ‘यो कार्यक्रममा उच्च पदस्थ राजनीतिक व्यक्तित्वहरु मात्रै होइन, सर्वसाधारणको पनि उतिकै घुइँचो लागेको थियो।’

भक्तपुरमा भइरहेको यो भव्य कार्यक्रममा भक्तपुरमा प्रभुत्व जमाउँदै आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट भने प्रतिनिधित्व थिएन।

यो विशाल महायज्ञमा सहभागी हुने मात्रै होइन, नगरपालिका तथा आफ्नो व्यक्तिगततर्फबाट महायज्ञका लागि आर्थिक सहयोग गर्ने घोषणाको पनि प्रतिस्पर्धा नै चलेको थियो।

महायज्ञमा उपस्थित भक्तपुरको सूर्य विनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाकोतर्फबाट ५० लाखदेखि एक करोडसम्म सहयोग गर्ने सार्वजनिक घोषणा गरे। त्यही क्रममा उनले व्यक्तिगततर्फबाट एक लाख ११ हजार पनि दिने घोषणा गरे।

महायज्ञमा प्रसिद्ध कथावाचिका गरिमा उपाध्याय र अर्का प्रसिद्ध कथावाचिका उमा महेश्वरी रहेका थिए। श्रीमद्भागवत कथा वाचक युवा गुरु बालयोगेश्वर श्री विजयमूर्तिजी महाराजाको नेतृत्वमा कार्यक्रम भएको थियो।

प्रकाशित: २७ आश्विन २०८० १२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App