२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कृत्रिम बौद्धिकता: वरदान कि अभिशाप?

प्रविधि

बाध्यकारी परिस्थिति सिर्जना भएर कृत्रिम बौद्धिकताप्रति मानिसको निर्भरता बढ्दै छ। यसबाट हाम्रो जनजीवन, सामाजिक सरोकार र राष्ट्रिय सुरक्षा प्रणालीका अभिन्न अंगहरू मानवीय विवेकको नियन्त्रणबाट टाढिँदै जाने खतरा बढेको छ। यो अवस्था समग्र मानवजातिको अस्तित्वका लागि विशेष सरोकारको विषय बन्दै छ।

मेसिनद्वारा मानव विस्थापित हुँदै जाँदा कामदारहरू आफ्नो श्रमको अवमूल्यन भएको महसुस गर्छन्।

उनीहरूको काम गर्ने जाँगर, उत्साह र अग्रसरतामा ह्रास आउँछ। यसबाट काम गर्ने र गराउनेबिच अन्तरविरोध उत्पन्न हुन्छ। यसले समाजमा विद्रोह र अशान्ति सिर्जना गर्छ।

मेरो किशोरावस्था शीतयुद्धको चरमोत्कर्षको समयमा बित्यो, जुन बेला सोभियत संघ र संयुक्त राज्य अमेरिका पारमाणविक शस्त्रास्त्रको होडबाजीमा थिए। दोस्रो विश्वयुद्धको अन्त्य गर्न जापानमा अणु बम खसालिएको र त्यसबाट भयानक मानवीय क्षति भएको घटना पनि त्यति पुरानो भइसकेको थिएन। त्यसपछि नयाँ बनेका तापाणविक र नाभिकीय हतियारहरू हिरोसिमामा खसालिएका बमभन्दा हजारौं गुणा बढी विनासकारी थिए।

पृथ्वीका सबै सजीव पदार्थहरूको कैयन् पटक सर्वनास गर्न सक्ने ती हतियारहरूको निर्माण ठुलाठुला वैज्ञानिकहरूको आविष्कार र अध्ययन–अनुसन्धानको आधारमा भएको थियो। स्वाभाविक रूपमा धेरैको मनमा प्रश्न उठ्थ्यो विज्ञानले संसारलाई कता लगिरहेको छ ? मेरै स्कुलमा पनि हामी विद्यार्थीहरूबिच वादविवाद प्रतियोगिताको आयोजना भइरहन्थ्यो र विषय दिइन्थ्यो-‘विज्ञान मानवजातिका लागि वरदान हो या अभिशाप!’

मैले स्मरण गरेको कालपछि झन्डै आधा शताब्दी बितिसकेको छ। यस अवधिमा विश्वले मिखाइल गोर्बाच्योभजस्ता एक मानवतावादी र दुरदर्शी राजनेता जन्मायो, जसको अग्रसरतामा आणविक हतियार उत्पादनको होडबाजी बन्द भयो। उनकै समयमा भएका सन्धि-सम्झौताहरूको परिणाम स्वरूप सोभियत संघले अक्टोबर १९९० र संयुक्त राज्य अमेरिकाले सेप्टेम्बर १९९२ देखि परमाणु हतियारको परीक्षण सदाका लागि बन्द गरे।

सन् १९९६ देखि राष्ट्रसंघ सुरक्षा परिषद्का कुनै पनि स्थायी सदस्यले आणविक परिक्षण गरेका छैनन्। फलस्वरूप नयाँ श्रेणीका हतियार उत्पादन पूरै रोकिएको छ र नाभिकीय युद्धशीर्षहरूको सङ्ख्या गोर्बाच्योभ राष्ट्रपति हुनुअघिको ७० हजारबाट अहिले दश हजारमा झारेर रोकिएको छ।

