१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गरिबकै चुलोमा पुग्दैन अनुदानको चामल

दसैंतिहार लगायतका चाडबाड नजिकिँदै जाँदा कर्णालीका पहाडी जिल्लाका सर्वसाधारणले महँगो चामलको भार खेपिरहेका छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अनुदानको चामल चाडबाडमा जिल्लामा त पुग्छ तर स्थानीय तहमा रहेका बिक्री केन्द्रमा चामल नपुग्दा स्थानीयलाई आउजाउ खर्च गरेर सहुलियतको चामल लिन सदरमुकाम मान्म पुग्नुपर्ने बाध्यता रहेको छ।

जिल्लामा अहिले मोटा चामल छैन। चामल सकिएको तीन महिनाभन्दा बढी भइसक्यो। ५४ रूपैयाँ प्रतिकिलो मूल्यको मोटा चामल नभएपछि स्थानीयले ९२ रूपैयाँको स्टिम मन्सुली चामल किन्नुपर्ने बाध्यता छ। सबैले महँगोको चामल किन्न नसक्ने भएकाले स्थानीयलाई चाडबाडको मुखमा समस्या भइरहेको छ।

कालिकोटलाई चालु आर्थिक वर्षमा ११ हजार क्विन्टल मोटा चामलको कोटा छुट्याइएको छ। तर अहिलेसम्म कत्ति पनि चामल नआएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कमलराज पाण्डेले बताए। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेत गोदाममै मोटा चामलको अभाव छ।

खाद्यले कारागार र भैपरीका लागि न्यूनतम मौज्दात राख्नैपर्ने नियम छ। कर्णालीका कुनै पनि जिल्लामा सर्वसाधारणको बिक्रीका लागि मोटा चामल मौज्दात छैन। यस वर्ष पनि कर्णालीका पालिकामा रहेका बिक्री केन्द्रमा पनि चामल अभाव छ। चामलको अत्यधिक माग भएकाले मोटा चामल अभाव छ। सस्तो र गुणस्तरीय पनि भएकाले सोही चामल मात्र माग हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ।

कर्णालीमा गत वर्ष एक लाख क्विन्टल चामल आएको थियो। कर्णालीमा बर्सेनि यही परिमाणमा चामल खपत हुन्छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, सुर्खेत कार्यालयले ९ शाखा कार्यालय, ७ डिपो र १७ बिक्री केन्द्रमार्फत चामल बिक्री गर्दै आएको छ। कर्णालीका मुगु, हुम्ला, डोल्पा, जाजरकोट, कालिकोट र जुम्लामा अनुदानको चामल जाने गरेको छ।

कालिकोटमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा र चारवटा बिक्री केन्द्र छन्। बिक्री केन्द्रमा चामल सकिएको छ। आवश्यक हुनेले जिल्लाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट चामल लिइरहेको कार्यालय प्रमुख कमलराज पाण्डेले बताए।

अन्य तीन पालिकामा रहेका बिक्री केन्द्र भने रित्तै छन्। तिलागुफा नगरपालिकाको पादमघाट, पलाँताको थिर्पु र खिन धैलागोह बिक्री केन्द्रमा चामल छैन। यी केन्द्र झन्डै एक वर्षदेखि रित्तै छन्। जिल्ला सदरमुकामस्थित खाद्य डिपो र खल्लाघाट बिक्री केन्द्रहरूमा चामल नहुँदा दसैंको मुखमा महँगो मूल्यमा स्थानीय खाद्यान्न किन्न बाध्य छन्।

कम्पनीले दसैं, तिहार र छठ पर्वका लागि असोज २१ देखि कात्तिकसम्म सुपथ मूल्य पसल सञ्चालन गरेको छ। खाद्यान्न बिक्री वितरणमा प्रतिकिलो सात रूपैयाँ छुट गरेको छ। चामल ढुवानी गर्न समयमै सम्झौता हुन नसकेका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालिकोटका बिक्री केन्द्रहरूमा दसैंअघि चामल पुग्ने सम्भावना छैन।

प्रकाशित: २२ आश्विन २०८० ०१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App