नेपाल सरकारले इजरायलमा मृत्यु भएका नेपालीहरूको पहिचानको काम अन्तिम चरणमा रहेको बताएको छ। परराष्ट्र मन्त्रालयले आइतवार मध्य राति प्रेस विज्ञप्ति जारी गर्दै इजरायल आक्रमणमा मृत्यु भएका १० जना नेपालीको पहिचानको काम अन्तिम चरणमा रहेको बताएको हो।
इजरायलमा रहेको नेपाली दूतावासको पछिल्लो जानकारी अनुसार गाजासँगको सीमाना लगायतका क्षेत्रमा भएको आक्रमणमा परी १० जना नेपाली नागरिकहरूले ज्यान गुमाएका, एक जना सम्पर्कबिहीन रहेका र केही घाईते अवस्थामा रहेका पुष्टि भएको छ।
मृतकहरूको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाईतेहरूको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध गरिएको पनि विज्ञप्तिमा भनिएको छ।
मन्त्रालयले इजरायलबाट स्वदेश फर्कन ईच्छुक नेपाली नागरिकहरूको विवरण सङ्कलनका लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भईरहेको जनाएको छ।
हाल तेल अभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाई मार्ग मार्फत् आवत जावत सुचारू भइरहेको हुँदा सक्दो नेपालीहरूको उद्धार गरेर स्वदेश फर्काउने विषयमा तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित: २२ आश्विन २०८० ०१:४९ सोमबार