यस अवधिमा युक्रेन, काजकिस्तान र दक्षिण अफ्रिकाले पहिला आफूसँग भएका नाभिकीय हतियार त्यागे र गैरनाभिकीय राष्ट्रको हैसियत स्विकारे। भारत–पाकिस्तान, इरान–इजरायल र कोरियाली प्रायद्विपमा उत्पन्न भएका नाभिकीय द्वन्द्वका खतरालाई पनि यसअघि नै बनेको नाभिकीय हतियार अप्रसार संरचनाअन्तर्गत नै रहेर नियन्त्रण गरियो। निशस्त्रीकरणको क्षेत्रमा गोर्बाच्योभले हासिल गरेका उपलब्धीस्वरूप तत्पश्चात्का तीस वर्ष विश्वले नाभिकीय त्रासमा रहेर बाँच्नु परेन।

मानव विकासका प्रकृति र चुनौती विभिन्न युगमा फरक फरक हुन्छन्। नाभिकीय शस्त्रास्त्रको होडबाजी रोकिएपछि विज्ञान र प्रविधिको विकासले नयाँ क्षेत्रमा गति हासिल गर्‍यो र त्यो दूरसञ्चार एवम् इन्टरनेटको क्षेत्र थियो। मोबाइल फोन आउनुअघि विश्वव्यापी रूपमा प्रत्येक एक हजार जना मानिसको भागमा जम्मा ९८ लाइन टेलिफोन उपलब्ध थियो।

सन् १९९० मा यो सङ्ख्या समग्र दक्षिण एसियामा छ लाइन र नेपालमा तीन लाइन मात्र थियो। तर अहिले विश्वमा दश वर्षभन्दा माथि उमेर भएका ८५ प्रतिशत मानिससँग मोबाइल फोन भएको र मोबाइल र स्थिर गरेर टेलिफोनमा ९० प्रतिशत जनताको पहुँच भएको तथ्याङ्क छ।

२०७८ सालको जनगणनाको नतिजाअनुसार नेपालमै पनि मोबाइल फोन भएकाहरूको सङ्ख्या ७३.२ प्रतिशत पुगेको छ। मोबाइल फोन प्रयोगकर्ताहरूको सङ्ख्याको साथसाथै यसको गुणात्मक विकास पनि तीव्र गतिमा भइरहेको छ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संस्थाको तथ्याङ्कअनुसार अहिले चौथो पुस्ता (चार–जी) को सञ्जालले विश्वको ८० प्रतिशतभन्दा बढी क्षेत्रफल ढाकिसकेको छ र पाँचौं पुस्ताको सञ्जालको तीव्र विस्तार भइरहेको छ। मोबाइल फोनको रफ्तारमा इन्टरनेट प्रयोगको वृद्धि भइरहेको छ।

पछिल्लो तथ्याङ्कअनुसार यस वर्ष विश्वभरमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या पाँच अर्ब (सम्पूर्ण जनसङ्ख्याको ६७ प्रतिशत) नाघिसकेको छ। फोनमा नै इन्टरनेट सुविधा जोडिएदेखि यसको प्रयोगकर्ताको सङ्ख्या झन् तीव्र गतिमा बढेको छ र साधारण प्रयोगकर्तालाई यी दुई प्रविधिको भिन्नता खुट्याउन पनि गाह्रो हुन थालेको छ।

यस शताब्दीको सुरुदेखि नै इन्टरनेटको विस्तार मानवीय प्रयोग अर्थात् मानवीय सञ्जालबाट भौतिक सामानहरूको सञ्जाल (चिजहरूको इन्टरनेट)तर्फ विस्तार हुन थाल्यो।

अहिले हामीले घरायसी प्रयोगका लागि चलाउने क्यामेरा, बालबालिकाका विद्युतीय खेलौना, रेडियो र टेलिभिजनजस्ता सूचना र मनोरञ्जनका साधनदेखि शिक्षा, स्वास्थ्य, सामान्य प्रशासनलगायत आधारभूत सामाजिक सेवाका सञ्जाल एवम् जल, स्थल र हवाई मार्ग नियन्त्रण तथा निगरानीका साधन, नक्सा र परिवहन उपकरणहरू र संवेदनशील राष्ट्रिय सुरक्षा यन्त्रहरू सबै इन्टरनेटसँग जोडिएका छन्।

