१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

मलद्वारभित्र लुकाएर लागू औषध ल्याउँदै गरेका ५ युवा पक्राउ

मलद्वारभित्र लागू औषध लुकाएर ल्याएका  ५ युवा उदयपुरबाट पक्राउ परेका छन्।

आईतबार विहान इलाका प्रहरी कार्यालय बेलटारको टोलीले सप्तरीको फत्तेपुर बजारदेखि आउँदै गरेका स्थानीय युवाहरुलाई मलद्वारभित्र लुकाएर लागू औषध ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ६ बेलटारका ३० वर्षीय बिनोद राई, ३० वर्षकै विशाल राई, ३२ वर्षीय बिदुर राई, ३२ वर्षकै मनोज राई र ३२ वर्पकै प्रवेश चौहान रहेका छन्।

प्रहरीका अनुसार मलद्वारभित्र लुकाएर ल्याएको लागू औषध पत्ता लगाउन भिडियो एक्सरे गर्नुपरेको थियो। फत्तेपुरबाट बेलटारतर्फ आउँदै गरेका उनीहरुमाथि शंका लागेर खानतलासी लिँदा शरीरमा केही नभेटिएपछि बेलटारस्थित चौदण्डीगढी नगर अस्पताल लगेर भिडियो एक्सरे गरिएको थियो। एक्सरेमा मलद्वारभित्र लागू औषध खाँदेर राखेको देखिएपछि पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको छ।

उनीहरुको मलद्वारबाट फेनार्गन १४ एम्पुल, लुपिजेसिक ६ र डाईजेपाम ६ र लेवल नभएको ९ एम्पुल लागू औषध बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताए। उनका अनुसार इप्रका बेलटारकै हिरासतमा राखिएका पक्राउ सबैलाई जिल्ला अदालतबाट आईतबारै १० दिनको म्याद लिएर थप अनुसन्धान सुरु भएको छ। 

प्रकाशित: १६ आश्विन २०८० ०७:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App