४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

कृषि पेसाबाट वार्षिक १२ लाख आम्दानी

तनहुँको भिमाद नगरपालिका-३ शेर्का आपस्वाँराका धनबहादुर थापाको दैनिकी कृषिमा बितिरहेको छ। पचास वर्षीय थापाले मौरी, कुखुरा र बाख्रापालनबाट वार्षिक १२ लाख रूपैयाँ आम्दानी गरिरहेका छन्।

विसं २०७५ मा ‘सप्तरङ्गी कृषि तथा पशु फार्म’ दर्तापछि भीमाद बजारबाट सात किलोमिटरमाथि सुरुङमार्गको किनारामा उनले उक्त फार्म सञ्चालन गरेसँगै व्यावसायिक रूपमा कृषि पेसा सुरु गरेका हुन्।

“बारीका ढिस्कामा मौरीका घार लहरै बनाएको छु। बारीका वरपर बुट्यान भएकाले मौरीलाई फूलका रस ल्याउन सजिलो हुन्छ”, थापाले भने।

पाँच वर्षदेखि कृषि पेसा गर्दै आएका उनले यसवर्ष १२ लाख रुपैयाँ आम्दानी गरेको बताए।

उनका अनुसार फार्ममा हाल ४० वटा मौरीसहितका घार रहेका छन्। यस वर्ष मौरीको गोला र मह उत्पादनबाट मात्रै चार लाख रुपैयाँ आम्दानी भएको थापाले बताए।

उनका अनुसार एक गोला मौरीसहितको घार दश हजार र महको मानाको एक हजार रुपैयाँमा बिक्री हुने गरेको छ। त्यस्तै एक हजार एक सय कुखुरा बिक्री गरी पाँच लाख र बाख्राबाट तीन लाख रुपैयाँ आम्दानी भएको थापाको भनाइ थियो।

मौरीपालन व्यवसाय गर्नका लागि कृषि ज्ञान केन्द्र तनहुँले दुई लाख रुपैयाँ, भीमाद नगरपालिकाले खानेपानीको पाइप खरिदका लागि ७० हजार रुपैयाँ अनुदान दिएको उनले बताए। उनका अनुसार उक्त आम्दानी फार्मको स्तरोन्नतिमा खर्च भएको छ।

चालीस रोपनी जग्गामा कृषि पेसा थालेका थापाले आठ रोपनी जग्गामा उन्नत जातका घाँस तथा फलफूल खेती गरेका छन्।

उनले भने, “विसं २०४८ देखि सामाजिक क्षेत्रमा लागेको थिए। यसबाट गाउँसमाजमा सहयोग पुगे पनि आफ्नो आर्थिक स्तरका कारण अब आत्मनिर्भर बन्नुपर्छ भन्ने लागेर कृषि पेसा सुरु गरेको हुँ।”

स्थानीय जनज्योति क्याम्पस र माझकोट साना किसान सहकारी संस्थाको अध्यक्ष तथा कोष प्राथमिक विद्यालयका संस्थापक अध्यक्ष भएका थापाको दैनिकी यतिबेला बिहान ४ बजेदेखि राति १० बजेसम्म कृषि फार्ममा बित्ने गरेको छ।

“युवाहरू रोजगारीको खोजीमा दैनिक ठूलो संख्यामा विदेशिएका छन्। उनीहरूलाई रोक्न सरकारले कृषि क्षेत्रमा लगानी गरी काम गर्ने वातावरण बनाउनुपर्छ”, थापाले भने, “दुःख गर्दा स्वदेशमै कमाउन सकिन्छ।”

उनको बगैंचामा आँप, लिची, सुन्तला लगायतका फलफूलका बिरुवा देखाउँदै यस वर्ष लिची र आँप बिक्री गरी तीन लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको बताए। सरकारले कृषि कर्जा सहुलियत दरमा उपलब्ध गराएमा कृषि व्यवसायतर्फ सबैको आर्कषण बढ्ने उनको भनाइ थियो।

प्रकाशित: २४ आश्विन २०८० ०७:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App