इन्टरनेटमार्फत नै यी उपकरणहरूबिच नित्य सम्पर्क र संवाद चलिरहेको हुन्छ, जसका क्रममा ठुलो परिमाणमा आँकडाहरूको उत्पादन हुन्छ। यसलाई समग्रमा बृहत् तथ्याङ्क भनिन्छ।

सामान्य अवस्थामा उपलब्ध तथ्याङ्कलाई कुनै निर्णयमा रूपान्तरण गर्न मानवीय विवेक र बौद्धिकताको आवश्यकता परेजस्तै मेसिन उत्पादित तथ्याङ्कको व्यवस्थापन, प्रशोधन र विश्लेषण गर्न पनि त्यस्तै ज्ञान आवश्यक हुन्छ र त्यसको खाँचो मेसिनले नै सिर्जना गरेको ‘कृत्रिम बौद्धिकता’ ले पूरा गर्छ। त्यति मात्र होइन, बृहत् तथ्याङ्कको परिमाण, गति र विविधता यति ठुलो छ कि परम्परागत ढाँचामा जस्तै सबै तथ्याङ्क एकएक जाँचेर व्यक्ति विशेषले त्यसको वैधता प्रमाणित गर्न सम्भव नै हुँदैन।

फलस्वरूप एक बाध्यकारी परिस्थितिको सिर्जना भएर कृत्रिम बौद्धिकताप्रति मानिसको निर्भरता बढ्दै जान्छ। यसबाट हाम्रो जनजीवन, सामाजिक सरोकार र राष्ट्रिय सुरक्षा प्रणालीका अभिन्न अंगहरू मानवीय विवेकको नियन्त्रणबाट टाढिँदै जाने खतरा बढेको छ र यो अवस्था समग्र मानवजातिको अस्तित्वका लागि विशेष सरोकारको विषय बन्दै छ।  

हालै सम्पन्न राष्ट्रसंघ महासभाको ७८औं अधिवेशनलाई दिएको वक्तव्यमा महासचिव आन्तोनियो गुतेरेसले वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका चुनौतीहरूको सूचीमा युक्रेनमाथि रुसको अतिक्रमण र नाभिकीय हतियार प्रयोगको धम्की, निरङ्कुशतन्त्र र असमानताबाट लोकतान्त्रिक प्रणालीमाथि बढ्दै गएको खतरा, जलवायु परिवर्तन र प्राकृतिक प्रकोप, लैङ्गिक भेदभावजस्ता विश्वव्यापी सरोकारका विषयसँगै कृत्रिम बौद्धिकतालाई पनि समावेश गरे। उनको वक्तव्यमा उठाइएको खास चिन्ताको विषय स्वचालित घातक हतियारहरू थिए, जसको सञ्चालन मानवीय नियन्त्रणबिना नै हुन सक्छ।

हाल चलिरहेको युक्रेन युद्धमा पनि सामाजिक सञ्जाल, युद्धभूमिबाट सिपाहीहरूले पठाएका सन्देश, इन्टरनेटजडित निगरानी क्यामेराहरू, भू-उपग्रहहरूबाट प्राप्त तस्बिर र आँकडाहरूको द्रूत प्रशोधन गरेर प्रहारका निसानाहरू निर्धारण गर्ने, क्षतिको विवरण सङ्कलन गर्ने र हतियार तथा युद्धकलाको प्रभावकारिताको मूल्याङ्कन गर्ने जस्ता क्रियाकलापहरू कृत्रिम बौद्धिकताको प्रयोगबाट भइरहेको पाइन्छ।

रुससँग युक्रेनको भन्दा सक्रिय सैनिक जवान सङ्ख्या चार गुना, लडाकु विमान दश गुना र ट्यांक सात गुना बढी छन्। तर यो विशाल विषमताका बाबजुद पनि २० महिनादेखि चलिरहेको यस युद्धमा कडा मुकाबिला गरेर किभ कब्जा गर्ने पुटिनको दुराशयलाई युक्रेनी सेनाले विफल तुल्याइदिएका छन्। यसो हुनुको एक प्रमुख कारण युक्रेनले विकसित मुलुकहरूबाट प्राप्त गरिरहेको अचुक प्रविधि, भू-उपग्रह आधारित नक्सा, द्रूत सूचना प्रणाली र उच्च स्तरको कृत्रिम बौद्धिकता नै हो।

