२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बेपत्ता साथीलाई पनि फर्काइदेउ

‘हामी सपना बुनेर आको, सपना टुटेर आउनुपरेको छ ! आज हाम्रो एउटा चीत्कार भनेको हाम्रो प्रिय साथी विपीन जोशीको खोजीको हो । हामी बाँच्यौं तर हामीले जिन्दगीभरि मरीमरी बाँच्नुपर्ने भयो ।’

युद्धग्रस्त मुलुक इजरायलमा उद्धारका लागि पुगेको नेपाल वायुसेवा निगमको जहाजमा चढिसकेपछि दाङका विपीन सुवेदीले फेसबुकमा लेखेको अभिव्यक्ति हो यो । युद्धको भुंग्रोबाट जोगिएर आफू जीवित स्वदेश फर्किरहँदा उनले बेपत्ता रहेका आफ्ना साथीलाई भुल्न सकेनन् र यसरी सामाजिक सञ्चालनमा उनी विह्वल बनें । फेसबुकमा उनले सरकार, मानवअधिकारवादी, एम्नेस्टीलाई सम्झेका छन् र भगवान्को प्रार्थना पनि गरेका छन् । ‘पक्कै छ सरकार ! पक्कै होला । खोज्नुपर्यो । भगवान्ले हामीलाई बचाउनुभयो । उसलाई पनि बचाउनुहुन्छ । तर केही त गर्नुपर्यो,’ सुवेदीले अगाडि लेखेका छन्, ‘उसलाई देशको छोराजसरी खोज्नुपर्यो । विपीनको सुरक्षित आगमनका लागि नेपाल पर्खिरहेको छ !’

मृत्युको धरापबाट टाढा उड्दै गर्दा सुवेदीले बेपत्ता साथी जोशीलाई मात्र नभई मृत साथीहरूलाई पनि सम्झिएका छन् । हाम्रा सबै साथीको शव पनि छिटो उपलब्ध गराइदिनुहोला ! हाम्रा दिदीभाइ, बुवाआमाका आँखा सुकिसके । आफ्ना मुटुका टुक्राहरूलाई कुर्दाकुर्दै !’ उनले लेखेका छन् ।  

सुवेदीजस्तै इजरायलको भूमिमा ‘लर्न एन्ड अर्न’ (पढाइसँगै कमाइ) कार्यक्रमअन्तर्गत गएका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ झाँसीका जोशी हालसम्म बेपत्ता छन् । उनको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

उनलाई आक्रमणकारी हमास समूहले युद्धबन्दीका रूपमा कब्जामा लिएको हुन सक्ने अनुमान गरिएको छ, जुन कुरा उनकै एक साथी हिमाञ्चल कट्टेलले बताएका छन् । कट्टेल गोली लागेर गम्भीर घाइते भएका छन्, उनी इजरायलको अस्पतालमा उपचाररत छन् । ‘विपीन जोशीलाई लगेको मैले देखेको छु,’ हस्पिटलको शड्ढयाबाट उनले सन्देश दिएका छन्, ‘दुई तीनजना थाई (थाइल्यान्डका नागरिक) सँग उसलाई लगेको मैले देखेको हुँ ।’ यद्यपि कुराको स्वतन्त्र पुष्टि हुन सकेको छैन । हमास समूहको आक्रमणमा परी ‘लर्न एन्ड अर्न’ कार्यक्रममै गएका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरूको शवको पोस्टमार्टमलगायत कानुनी प्रक्रिया पूरा नभएकाले हालसम्म इजरायलले नेपाललाई हस्तान्तरण गरेको छैन ।

२५१ विद्यार्थीसहित २५४ को उद्धार

परराष्ट्र मन्त्रालयको टोली युद्धग्रस्त इजरायलबाट २५४ नेपाली नागरिकलाई हवाई उद्धार गरी नेपाल फर्किएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज लिएर गएका परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली इजरायल पुगेर आफ्ना नागरिक उद्धार गरी फर्किएको हो । उद्धार टोली बिहीबार बिहान ३ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । उद्धार टोलीको नेतृत्व परराष्ट्रमन्त्री साउदले गर्दा उडान दलको नेतृत्व क्याप्टेन श्रवण रिजालले गरे ।

नेपालबाट जहाज दुबई हुँदै इजरायलको राजधानी तेल अबिब पुग्दा नेपाली समयअनुसार दिउँसो १ः५५ बजेको थियो । उद्धारको पर्खाइमा रहेका नेपाली नागरिकहरू घन्टौं अघि नै विमानस्थलमा भेला भएका थिए । उद्धारमा आफ्नो देशको जहाज पुग्दा त्यहाँ रहेका नेपालीहरूले आपसमा खुशी बाँडे । लगत्तै धमाधम जहाजमा बसेर खुसी साट्दै उनीहरूले सामाजिक सञ्जालमा तस्बिरहरू हाल्न भ्याए ।

करिब दुई घण्टाको प्रतीक्षापछि जहाज दिउँसो करिब ३ः५५ बजे २५४ नेपाली नागरिक बोकेर त्यहाँबाट जहाज फर्किएको छ । ‘जम्मा ५०३ जनाले फर्किने चाहना राख्नुभएको थियो । त्यसमध्ये २५४ जनालाई बिहीबार ल्याइएको छ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘त्यसमा २५१ जना विद्यार्थी हुनुहुन्छ, बाँकी दुईजना अन्य हुनुहुन्छ ।’ आउन चाहने बाँकी नेपालीलाई पनि सरकारले तत्कालै पहल गर्ने उनले बताइन् । यद्यपि जहाज पठाउने/नपठाउने भन्ने विषयमा निर्णय प्रस्ट नआएको बताउँदै लम्सालले भनिन्, ‘यस विषयमा मन्त्रीज्यू वा मन्त्रिपरिषद्बाटै निर्णय होला ।’ सरकारले नेपाल फर्कन चाहनेहरूका लागि अनलाइन आवेदन खुलाएको थियो ।

बिहीबार तेल अबिबबाट जहाज उड्ने बेलामा शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ। इजरायलमा २६५ जना नेपाली विद्यार्थी अध्ययनरत थिए । तीमध्ये २५१ को उद्धार हुँदा १० जनाको मृत्यु भएको छ भने तीनजना घाइते अस्पतालमा उपचाररत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । एकजना विपीन जोशी बेपत्ता छन् । यस्तै करिब ४ हजार ५०० नेपाली अन्य विभिन्न पेसा र क्षेत्रमा कार्यरत रहेको मन्त्रालयको तथ्यांक छ । तीमध्ये बढीजसो ‘केयर गिभर’का रूपमा कार्यरत छन् ।

प्रकाशित: २६ आश्विन २०८० ००:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App