४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

छापामार्न गएका राजस्व टोलीमाथि व्यापारीले बर्साए ढुंगा

सिरहाका स्थानीय व्यपारीहरुले राजस्व अनुसन्धान कार्यालयका कर्मचारीमाथि ढुंगामुढा प्रहार गरेका छन्। 

मंगलबार राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोली सिरहाको एक व्यापारीको गोदाममा छापामारी गर्न गएको थियो। सोही क्रममा व्यापारीलाई दुःख दिएको भन्दै सिरहाको मिर्चैयामा स्थानीय व्यापारी आक्रोशित भई उनीहरुमाथि ढुंगामुढा प्रहार गरेका हुन्।

गत असोज ४ गते अनुसन्धान टोलीले मिर्चैया-५ संस्था चौकस्थित मुरारी साहको पसलबाट भ्याट बिलभन्दा बाहेकका सामानहरु फेला पारेको थियो। तत्कालीन समयमा साधन अभावका कारण उक्त सामानहरु बरामद गरी लैजान नसकिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिए। सोही सामान बरामद गर्न अनुसन्धान टोली मंगलबार मिर्चैया आएको हो।

सामान नियन्त्रणमा लिने क्रममा स्थानीय व्यापारीले अनुसन्धान टोलीमाथि हातपातको प्रयास गरेका थिए। आक्रोशित व्यापारीले ढुंगामुढा समेत प्रहार गरे।

केही समय पश्चात् प्रहरीले स्थिति नियन्त्रणमा लिएर प्रहरी सुरक्षा सहित अनुसन्धान टोलीलाई मिर्चैयाबाट पठाएको सिरहा प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए।

राजस्व अनुसन्धान कार्यालयको टोलीले गरिरहेको अनुसन्धानको विरोध गर्दै स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्गको बसिरहा-मिर्चैया खण्डमा मंगलबार दिउँसो करिब एक घण्टा आवागमन अवरुद्ध गरेका थिए।

प्रकाशित: २३ आश्विन २०८० १२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App