पश्चिमी मुलुकहरूले उनीहरूबाट प्राप्त हतियारद्वारा रुसी भूभागमा प्रहार गर्न बन्देज लगाएकाले युक्रेनीहरूले छोटो समयमा आफैले बनाएका मानवरहित स्वचालित ड्रोनहरूबाट मास्को, सेन्टपिटर्सबर्ग र स्मोलेन्स्क सहरहरूमा जवाफी प्रहार गर्न सफल भएका छन्।

वर्तमान युद्धमा रुसले युक्रेनको भौगोलिक अखण्डताको उल्लङ्घन गरेकाले अन्तर्राष्ट्रिय जनसमुदायको सहानुभूति र समर्थन युक्रेनको पक्षमा हुनु स्वाभाविक छ। तर युद्धकला र यसको कार्यान्वयनमा मानवीय नियन्त्रणभन्दा बाहिरका घातक उपकरण र कृत्रिम बौद्धिकताको व्यापक प्रयोग हुनुले अन्तर्राष्ट्रिय शान्ति सुरक्षाको वर्तमान मान्यता र प्रचलित महासन्धिहरूको संरचनालाई गम्भीर चुनौती दिएको छ।

यिनै सवाललाई सम्बोधन गर्न महासचिव गुतेरेसको वक्तव्यमार्फत राष्ट्रसंघले कृत्रिम बौद्धिकताबारे एक उच्चस्तरीय परामर्श निकायको गठन गर्ने घोषणा गरेको छ।

युद्धमा प्रयोग हुन सक्ने सम्भाव्यताले मात्र कृत्रिम बौद्धिकता र यसको प्रयोगप्रति चिन्ता उत्पन्न भएको होइन। हाल गणितज्ञ, स्नायु विशेषज्ञ र कम्प्युटर विशेषज्ञहरू मिलेर मानव मस्तिष्कको जैविक संरचनाकै हुबहु नक्कल गरेर एक न्युरल सञ्जालको निर्माण गरिरहेका छन्, जुन उपलब्ध आँकडाहरूका आधारमा पहिला नजानेका कुरा आफै सिक्न, अत्यन्त विविध र प्रत्यक्ष सम्बन्ध नदेखिएका जटिल सूचनाहरूको विश्लेषण गर्न र त्यसका आधारमा यथोचित निर्णय लिन समर्थ हुन्छ।

उदाहरणका लागि यस्तो सञ्जालले विभिन्न भाषाका प्रख्यात कविहरूद्वारा लेखिएका हजारौं रचनाका पाठहरू निमेष भरमै पढेर एक नयाँ सुन्दर कविताको रचना गर्न र त्यस कविता कस्तो लाग्यो भनेर अर्को सञ्जालसँग छलफल गर्न र कविता सच्याएर पुनः प्रस्तुत गर्न सक्छ। यस्ता कम्प्युटर प्रणाली लेखकहरूका लागि उपयोगी पनि हुन सक्छन् तर धेरै अवस्थामा यसले असत्य र अवाञ्छित गतिविधि प्रदर्शन गर्छ। कुन मौलिक र कुन कम्प्युटरनिर्मित रचना हो छुट्याउन गाह्रो बनाएर समाजलाई दिग्भ्रमित पार्छ। पारदर्शिताको अभाव कृत्रिम बौद्धिकताको अर्को ठुलो समस्या हो।

सामान्यतः मानिसहरूमा कम्प्युटरले दिएको नतिजा सही नै हुन्छ भन्ने विश्वास र धारणा बनिसकेको छ र दैनिक जीवनमा सामान खरिदको बिल तिर्दा, स्कुल या कलेजको मार्कसिट पाउँदा, अस्पताल या क्लिनिकबाट कुनै परीक्षणको रिपोर्ट लिँदा त्यो नतिजा कसरी आयो? ठिक छ या छैन? भनेर प्रश्न गरिँदैन।

मेसिनले प्रयोग गरेको विधि गलत रहेछ भने कहाँ गलत भयो भनेर प्रयोगकर्ताले सजिलै छुट्याउन सक्दैन। त्यसका लागि मेसिनको भाषा (एल्गोरिथ्म) पढ्न र सच्याउन सक्ने विशेषज्ञ नै चाहिन्छ। तर त्यो पत्ता लगाउँदासम्म हजारौं उपभोक्ताहरू प्रभावित भइसकेका हुन्छन्।

कृत्रिम बौद्धिकतालाई चाहिने आँकडा र सूचनाहरू इन्टरनेट जडित उपकरणहरूले प्रयोगकर्तासँगको सम्पर्कको माध्यमबाट सङ्कलन गरेका विवरणहरूबाट प्राप्त हुन्छन्, जुन मुख्यतः व्यक्तिगत विवरण हुन्। त्यस्ता विवरण आफूबाट सङ्कलन भइरहेको र त्यसको प्रयोग अरू कसैको व्यावसायिक प्रयोजनका लागि भइरहेकोबारे साधारण प्रयोगकर्ता पूरै बेखबर हुन्छन्। त्यसबाहेक मोबाइल फोनमा रेकर्ड भएका आवाज, फोटो तथा भिडियो देखाएर कसैको चरित्र हत्या गर्ने, धम्की दिने तथा अन्य आपराधिक घटना घटाइएका समाचारहरू छ्यासछ्यास्ती सुन्न पाइन्छ र यसबाट नागरिकहरूले असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउँछ।

कृत्रिम बौद्धिकताका कारणले कतिपय पेसा लोप हुने अवस्थामा छन्, जसको मुख्य मार निम्न वैतनिक र कम दक्षताका कामदारमाथि परेको छ। अहिले निकै लोकप्रिय हुँदै गएको संवाद रूपान्तरण गर्ने च्याट–जिपिटीले ट्युसन, सम्पादन र ग्राहक सेवासँग सम्बद्ध रोजगारीलाई ठुलो असर पुर्‍याइरहेको छ। मेसिनद्वारा मानव विस्थापित हुँदै जाँदा कामदारहरू आफ्नो श्रमको अवमूल्यन भएको महसुस गर्छन्। उनीहरूको काम गर्ने जाँगर, उत्साह र अग्रसरतामा ह्रास आउँछ। रोजगारदाताहरू भने सधैं श्रम विस्थापनका अवसरहरू खोजी रहन्छन्। यसबाट काम गर्ने र गराउने बिच अन्तरविरोध उत्पन्न हुन्छ। यसले समाजमा विद्रोह र अशान्ति सिर्जना गर्छ।

विज्ञान र प्रविधिका अन्य क्षेत्रजस्तै कृत्रिम बौद्धिकता पनि मानिसको निरन्तर अध्ययन, खोज र अनुसन्धानबाट हासिल भएको उपलब्धि हो र नकारात्मक पक्षलाई मात्र उचालेर यसको उपयोगिताको अवमूल्यन गर्न मिल्दैन। यसबाट हुने सबैभन्दा ठुलो फायदा मानवीय त्रुटिबाट हुने नोक्सान कम गर्नु हो।

पुरानो पुस्ताले टाइपराइटरबाट लेख्दा हुने गल्ती सच्याउन चाहिने समय र साधनसँग आजकलको टाइप हुने बित्तिकै शब्द सच्चिने प्रविधिबिचको विशाल अन्तर आँकलन गर्न सक्छ। एल्गोरिथ्ममा कुनै समस्या नभएको खण्डमा कृत्रिम बौद्धिकताको प्रयोगबाट प्राप्त हुने नतिजा त्रुटिशून्य हुन्छ। जनताको जीवनस्तर बढ्दै जाँदा उनीहरूको वस्तु तथा सेवाको उपभोग गर्ने क्षमता पनि बढ्दै जान्छ।

हाम्रै देशमा पनि विगत दश–पन्ध्र वर्ष मात्रको अन्तराललाई हेर्ने हो भने पढ्न जाने विद्यार्थीहरू र पढाउने शिक्षकहरूको, अस्पताल जाने बिरामी र तिनको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूको, विदेश भ्रमण जानेहरू र त्यस क्षेत्रका सेवा प्रदायकहरूको, समग्रमा उत्पादक र उपभोक्ताहरूको सङ्ख्या उल्लेखनीय मात्रामा बढिरहेको देखिन्छ।

यी सबै गतिविधिहरूको व्यवस्थापन गर्न र सार्वजनिक सेवा निर्वाध कायम गर्न उपभोक्ताहरूको लगत तन्दुरुस्त हुनु अनिवार्य हुन्छ। कृत्रिम बौद्धिकताले नै आजको नयाँ औद्योगिक क्रान्ति र प्रविधिको युगमा प्रतिक्षण उत्पादन हुने अजङ परिमाणको सूचनाको द्रूत र भरपर्दो प्रशोधन गरेर हाम्रो जीवनशैलीलाई सम्भव र अत्यावश्यक सेवा सुलभ बनाएको छ। अबको छलफल यो हुने या नहुनेबारे होइन, यसको प्रयोग कसरी मानव कल्याणका लागि निर्देशित हुने भन्नेबारे केन्द्रित हुनुपर्छ र राष्ट्रसंघले सम्बोधन गर्न चाहेको पनि यही हो।

स्कुलको वादविवादमा कोही अपराधीले एक निर्दोष व्यक्तिमाथि प्रहार गरेको घटना देखाएर खुकुरी बनाउनेलाई दोष दिन मिल्दैन भनेर विज्ञानको पक्षमा तर्क दिइन्थ्यो।

 आणविक अन्वेषणकै क्षेत्रमा पनि सोभियत संघले सन् १९५४ मा नै युरेनियम प्रशोधन गर्ने पहिलो विद्युत् स्टेसन बनाएर आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगको शुभारम्भ गरेको थियो र विज्ञान अभिशाप होइन, वरदान नै हो भनेर सिद्ध गरेको थियो। त्यसलगत्तै सन् १९५७ मा राष्ट्रसंघले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको स्थापना गर्‍यो र यस एजेन्सीले हाल नेपाललगायत विश्वका कैयन् राष्ट्रहरूसँग आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगका लागि प्राविधिक सहयोग विस्तार गर्दै आएको छ।

कार्बन उत्सर्जनबाट पृथ्वी आहत भएको वर्तमान अवस्थामा आणविक ऊर्जाको ठुलो महत्व छ किनभने यसमा कार्बन उत्सर्जन शून्य हुन्छ र यसलाई सबैभन्दा सफा ऊर्जा मानिन्छ।

वर्तमान पुटिन सत्ताले आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोग र निशस्त्रीकरणको क्षेत्रमा सोभियत संघले दिएको ऐतिहासिक योगदानलाई निषेध गरी विश्वलाई पारमाणविक भट्टीमा धकेल्ने उन्माद प्रदर्शन गरे पनि विगतको अनुभवले के स्पष्ट मार्गदर्शन गरेको छ भने यदि राष्ट्रहरू मिलेर विवेकले काम गरे भने आणविक शक्तिलाई जस्तै कृत्रिम बौद्धिकतालाई पनि मानव जातिका लागि वरदान नै सिद्ध गर्न सकिन्छ।

यसमा असफल भयौं भने हाम्रो जमानाका चर्चित भौतिकशास्त्री स्टेफेन हकिङले सावधान गराएजस्तै कृत्रिम बौद्धिकताको पूर्ण विकास हुन दिए यसले मानव जातिकै अन्त्य गर्नेछ, किनभने सुस्त जैविक विकासले बाँधिएको मानव मेसिनसँग प्रतिस्पर्धा गर्न सक्नेछैन र सदाका लागि विस्थापित हुनेछ। 

प्रकाशित: २० आश्विन २०८० ०३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App